आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै कैलालीको कोइलहुवा ताल


अविनाश चौधरी

धनगढी, मंसिर ५ गते । नेपाली सेनाको व्यवस्थापनमा घुम्न योग्य भएपछि कैलालीको कोइलहुवा ताल आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।

कैलारी गाउँपालिका वडा नम्बर ९ मा रहेको सो तालमा दिनहुँ संयौंको सङ्ख्यामा आन्तरिक पर्यटक ओइरिन थालेका छन् । परिवारसहित सर्वसाधारण, विद्यार्थी, व्यापारी, कर्मचारी लगायत घुम्न र रमाउनकालागि कोइलहुवा ताल पुग्न थालेका छन् ।

सीमित पर्यटन पूर्वाधार निर्माणको तीन महिनाभित्रै अत्यधिक मानिस घुम्न आउन थालेपछि ताल नजिकको कोइलही गाउँवासी दङ्ग परेका छन् । उनीहरु पर्यटकलक्षित व्यापार व्यवसायतिर आकर्षित भएका छन् ।  यसअघिसम्म ओझेलमा रहेको ताल छोटो अवधिमै फेवाताल र नैनीतालको आभास दिनेगरी घुम्नयोग्य भएपछि त्यहाँ पुग्ने जोकोही दङ्ग पर्न थालेका छन् ।

कोइलहुवा ताल घुम्दा फेवा पुगेजस्तै महसुस भएको घुम्न आउनु भएका चमारीपुरका ज्ञानेन्द्र शर्माले बताए ।   ‘वरिपरि जङ्गल रहेको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ’, शर्माले भने–‘कैलालीमै घुम्नकालागि यस्तो ठाउँ बन्छ भनेर सोचेकै थिएन ।’डुङ्गामा बसेर सयर गर्न र पिकनिकका लागि कैलालीसहित छिमेकी जिल्लाका आन्तरिक पर्यटक आउने गरेको ताल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

दैनिक चार पाँचसय आन्तरिक पर्यटकले डुङ्गा चढेर रमाउने गरेका डुङ्गा रेखदेख गर्ने कर्मचारी शिवकुमार चौधरीले बताए । ‘यो तालमा यसरी मान्छे घुम्न आउलान भनेर कल्पना पनि गरेका थिएनौं’, उनले भने–‘पर्यटन पूर्वाधार बनेपछि दिनहुँ घुम्नेहरुको भीड लाग्ने गरेको   छ ।’ समितिले डुङ्गामा बसेर सयरकालागि प्रतिव्यक्ति २५ रुपिया टिकट शुल्क निर्धारण गरेको छ । २५ रुपिया तिरेर पर्यटकहरुले आधा घण्टासम्म तालमा रमाउने गरेका छन् ।

पर्यटकहरुलाई ‘गाइड’ गर्न र शुल्क उठाउनका लागि पाँचजना स्थानीय युवाले जागिर पाएका छन् । एकैसाथ संयौंको सङ्ख्यामा पर्यटकहरु आइपुग्दा व्यवस्थापन गर्न हम्मे पर्ने गरेको अर्का कर्मचारी मोली राना थारुले बताए । आन्तरिक पर्यटकको लागि राम्रो गन्तव्य बनेको कोइलहुवा ताल पर्यटन गन्तव्य बनेपछि असाध्यै खुशी लागेको उनको भनाइ छ ।

‘दिनहुँ नयाँ–नयाँ मान्छेको चहल पहलले यहाँ रौनक बढेको छ’, राना थारुले भने । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्तर्गतको ताल तलैया विकास कार्यक्रम अन्तर्गत नेपाली सेनाले तालको व्यवस्थापन गरेको हो । ९७ लाख ७४ हजार रुपिया बजेट खर्चेर पर्यटन पूर्वाधार तथा बाटोघाटो निर्माण गरिएको छ । सोही कार्यक्रम अन्तर्गत तालमा चारवटा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

पिकनिक खान आउनेबाट समितिले प्रतिव्यक्ति १० रुपिया शुल्क लिने गरेको छ । व्यावसायिकरुपमा माछापालन समेत भइरहेको कोइलहुवा ताल स्थानीयस्तरमा आयस्रोतको दरिलो माध्यम बनेको छ ।

सेनाको प्रयासले दशकौंदेखि ओझेलमा रहेको कोइलहुवा ताल अहिले प्रशिद्ध पर्यटन गन्तव्यको रुप लिएको शिवकुमार चौधरीले बताए । गाउँ–गाउँबाट सो तालक्षेत्रमा पिकनिक खान आउनेहरुको पनि दिनहुँ भीड लाग्ने गरेको छ । पिकनिक खान आउनेबाट समितिले प्रतिव्यक्ति १० रुपिया शुल्क लिने गरेको छ । व्यावसायिकरुपमा माछापालन समेत भइरहेको कोइलहुवा ताल स्थानीयस्तरमा आयस्रोतको दरिलो माध्यम बनेको छ ।

तालबाट भएको आम्दानी स्थानीयस्तरमा विकास निर्माण र कर्मचारीको तलबमा खर्च गर्ने गरेको ताल व्यवस्थापन समितिका अध्यक्ष सिहीलाल चौधरीले बताए । उनले पर्यटकबाटै सङ्कलन भएको रुपियाले आगामी दिनमा थप पर्यटन पूर्वाधार निर्माण गर्ने योजना बनाएको तर्क गरे । ‘डुङ्गा र खानेपानी धारा पर्याप्त छैन’, चौधरीले भने–‘आगामी दिनमा त्यो थप्ने योजना बनाएका छौं ।’

७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलहुवा ताल सिचाइँकालागि पनि प्रयोग हुँदै आएको छ । उक्त तालको पानीले पाँच गाउँका किसानले खेतीपाती सिचाइँ गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया