मोटाईले हेवी आरजु हुनुहोला, भोटले हेवीवेट मै हुँः नारद रानाथारु


धनगढी, मंसिर १४ गते । वाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका एमालेका नारदमुनी रानाथारुले आफू भारी मतले जित्ने दावी गर्नुभएको छ । आफ्नो प्रमुख प्रतिस्पर्धी आरजु राणा मोटाइमा हेवी भएपनि आफू भोटले हेवीवेट भएको दावी गर्नुभयो ।

तपाईले चुनाव जित्ने आधार के छ ?

म यहीँ जन्मे हुर्केको मानिस हुँ । सबैसँग घुलमिल छु र मिलनसार पनि मान्छन्, स्थानीय बासिन्दाले । जनताले राणालाई टुरिस्ट उम्मेदवार भनेका छन् । आउँछन्, चुनाव जित्छन्, जान्छन् भन्ने मनोविज्ञान पाएको छु । मोटाइले आरजु हेवी हुनुहोला तर भोटको हिसावले हेवीवैट मै हुँ यहाँ ।

यहाँ सांगठनिकरुपले एमालेको अवस्था बलियो छ । धेरै विभाजन भएकाले माओवादीको अवस्था केही कमजोर भएपनि दुवैको मत जोड्दा हामी धेरै अगाडि छौं । स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले पाएको मत जोड्दा वाम गठबन्धन करिब ६ हजार मतले अगाडि छौं ।

स्थानीय तह र संसदीय निर्वाचनको मतको ट्रेन्ड फरक हुन्छ । यस पटक त्यो अझ बढेर आउँछ । अत्यधिक मतले आरजु राणालाई पछाडि पार्छु । केही हजार मतको अन्तरले उहाँलाई हराउँछु । गठबन्धनको साझा उम्मेदवार पाउँदा मतदातामा उत्साह जागेको पाएको छु ।

तपाईलाई माओवादीको सबै भोट आउँछ ?

एमालेको उम्मेदवार भएका कारणले माओवादीमा असन्तुष्टि देखिएको छैन । ६० र
४० को गठबन्धन गर्दा शुरुवाती दिनमा केही असन्तुष्टि नदेखिएको होइन, देशव्यापी रुपमा । तर, चुनाव नजिकिँदै गर्दा त्यस्तो असन्तुष्टि बाँकी नरहेको पाएका छौं ।

चुनावी गठबन्धनमात्रै नभई पार्टी एकतासम्मको अभियानमा रहेकाले ती असन्तुष्टि बाँकी छैनन् अब । राष्ट्रिय हितको मुद्दामा सांसद, मन्त्री बन्ने कुरा गौण हो भन्ने मनोविज्ञान पलाएको छ । संयुक्त रुपमा प्रचार प्रसारमा सक्रिय छौं अहिले ।

यहाँको नागरिकको मतलाई कसरी आकर्षित गरिरहनुभएको छ ?

प्रदेश ‘क’ मा एमालेबाट नेपालु चौधरी र ‘ख’मा माओवादीबाट रमेश धामी उम्मेदवार छन् । समग्र ७ नम्बर प्रदेशमा ६० र ४० को भागबण्डा मिलाइएको छ ।

सेन्टिमेन्ट मुख्य कुरा होइन । पार्टीको गठबन्धन प्रमुख कुरा हो । र, हामी साझा उम्मेदवार हौं । हामी वामपन्थीहरु सेन्टिमेन्टको राजनीति गर्दैनौं । वर्गीय सोच र चिन्तनबाट अगाडि बढेका छौं ।

तपाईंको आफ्नै थारु समुदायको मतचाहिँ कति पाउनुहुन्छ ?

राना थारु समुदायको अधिकांश मत पाउँछु । स्थानीय बासिन्दा भएकाले यस क्षेत्रका उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, युवा, बिद्यार्थी, मुक्त कमैया, दलित, जनजाति सबैले मलाई भोट दिन्छन् । ती सबै क्लस्टरको राम्रो मतबाट विजयी हुने दृढ विश्वास छ ।

कमैया मुक्ति त कांग्रेसले गरेको हो नि ? त्यस समुदायको मत कसरी पाउनुहोला?

कमैयाहरुलाई कांग्रेसले मुक्त त गरिदियो । तर, वास, खाना, सन्तानको शिक्षादीक्षाका लागि विद्यालय छैन । मुक्ति गर्नकालागि व्यवस्थित तरिका अपनाउनु भएन ।

बजारमा बसेका मुक्त कमैयासँग परिचयपत्र नै छैन । परिचयपत्र नहुँदा जग्गा पाएका छैनन् । र, घर बनाउन पाएका छैनन् । मुक्त कमैयाका नाममा आएको पैसामा ठूलो राजनीति भइरहेको छ । भूमिसुधारमा मुक्त कमैयाका नाममा प्रतिपरिवार एक लाख रुपैयाँ आएको छ । तर, मुक्त कमैयाका हातमा पैसा परेको छैन । हामी पैसा दिलाउँछौं भनेर पछाडि लगाउने प्रयास भइरहेको छ ।

एमालेले यस विषयमा काम गर्न खोजेको हो । तर, सरकारलाई लामो समय चल्नै दिइएन । संविधान निर्माण प्रमुख कार्यभार थियो । सरकार पनि बहुमतको थिएन । बहुमतको सरकार पाँचवर्ष ढुक्कसँग सञ्चालन गर्न पायौं भने यी सबै समस्या हल गर्नेछौं ।

तपाईका चुनावी एजेन्डाहरु के हुन् ?

मुक्त कमैयाको व्यवस्थापन गर्छु । सुकुम्वासीहरुले घर बनाएका छन्, बिजुलीको मिटर पाएका छैनन् । स्वास्थ्योपचार पाएका छैनन् । ती सबै दिलाउने प्रयास गर्नेछु ।

दलित, जनजाति, किसान र मजुदरका लागि राम्रो नीति निर्माण गर्छु । किसानले धान उत्पादन गर्छ, मूल्य व्यापारीले निर्धारण गर्छ । उद्योगपतिले भने आफूले उत्पादन गरेको बिस्कुट र चाउचाउको मूल्य आफैं लेखेर दिन्छ । नीति निर्माणमा भूमिका निर्वाह गर्छु ।

राना थारुहरु सूचीकृत भएका छैनन् । फाइल स्थानीय विकास मन्त्रालयले अड्काएर राखेको छ । शेरबहादुर देउवाले ०७० सालमा सूचीकृत गर्ने आश्वासन बाँडेर मत लिए तर प्रधानमन्त्री बनेपछि बिर्सिए । त्यो अधुरो मुद्दा नारदमुनि रानाले पूरा गराएरै छाड्छ ।

धनगढी विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल बनाउने योजना छ । विदेश जानेले काठमाडौं गएर विमान चढ्ने र फर्किंदा चर्को भाडा तिरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौं ।

सम्भावित पर्यटकीय क्षेत्रहरुको विकास गर्ने । कैलालीका एक सय ९३ वटा तालमध्ये दुईवटा क्षेत्र नम्बर ५ मा पर्छन् । तिनलाई जैविक विविधताको खानीका रुपमा विकास गर्ने योजना छ । ताल वरिपरि मिनी चिडियाघर बनाउँदै वनभोज स्थलकारुपमा विकास गर्ने लक्ष्य छ ।

कैलाली र कञ्चनपुर अन्नका भण्डार हुन् । कृषि उपज केन्द्रहरु, कृषि व्यवस्थापन गर्ने अत्याधुनिक मेसिनहरु, उन्नत बीउविजन, मल ल्याउने । कृषि मैत्री वातावरण मेरा चुनावी एजेन्डा हुन् ।

धनगढी विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल बनाउने योजना छ । विदेश जानेले काठमाडौं गएर विमान चढ्ने र फर्किंदा चर्को भाडा तिरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौं ।

गौरीफन्टा नाकालाई भारतसँगको व्यापार अभिवृद्धिकालागि चल्तीको नाका बनाउने योजना छ । प्रदेश ७ को मुख्य नाका बनाउने योजना   छ । धनगढी र अत्तरिया गाभेर महानगर बनाउने र बीचमा प्रदेशको राजधानी बनाउने योजना छ ।

दिल्लीलगायत भारतका आठवटा महानगरसँग कैलाली नजिक छ । त्यसैले पनि गौरीफन्टा नाकालाई बिजनेस हब बनाउन सकिने प्रचुर सम्भावना छ । यहाँ सुख्खा बन्दरगाह निर्माण गर्ने योजना छ ।

कांग्रेसलाई हराउने कसरी आँकलन गर्नुभएको छ ?

कांग्रेससँग चुनाव जित्ने एजेन्डा छैनन् । एउटै एजेन्डा छ, पैसा । पैसाको बलमा उहाँहरुले चुनाव जित्नुहुन्न । ५० हजारको गड्डा फालेर आएका युवा त्यसका प्रमाण हुन् । होटेल डिभोटी र राणाको घरमा बोलाएर पैसा दिएर भोट किन्ने प्रयास भइरहेको छ ।

खसी ढालेर ठूला भोजहरु आयोजना गरिएको छ । चार करोडको घर किन्ने पैसा कहाँबाट आयो ? गाउँका भलमन्साहरुलाई होटेलमा बोलाएर मासु, भात र दारु खुवाउने गरिरहेका छन्, कांग्रेसका नेता कार्यकर्ताले । पैसा दिएर गाउँको भोट सबै मलाई दिलाऊ भनिरहनु भएको छ, राणाले । त्यसबाट मतदाता सचेत छन् ।

वाम गठबन्धनले पनि त पैसा खर्च गरेको होला नि ?

वाम गठबन्धनले कार्यकर्ता परिचालनका लागि सामान्य खर्च गरेको छ । तर, त्यो निर्वाचन आचारसंहिताभित्रै रहेर गरिएको छ । कार्यकर्ता किन्ने, होटेल किन्ने र भोज खुवाउने पैसा हामीसँग छैन । म आफ्नो घरमा आएर खाना खान्छु, कार्यकर्ता पनि आ आफ्ना घरमा गएर खाना खान्छन् ।

पैसाको बलमा चुनाव जित्ने कुनै सोच छैन । हामीसँग देश निर्माण गर्ने सुन्दर योजना र खाका छन् । कांग्रेसले बहुमत ल्याएर पनि शासन गर्‍यो । यसपटक जनताले वामपन्थीहरुलाई बहुमत दिएर शासन गर्ने अवसर दिन्छन् भन्ने लागेको छ ।

कम्तिमा पाँचवर्ष बहुमतसहितको सरकार गठन गर्न पायौं भने हामी देशलाई समस्यामुक्त र विकासको मार्गमा अगाडि बढाउने छौं । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्छौं ।

विवेकशील साझा पार्टीले कत्तिको चुनौति दिएको छ ?

थ्रेसहोल्ड लागु भएयता लोकतान्त्रिक र वामपन्थी गरी मुलुकमा दुईवटा ध्रुवीकरण भइरहेको छ । विवेकशील साझा पार्टीले कांग्रेस र एमाले माओवादीका केही मत लैजाला । तर, त्यसको खासै असर पर्दैन ।

स्थानीय तहमा गोपी हमाल लोकप्रिय हुनु भएकाले राम्रो मत ल्याउनुभएको थियो । विकासको आशाले मतदाताले उहाँलाई जिताउन खोजेका थिए, मेयरमा । संसदीय राजनीतिमा पार्टी राजनीति प्रधान हो । हमाल विवेकशीलबाट नभई स्वतन्त्र हैसियतमा चुनाव लडेका थिए ।

पार्टी भइसकेपछि त्यसको एउटा विचार हुन्छ । र, नेतृत्वका तौरतरिका हुन्छन् । स्वतन्त्र हैसियतमा रहँदा सबै पार्टीका मतदाताले अलि फोकस गरेको हुनुपर्छ । विवेकशीलका उम्मेदवार नभइदिएको भए उनलाई दिने मत कांग्रेस या वाम गठबन्धनमा आउने निश्चित थियो । उम्मेदवार भएकाले केही मत त ल्याउलान्, दिनेश भण्डारीले । तर, त्यसले खासै असर पार्दैन ।

युवाको मत कता जाला ?

युवा विभिन्न नाममा विदेश पलायन भइरहेका छन् । ती युवालाई स्वदेश फर्काउने र यहीं काम गर्ने वातावरण सिर्जना गर्ने प्रयास गर्नेछौं । खानी, उद्योगधन्दा, जलविद्युत र त्यसबाट चल्ने ठूला कलकारखाना खोल्ने योजना छ ।

दक्ष जनशक्तिले अन्य मुलुकका लागि पसिना बगाइरहेको छ । त्यो सीप र सिर्जना स्वदेशमै लगाउने योजना छ । युवालाई नै उनीहरुको योजना कार्यान्वयनमा ल्याउने प्रयास गरिनेछ । स्रोत व्यवस्थापन गरेर उनीहरुलाई देश विकासमा लगाउने योजना छ ।

तपाईं त रातो पासपोर्ट प्रकरणमा पनि जोडिनुभएको थियो रे नि ?

झूठो मुद्दा लगाएर फसाउने प्रयास गरिएको थियो । मैले अदालतका दुईवटा तहबाट सफाइ पाइसकेको छु । अदालतभन्दा ठूलो कोही पनि  छैन । अदालतले मलाई सफाइ दिइसकेको छ । त्यही कारण पार्टीले मलाई जिम्मेवारी दिएको हो ।

(अनलाइन खवरबाट)

तपाईको प्रतिक्रिया