रजत जयन्ती मनाउँदै नाइटिङ्गेल विद्यालयले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान


लक्की चौधरी
काठमाडौं, फागुन ७ गते । स्थापनाको २५ औं वर्ष अर्थात् रजत जयन्तीको अवसरमा नाइटिङ्गेल स्कूलले सोमबार यहाँ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकको सम्मानमा युवाहरुको सहभागिताको सन्देश दिन विद्यालयले सम्मान कार्यक्रम गरेको बताएको छ ।

ललितपुरको कुपण्डोलस्थित रहेको नाइटिङ्गेल विद्यालयलले करिब ५२ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरेको विद्यालयका संस्थापक तथा नेपाली कांग्रेसबाट सप्तरी ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बताउनुभयो । ललितपुर उपमहानगरपालिका १, २ र १० गरी तीन वडाका करिब दुईसय ज्येष्ठ नागरकलाई निमन्त्रणा गरिएको भएपनि ५२ जनाको सहभागिता भएको विद्यालयले जनाएको छ ।

सो अवसरमा विद्यालयका संस्थापक चौधरी र प्रिन्सिपल अन्जना प्रधानले संयुक्तरुपमा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । सो अवसरमा ९६ वर्षिया साइँली खत्री, विष्णुप्रसाद न्यौपाने, योगप्रसाद उपाध्याय, कुलबहादुर श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ लगायतका ज्येष्ठ नागरिक सम्मानित हुनुभएको थियो ।

सोहीअनुसार इन्द्र महर्जन (९८), धनमाया खडका (९७), गोमा नगरकोटी (९४), चैतन्य राज्यलक्ष्मी जोशी (९२), मधुसुदन उपाध्याय (९२), खडककुमारी कार्की (९१), खेमकुमारी सिजापति (९१), दानबहादुर राउत (९१), मथुरा श्रेष्ठ (९१), रत्नबहादुर श्रेष्ठ (९१), लिला राणा (९०), कुलबहादुर श्रेष्ठ (८९), लिलामाया पोखरेल (८९), लगायतका ज्येष्ठनागरिक सम्मानित हुनुभयो ।

विद्यालयका संस्थापक तथा सांसद तेजुलाल चौधरीले ज्येष्ठ नागरिकको त्याग, बलिदान र सहयोगले मुलुक यो अवस्थामा आइपुगेकाले उहाँहरुलाई विद्यालयले सम्मान गर्ने निर्णय गरेको बताउनु भयो । विद्यालयबाट अहिलेसम्म करिब तीन हजार विद्यार्थीले प्रवेशीका परीक्षा उत्तीर्ण गरेको बताउँदै उहाँले ज्येष्ठ नागरिकको सीप, क्षमता र अनुभव युवापुस्तामा हस्तान्तरणको खाँचो उहाँले औल्याउनुभयो ।

ज्येष्ठ नागरिक प्रा.डा. सर्वज्ञभक्त मल्लले आफूले ४० वर्ष शिक्षण पेशामा रहेर मुलुककालागि योगदान दिएको स्मरण गर्नुभयो । ज्येष्ठ नागरिकलाई सन्तानको माया, सम्मानको खाँचो रहेको बताउँदै उहाँले सबैका छोराछोरी विदेश गएर स्वदेशमा ज्येष्ठ नागरिकको विचल्ली भएको बताउनुभयो ।

विद्यालयले ज्येष्ठ नागरिकको सम्मान गरेर राम्रो कामको शुरुवात गरेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । सम्मानित कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले विभिन्न नृत्य तथा साहित्यिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया