संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल

चुनावी समिक्षा

लक्की चौधरी

विषय प्रवेशः
दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि थरुहट, लिम्बुवान, तमुवान, तामाङ्गसालिन, मगरात लगायतका शक्तिहरु एकै ठाउँमा जर्मुराए । स्वायत्त राज्यपरिषद गठन गरी पहिचानवादी शक्तिहरु एक ठाउँबाटै संघर्ष गर्दा आदिबासी जनजातिले आशाको दियो बलेको महशुस गरेका थिए । पहिचानवादी शक्तिले एकै मोर्चाबाट संविधानसभाको पहिलो निर्वाचन २०६४ मा चुनाव लड्ने निस्कर्षकासाथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नामक पार्टी दर्ता गरे । ‘खुकुरी’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिए । प्रत्यक्षतर्फ विजयी नबने पनि सो दलले समानुपातिकतर्फ २ सिट ल्याउन सफल भयो । सोही मञ्चबाट रुक्मिणी चौधरी २०६४ मा समानुपातिक सांसद बनिन । केही समयपछि सो मञ्चमा आन्तरिक तिक्तता शुरुभयो । विवाद चुलिएपछि मञ्चबाट रुक्मिणी चौधरी बाहिरिइन् । २०६८ भाद्र ९ गते उनले निर्वाचन आयोगमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) नामक पार्टी दर्ता गरेर अध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्दैआएकी छिन् ।

पहिलो संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भएको थियो । संविधानसभाबाट संविधान जारी नभएपछि २०६९ जेठ १४ गते राती पहिलो संविधानसभा विघटन भयो । दोस्रो संविधानसभाको निर्वाचन २०७० मंसिर ४ गते सम्पन्न भयो । दोस्रो संविधानसभामा रुक्मिणी चौधरी नेतृत्वको मञ्च (थरुहट) ले गाग्री चुनाव चिन्ह लिएर चुनावमा होमियो । सो दलले प्रत्यक्षतर्फ ४ हजार ६२२ र समानुपातिकतर्फ २१ हजार १२८ मत गरी कुल २५ हजार ७५० मत प्राप्त गरेको थियो । समानुपातिकमा एक सिट पाएपछि रुक्मिणी चौधरी पुनः समानुपातिक सांसद बनिन् । २०६४ चैत बाट २०७४ कात्तिकसम्म गरी पूरै दश वर्ष ६ महिना सांसदको भूमिकामा चौधरी रहिन् । सो अवधिमा संसदमा थारु अधिकारका विषयमा उनको प्रस्तुती दमदार थियो । थारुसहित, मधेसी, महिला, मुस्लिम, आदिबासी जनजाति पछाडिपरेका सबैको पक्षमा उनको न्यायपूर्ण संघर्ष देखिन्थ्यो । नयाँ संविधानमा यी वर्गको केही अधिकार सुनिश्चित हुनुमा उनको योगदान र संघर्षको प्रतिफल हो भन्दा अन्यथा हुँदैन ।

२०७४ को चुनावले डुवायो
थारु नेतृ रुक्मणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) लाई तराई र पहाडका जिल्लामा गरी ५९ जिल्लाबाट मत प्राप्त भएपनि थ्रसहोल्डरुपी पर्खाल नाघ्न नसकेपछि उनी सांसद हुनबाट रोकिइन् । कुल २४ हजार ९३४ मत प्राप्त गरेको सो दलको प्रतिनिधिसभातर्फ १४ हजार ३२५ र प्रदेशसभा तर्फ १० हजार ६०९ मत प्राप्त गरेको देखियो । २०७० को चुनावभन्दा उनको दलको मत ८१२ ले कमी हो । यसअघिको २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड (मतसीमा) नभएकाले समानुपातिकबाट संविधान सदस्य बन्न सहज थियो । विगतकै अनुपातमा मत आएपनि यसपाली सो मत पर्याप्त भएन । सांसद बन्न र राष्ट्रिय दलको मान्यता पाउन करिब पौने तीनलाख मतको आवश्यकता थियो । अध्यक्ष चौधरीको दलले प्राप्त गरेको मतसंख्या एकछेउ पनि हुन सकेन । त्यसबारे अध्यक्ष चौधरीले भनीन् “जुन किसिमको मत आउँछ भन्ने लागेको थियो सोअनुसार आएन, संगठन विस्तार र पैसा खर्च गर्न नसक्दाको परिणाम हो भन्ने लागेको छ ।”

अध्यक्ष चौधरीले भनीन् “जुन किसिमको मत आउँछ भन्ने लागेको थियो सोअनुसार आएन, संगठन विस्तार र पैसा खर्च गर्न नसक्दाको परिणाम हो भन्ने लागेको छ ।”

उसो त निर्वाचनअघि चौधरीलाई धेरै पार्टीबाट एकताको प्रस्ताव आएको थियो । तर उनले पार्टी एकता र आफूलाई सुनिश्चित गर्नतर्फ लाग्दै लागिनन् । उनी भन्छिन्, “मलाई कांग्रेस, एमाले र माओवादी सबै दलबाट पार्टी एकताको प्रस्ताव आएको हो, प्रत्यक्षतर्फ निर्वाचन लड्ने टिकटको प्रस्ताव पनि आएको हो तर थारुको मुद्दालाई ओझेलमा राखेर पद खानेतर्फ लाग्न मेरो मनले मानेन ।” अझै पार्टी कुनै दलमा नमिलाउने अडान उनको छ ।

थारु अधिकारका लागि शुरुदेखि निष्पक्ष भएर आवाज उठाउँदै आएकी अध्यक्ष चौधरीलाई थारुले नै मत किन दिएनन् ? जिज्ञासामा उनी भन्छिन्, “हाम्रा मतदातामा अझै चेतनास्तर आइसकेको छैन, कारण त्यतिमात्र होइन, हाम्रो सांगठनिक विस्तार हुन नसक्नु, सोचेअनुसार निर्वाचनमा खर्च व्यवस्थापन गर्न नसक्नु र पार्टीको मुद्दालाई जनतामाझ स्थापित गर्न नसक्नुको कारण पनि हार हो ।” निर्वाचन प्रणाली नै खर्चिलो र भडकिलो भएपछि साना दललाई चुनाव लड्न निकै गाह्रो भएको अनुभूति गराएको बताउँदै अध्यक्ष चौधरीले आगामी दिनमा थप संगठन विस्तार गरेर नयाँ सोच र शैलीकासाथ अघि बढ्ने तर्क गरिन् । मतगणनामा सबैतिर दलको प्रतिनिधि नहुँदा पनि मत परिणाममा तलमाथि भएको बुझाई उनको छ ।

सो दललाई थरुहट क्षेत्रमा समेत आशालाग्दो मत प्राप्त भएको देखिएन । तराईको जिल्लामा सबैभन्दा वढी मत रुपन्देही जिल्लाबाट २२८१ प्रत्यक्षतर्फ र २०६१ प्रदेशसभातर्फ सो दललाई प्राप्त भएको देखिन्छ । त्यस्तै सबैभन्दा कम मत कञ्चनपुरमा १४ प्रत्यक्षतर्फ र २५ प्रदेशतर्फ मत आएको देखिन्छ । सो दलले रौतहटबाट मात्र प्रत्यक्ष उम्मेदवार बनाएको थियो । यसपल्ट प्रत्यक्षतर्फको मतसीमा कुल सदरमतको ३ प्रतिशत र प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कायम गरिएको थियो । सो सीमालाई अध्यक्ष चौधरीको दलले पार गर्न नसकेपछि राष्ट्रिय र क्षेत्रीय दलमा सो दल पर्न सकेन । चुनावमा पराजित भएपनि हरेश भने चौधरीले खाएकी छैनन् । चुनावमा हारजित स्वाभाविक भएकाले आज हारे पनि अर्को चुनावमा जित हुने विश्वास उनको छ । पार्टीको संगठन र विचार सिद्धान्तलाई व्यवस्थित बनाएर अझ नयाँ जोश र सोंचकासाथ अघि बढ्ने अठोट उनमा मरेको छैन । थारु समुदायकालागि अगुवाई गर्दैआएकी चौधरीले एक न एकदिन जित हुने विश्वास राख्छिन् ।

हारको कारणः
राजनीति एउटा सम्भावनाको खेल हो । खेल मैदानमा होमिएपछि जित र हारलाई स्वाभाविकरुपले लिन सक्नुपर्छ । कुशल खेलाडी त्यही हो, जो बारम्बार हारेर पनि जितकालागि प्रयासरत रहन्छ । अथक मेहनत र परिश्रमले एकदिन जुनसुकै खेलाडिको जित सुनिश्चित हुन्छ । हार भयो भनेर मैदान छाड्नेको त कहिल्यै विजय हुने कुरै भएन । त्यसैले राजनीतिक खेल खेल्ने खेलाडीले यस कुरालाई मनन गर्दै आफ्नो राजनीतिक बाटो तय गर्न सक्नुपर्छ ।

मञ्च (थरुहट) हार्नुको चार–पाँच कारण मुख्य छन् । पहिलो– पार्टीको आफ्नो स्पष्ट सिद्धान्त र विचार नहुनु । दोस्रो– पार्टीको संगठन विस्तार गर्न नसक्नु । तेस्रो– पार्टीको केन्द्रीय कमिटी प्रभावकारी नहुनु र जिम्मेवारी वाँडफाँट हुन नसक्नु । चौथो– आन्तरिक स्रोत परिचालन गर्न नसक्नु । पाँचौ– संसदमा खेलेको भूमिकालाई थरुहट क्षेत्रमा प्रचार गर्न नसक्नु र छैठौं र अन्तिम कारण– थ्रेसहोल्ड (मत सीमा) कायम हुनु नै हो । यी समस्याको व्यवस्थापन समयमा गर्न सकेको भए सफल भइन्थ्यो । सफल हुन नसक्ने देखेमा विचार मिल्ने दलसँगको सहकार्य र पार्टी एकताको एउटा विकल्प थियो भने अर्को विकल्प भनेको हार स्वीकार्नु नै थियो ।

अध्यक्ष, रुक्मिणी थारु

सुधार्नुपर्ने पक्षः
अहिलेको निर्वाचन प्रणाली नै भड्किलो र खर्चिलो छ । अब निर्वाचन लड्नलाई ‘धन र डन’, ‘मसल र पैसा पसल’ नभई नहुने देखिन्छ । कि निर्वाचन प्रणालीलाई नीतिगतरुपमा बदल्न सक्नुप¥यो कि त्यसमा व्यापक सुधार गर्नुप¥यो । त्यसकालागि ठूला दल तयार हुनुपर्छ । साना दल एक ठाउँमा आएर संघर्ष गर्ने हो भने केही दवाव पुग्ला अन्यथा संसदमा कमै दल हुनुपर्छ भन्ने शीर्ष नेताहरुको मान्यता छ । यसैगरी चुनाव भइरहने हो भने सानातिना दलको पालो आउला भन्ने लाग्दैन । जो आफूलाई सुनिश्चित गर्ने, पदमा भइरहने सोचे उनीहरु कुनै न कुनै ठूला दलमा गएर टिकट लिएर निर्वाचित भए कोही पराजित भए । कोही समानुपातिकमा आफूलाई सुनिश्चित गरे । राजनीति फोहरी खेल हो भनिन्छ । त्यसैले आफूलाई सुनिश्चित गर्न र पदमा टाँसिइरहन धेरैले फोहरी खेलका पात्र बन्छन्, बनिरहेका छन् ।

मञ्च (थरुहट) ले आफ्नो पार्टीको भविष्य बनाउन चाहने हो भने माथिका पाँचवटा कमजोरी पक्षलाई सुधार गर्दै लैजानु अनिवार्य छ । त्यसमध्ये अन्य कारणहरु पनि छन् सुधारका । मञ्चले समय समयमा पार्टीको तर्फबाट वैचारिक वहस र स्थानीयको धारणा बुझ्ने कार्यक्रम पनि गर्नुपर्छ । सञ्चारमाध्यमको भूमिका अहिले निकै ठूलो छ । सञ्चार बुझ्नेलेमात्र यसको मेसो पाउँछन् । नबुझ्नेलाई त ‘खुर्पाको विंड’ न हो सञ्चार र मिडिया । त्यसतर्फ पनि पार्टी सञ्चालन गर्नेले ध्यान दिनु अनिवार्य छ । पार्टी सञ्चालन गर्दा केही स्रोत साधनको खर्च हुन्छ । त्यसमा कन्जुस्याई गर्नु हुँदैन । समयानुकुल आफूलाई र पार्टीलाई परिचालन गर्न सक्ने हो भने आगामी दिनमा प्रगति गर्न सक्ने सम्भावना जिवितै छन् । आत्मविश्वास र दृढता नै शक्ति हो । त्यसमा अडिग रहेर अगाडि बढ्दा जित सुनिश्चित गर्न सकिन्छ ।

यदि मधेसमा मधेसी दलहरु एकता गरेर राष्ट्रिय पार्टी बन्न सक्छन् भने थरुहटमा थारुहरु एक भएर राष्ट्रिय पार्टी बनाउन किन सक्दैनन् ? राष्ट्रिय पार्टी बन्न तीनलाख मत प्रत्यक्षतर्फ ल्याउँदा हुन्छ । थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । त्यसको आधाआधी मतदाता छन् । अर्थात् ८ लाख बढी थारु मतदाता छन् । यतातिर थारुको ध्यान किन जान सकेन ?

निस्कर्षः
स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यसपल्ट बडो गजवको राजनीतिक सिनारियो देखियो । कहीं पैसाको प्रभाव मतमा देखियो भने कहीं त्यसको प्रभाव शुन्यप्रायः देखियो । कैलालीकै क्षेत्र नं. ५ मा पैसाको अथाह परिचालन गर्दा पनि शेरबहादुर देउवापत्नी आरजु देउवा राणा हारिन् । क्षेत्र नं. १ मा चुनाव प्रचारमा एक पटक पनि भौतिक उपस्थिति नजनाउँदा पनि रेशम चौधरीले सानदार मतकासाथ विजयी बने । क्षेत्र नं. ५ मै प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका जेलबन्दी लक्ष्मण थारुले पाँचहजार बढी मत प्राप्त गरे । प्रदेश २ मा मधेसवादी शक्तिहरुले चमत्कार   देखाए । प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले–माओवादी गठबन्धनलाई पछार्न सफल भए ।

मधेसमा दुईवटा दल यसपटकको चुनावबाट राष्ट्रिय पार्टी बन्न सफल भए । कारण, सो दलले निरन्तर प्रयास गरिरहे । अडानबाट डगमगाएनन् । मधेसकेन्द्रित राजनीतिक दलहरु कोही राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बनाएर चुनावमा होमिए । कोही संघीय समाजवादी फोरमबाटै राजपासँग सहकार्य गरेर निर्वाचनमा लागे । सोचेअनुसारकै मत प्राप्त गरे र राष्ट्रिय दलमा स्थापित भए । यता विजयकुमार गच्छदार नेतृत्वको दल फोरम (लोकतान्त्रिक) कांग्रेसमा विलय गराएर अधिकांश थारु विलखबन्दमा परे । थारुको पार्टी भनेर चिनिने सो दलले अन्ततः कांग्रेसमा विलय भएपछि भानुराम थारुहरुले फोरम नेपालको चुनावचिन्ह ‘मसाल’ लिएर हारिने चुनावमा होमिन बाध्य भए ।

राजनीतिमा जेपनि हुनसक्छ भन्ने यी त उदाहरण मात्र हुन् । भोलिको राजनीतिको सिनारियो कस्तो बन्ला भन्ने अहिले किटान गर्न सकिदैन । मननयोग्य विषय के मात्र हो भने, यदि मधेसमा मधेसी दलहरु एकता गरेर राष्ट्रिय पार्टी बन्न सक्छन् भने थरुहटमा थारुहरु एक भएर राष्ट्रिय पार्टी बनाउन किन सक्दैनन् ? राष्ट्रिय पार्टी बन्न तीनलाख मत प्रत्यक्षतर्फ ल्याउँदा हुन्छ । थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । त्यसको आधाआधी मतदाता छन् । अर्थात् ८ लाख बढी थारु मतदाता छन् । यतातिर थारुको ध्यान किन जान सकेन ? यसो भनिरहँदा गैरथारुले जातीय कुरा ग¥यो भन्लान् । तर राजनीति सम्भावनाको खेल हो भनेपछि त्यसबारेमा थारुले सोच्दा अन्यथा नहोला । अवको पाँच वर्षपछि हुने स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि बलियो एउटा थारु पार्टी बनाएर अगाडि बढ्नेतिर थारु नेताहरुले सोच्ने पो हो कि ?

(लेखकः गोरखापत्र दैनिकका उपसम्पादक हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया