आर्थिक विकासमा छलाङ मार्नेगरी सरकारले काम गर्छः वरिष्ठ उपाध्यक्ष गौतम


लक्की चौधरी
काठमाडौं, फागुन ९ गते । सुशासन र आर्थिक विकासकालागि सरकारलाई सुझाव दिन गठित कार्यदलले पाँच वर्षभित्र विकासमा छलाङ मार्न एकैचोटी खरवौं खरवको आयोजनामा काम गर्न सुझाव दिएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७२ बुँदे ६१ पृष्ठको प्रतिवेदन बुझाउँदै सो सुझाव दिएको हो । यसअघिको वाम गठबन्धानको चुनावी घोषणापत्रलाई आधार मान्दै कार्यदलले आर्थिक समृद्धिकालागि गर्नु पर्ने कामबारे सुझाएको कार्यदलका संयोजक गौतमले बताउनुभयो ।

माघ ७ गते गठित कार्यदलले फागुन ७ गते प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन बुझाएको थियो । गोरखापत्रसँग कुरागर्दै गौतमले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै आर्थिक समृद्धिको वाटो तय गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं, उहाँले थप्नुभयो, “जनताको आधारभूत समस्या समाधान गर्दै समाजवादको बाटो तयगर्ने सुझाव प्रतिवदेनमा छ ।”

शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटीको व्यापक दोहन गरेको र अहिले देशको राष्ट्रिय ढुकुटीको अवस्थाबारे जनतालाई जानकारी दिन श्वेतपत्र जारी गर्न समेत कार्यदलले सरकारलाई सुझाव दिएको छ । “देशको विकास कृषि क्षेत्रबाट शुरु गर्नुपर्छ । दुई वर्षभित्र भूमिसँग सम्बन्धित सबै समस्या समाधान गरेर अगाडि बढ्यौं भने कृषिमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ” गौतमले भन्नुभयो ।

“प्रतिवर्ष विदेशबाट औद्योगिक सामानकालागि आठ खर्व रुपैयाँको सामान ल्याइरहेका छौं । खाद्यान्नकालागि डेढदेखि दुई खर्वको सामान ल्याउँछौं । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम गर्न सक्छौं ।”

कृषिलाई व्यावसायिक र औद्योगिकरण गर्दै दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुझाव दिएका छौं, चुनौतिपूर्ण देखिएपनि असम्भव छैन संयोजक गौतमले भन्नुभयो, “प्रतिवर्ष विदेशबाट औद्योगिक सामानकालागि आठ खर्व रुपैयाँको सामान ल्याइरहेका छौं । खाद्यान्नकालागि डेढदेखि दुई खर्वको सामान ल्याउँछौं । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम गर्न सक्छौं ।”

हाम्रो विकासकालागि आर्थिक मूलस्रोत विद्युतलाई बनाउन सकिन्छ, त्यसको उत्पादन गरी त्यसमार्फत काम गर्ने वातावरण बनाउन सरकारलाई भनेका छौं, संयोजक गौतमले भन्नुभयो, “पाँच वर्षभित्र सबै आर्थिक कारोबार ‘क्यासलेस इकोनोमी’मा र दुई वर्षभित्र अनलाईन प्रणालीमा लगेर सुशासन कायम गर्न सक्छौं ।”

कर प्रणालीलाई संस्कृतिकोरुपमा विकास गर्नुपर्छ । सबैले कर तिर्ने वातावरण बनाउनुपर्छ गौतमले भन्नुभयो । विकासमा हातहाल्दा एकैचोटी खरवौं खरवको योजनामा हात हाल्नुपर्छ । सानोतिनो विकास अभियानले मुलुकको विकासमा छलाङ मार्न सम्भव हुँदैन ।”

अव समस्या छैन, सरकार स्थायी बनेको छ, राजनीतिक स्थायित्व कायम भएको छ । विकासको काम गर्न अव समस्या पर्दैन एमाले वरिष्ठ उपाध्यक्ष गौतमले भन्नुभयो, “हामीले दिएको प्रतिवेदन र चुनावी घोषणापत्रको प्रतिवद्धताअनुरुप सरकारले काम ग¥यो भने विकास सम्भव छ, जनतालाई सेवा दिएर काममा लगाउनुपर्छ, जनताको सहभागिताविना समृद्धि सम्भव हुँदैन ।”

कार्यदलमा भीमबहादुर रावल, डा. विजय पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ, माओवादी नेता वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया