प्रतिवद्धता गरेको काम कार्यान्वयन गर्नमा लाग्छुः सांसद रानाथारु


नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारदमुनी रानाथारु धनगढी उपमहानगरपालिका ८, धनगढी गाउँका स्थानीय बासिन्दा हुन् । कानूनमा स्नातक गर्नुभएका रानाथारुले कैलाली ५ मा भएको समस्यालाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर सम्बोधनकालागि लाग्ने पुनः प्रतिवद्धता गर्नुभएको छ । पढौं रानाथारुसँग पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानी–

चुनावीताका गरिएका आफ्नै प्रतिवद्धता निर्वाचित हुँदा कति गह्रुँगो महुशस भइरहेको छ ?
चुनावताका गरिएका प्रतिवद्धता सबै मलाई कण्ठ छन् । सम्बोधन गर्नसक्ने प्रतिवद्धता गरेको छुँ, त्यसैले खासै गह्रुँगो महुशस भएको छैन । यद्यपि त्यसको सम्बोधन र कार्यान्वयनमा चुनौति भने छ । त्यसको सम्बोधनमा तत्काल गर्नसक्ने अल्पकालिन, अलि छिटो गर्न सक्ने मध्यकालिन र पाँच वर्ष लाग्नसक्नेलाई दीर्घकालिन योजना बनाएर सम्बोधन गर्ने तयारीकासाथ काम शुरुगरेको छुँ ।

प्रदेश ७ को प्रमुख क्षेत्रकोरुपमा कैलाली ५ चिनिन्छ, विकासको मुद्दा बुँदागतरुपमा भनिदिनुस् न ?
धनगढी एयरपोर्टलाई अन्तर्राष्ट्रिय ट्रान्जिट प्याइन्टकालागि नीतिगत र भौतिकस्तरमा सुधार गरी अगाडि बढ्छौं । अर्को भारतसँग जोडिएको गौरीफन्टा नाकालाई पाँच वर्षभित्र सुधार गरेको यहाँका बासिन्दाले महुशस गर्नेछन् । यहाँ कैलालीमा मुक्त कमैया, सुकुम्बासी, मुक्त कमलरीको व्यवस्थापन हुन सकेको छैन । आफ्नो कार्यकालमा व्यवस्थापनको काम गरिसक्ने योजना छ । रानाथारु समुदायलाई अलग्गै सूचीकृत गर्ने अर्को मेरो प्रतिवद्धता छ । त्यो काम पनि गर्छु । कैलाली ५ प्रमुख व्यापारिक नाका हो । यसलाई प्रमुख व्यापारीक हवकोरुपमा विकास गर्ने मेरो लक्ष्य छ । अर्को, सेती अञ्चल अस्पतालको स्तर सुधारकालागि आवश्यक योजना बनाएको छुँ । वैज्ञानिक र सर्वसुलभ सेवा नागरिकले प्राप्त गर्न सकुन भनेर नीति निर्माण गरेर भौतिक संरचना बनाउने छौं ।
बेहडाबाबा मन्दिर, घोडाघोडी मन्दिर, शिवपुरी धामलाई धार्मिक पर्यटकीयस्थल बनाउने, यहाँको घोडाघोडी ताल, कोइलही ताल, महादेवा ताल, जखोर ताल आदि यहाँको तालतलैयालाई व्यवस्थित गरी पर्यटकीय स्थलकोरुपमा विकास गर्ने मेरो योजना छ । यो मेरै कार्यकालमा व्यवस्थित भएको जनताले महुशस गर्नेछन् ।

राजधानीको ठूलो वहस छ, प्रदेश ७ को राजधानी कैलालीको धनगढी या डोटीको दिपायल ?
सबै हिसावले कैलालीको धनगढी–अत्तरिया उपयुक्त हुन्छ । जनताको सेवा सुविधालाई ध्यान दिएर यो ठाउँ उपयुक्त छ । प्रदेश ७ मा नौ जिल्ला छन् । त्यसमध्ये कैलाली र कञ्चनपुर दुई जिल्लामा मात्र आधाआधी जनसंख्या छ । प्रतिनिधिसभाका १६ सिटमा आठ सिट यी दुई जिल्लामा छ । पहाडमा तत्काल मुख्यमन्त्री बसाएर कार्यालय व्यवस्थापन गर्ने पूर्वाधार छैन । प्रदेशको मुख्यालय राख्न पनि पहाडमा संरचना छैन । कैलालीको धनगढीदेखि अत्तरिया नै पहाडी सातवटै जिल्लाको प्रवेशद्वार हो । त्यसहिसावले पनि राजधानी यही ठाउँमा बनाउने मेरो प्रयास छ ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणालाई पराजित गर्न कति गाह्रो भो ?
निकै गाह्रो थियो शुरुमा । सबैले कडा प्रतिस्पर्धाको अनुमान गरेका थिए । सिंगो सरकारको उपस्थिति आरजुतिरै थियो । मिडियाले हेवीवेट भनेर समाचार लेखे । तर मलाई त्यस्तो लागेको थिएन । म स्थानीय नागरिक भएकाले पनि चुनाव जित्छु भन्ने थियो । मतका हिसावले मै हेवीवेट हँु भन्दै आएको थिएँ । चुनाव जित्न त्यति सहज त थिएन तर ठूलो लडाई जितेको अनुभव भएको छ ।

विकासको प्राथमिकिकरण गर्दा कसरी गर्नुहुन्छ ?
पहिलो नीतिगत सुधार गर्छु । ठोस नीति बनाएर अघि बढ्ने योजना बनाएको छुँ । दोस्रो, मैले गरेको प्रतिवद्धता कार्यान्वयन तत्काल शुरु  गर्छु । कृषिमैत्री नीति निर्माणमा मेरो पहल हुन्छ । किसानले सिधै लाभ पाउनेगरी योजना बनाउँछु । खेती गरेबापत किसानले सहुलित पाउने व्यवस्थाकालागि लाग्छु । बाटघाटा, तटबन्ध, पुलपुलेसा, डुवान नियन्त्रण, वनजंगलको सुरक्षा, सामाजिक न्यायकालागि, काम गर्नुपर्ने छ । यी सबैलाई प्रथमिकतासाथ काम गर्छु ।

काम गर्दैजाँदा चुनौति के पर्लान् जस्तो लाग्छ ?
काम गर्दैजाँदा अप्ठेरा र समस्या त आउँछन् । यो स्वाभाविक कुरा पनि हो । तर नीतिगत सुधार गरेर कार्यान्वयनमा जाँदा सबैले साथ दिन्छन् भन्ने मेरो सोचाई छ । विकास निर्माण र जनताको पक्षमा कामगर्दा कोही अवरोध गर्ने काम गर्नु हुँदैन । विकास भयो भने यही ठाउँको विकास हुने हो । स्थायी सरकार गठन हुने भएकाले त्यति कठिनाई होलाजस्तो लागेको छैन ।

तपाईको प्रतिक्रिया