चर्चित धार्मिकस्थल बेहडाबाबा प्रति सरकार उदासिन

लक्की चौधरी


‘पत्नीलाभ, पुत्रलाभ, धनलाभ, गर्नुछ भने बेहडाबाबा मन्दिर (धार्मिकस्थल) को एकपल्ट अवश्य दर्शन गर्नु’ भन्ने बुढापाकाको जनजिभ्रोमा सुनिन्छ । तर यो भनाई स्थानीय केही जिल्लामै सीमित हुनु विडम्बनापूर्ण छ । कारण चर्चित तथा विराट पर्यटकीय सम्भावना बोकेको यस धार्मिकस्थल राज्यबाटै ओझेलमा पारिएको छ । वार्षिक लाखौं दर्शनार्थी तथा हजारौं भारतीय पर्यटक आउने यस धार्मिकस्थलको उचित संरक्षण तथा प्रवद्र्धन गर्न सके राज्यका लागि राम्रो आयआर्जनको स्रोत बन्न सक्थ्यो ।

उर्मा गा.वि.स.कै वार्ड नं. ४ रामपुरस्थित पर्ने ऐतिहासिक बेहडाबाबा मन्दिरको उचित संरक्षण तथा सम्बद्र्धन भएको भए सुदूरपश्चिमकै पर्यटकीय गन्तव्यस्थान बन्न सक्थ्यो । परापूर्वकालमा शिव लिङ्ग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी तथा बयोबृद्धहरुको भनाई छ । रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित सो मन्दिर परिसरमा माघ, फागुन, चैत र जेठ महिनामा मेला लाग्ने गर्दछ । माघेसंक्रान्तिमा दुई दिन, फागुन र चैतमा एक÷एक दिन तथा जेठको ‘गंगादशहरा’ मा पाँचदिन मेला लाग्ने गर्दछ । मेलामा लाखौं आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीहरुको घुइचो हुनेगर्छ । शिवजीको ठूलो महिमा बोकेको सो मन्दिरमा दर्शन गर्दा मागेअनुसारको फल प्राप्त हुने विश्वास दर्शनार्थीहरुको छ ।

एउटा सानो ढुंगाबाट उत्पत्ति भएको सो मन्दिरको महिमा बेग्लैखालको छ । उहिले भारतीयहरुको सो क्षेत्रमा दवदवा थियो । जंगबहादुर राणाले बृटिश कम्पनीलाई सघाए बापत प्राप्त भएको नयाँ मुलुक वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभागमा उहीले भारतीयहरु नै आवतजावत गर्नेगर्थे । त्यस ठाउँमा बाक्लो जंगल भएका कारण त्यहाँ मानिसहरुको त्यति बसोबास थिएन । जब सो मुलुक नेपाललाई भारतले वक्सगरे पछि त्यहाँ फाट्टफुट्ट नेपालीमूलका आदिबासीहरु त्यहाँ बसोबास शुरु गरे । भारतीय नागरिकहरु त्यहाँ घुम्न आएका बेला सो लिङ्ग फेला पारेका थिए । भारतीयहरु लिङ्गमा रसीले बाँधी राङ्गा लगाएर लिङ्ग उखेल्न खोज्दा समेत लिङगलाई उखेल्न नसकेपछि रिसले त्यसमा पटक–पटक फलामको घनले हिर्काएका थिए रे ! घनले हिर्काएको छाप अहिले पनि लिङ्गको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । उनीहरु लिङ्गलाई जमिनबाट उखेली आफ्नो ठाउँ भारतमा लग्ने लाखप्रयास गर्दा पनि लिङ्ग त्यहाँबाट हलचल नभएपछि सो ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ । आदिबासी थारुहरु त्यस ठाउँको जंगल फँडानी गरी बस्नयोग्य बनाएपछि चलाख भारतीय नागरिक पनि त्यहाँ आई बसोबास गरेको मानिन्छ । मन्दिर स्थापना गर्न तथा त्यसको स्यहारका लागि पनि भारतीय नागरिक त्यहाँ बसाईगर्न आएको जनविश्वास छ । सानो रुपमा देखिएको सो शिव लिङग अहिले बढ्दै–बढ्दै सात आठ फिट अग्लो भएको छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ । तर पूजारी भने अहिले भारतीय नागरिकलाई हटाई त्यहाँका आदिबासीहरुलाई नियुक्त गरिएको छ । यद्यपि ती भारतीय नागरिक पनि अहिले नेपाली नागरिक भइसकेको अवस्था छ । मन्दिर परिसरमै पूर्व पूजारीको करिब १८ विघा जति जमिन र घरबास रहेको छ ।

मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ छ । त्यस तलाउमा स्नानगरी दर्शनार्थीहरु शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नानगरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास गरिन्छ । यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तानलाभ, धनप्राप्तीका साथै नयाँ जोडी प्राप्ती हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटकहरु दर्शनका लागि उल्लेख्य मात्रामा आउने गर्दछन् । घना जंगलको किनारमा अवस्थित यस मन्दिर प्राकृतिक सम्पदाले भरिएको छ । पर्यावरणीय हिसावले उपयुक्त ठाउँमा अवस्थित यस धार्मिकस्थलको राज्यले उचित प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माण गर्नसके कैलालीकै प्रमुख धार्मिकस्थल बेहडाबाबा बन्नेमा कसैको दुईमत छैन ।

सुदूरपश्चिमकै सदरमुकाम तथा प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकाबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा अवस्थित यस धार्मिकस्थलमा दर्शनार्थीहरु जाने अहिलेसम्म कच्ची बाटोको मात्र व्यवस्था छ । मन्दिर परिसरसम्म पक्की बाटोको व्यवस्था हुनसके पर्यटक तथा दर्शनार्थीहरुको त्यस क्षेत्रमा चहलपहल बढ्ने थियो । तर दुर्भाग्य ! राज्यले भौतिक पूर्वाधार निर्माणको कुरा त दूर त्यस क्षेत्रको प्रचारप्रसारमा समेत कन्जुस्याई गर्दै आएको छ । सरकारको यस्तो कन्जुस्याईले त्यस क्षेत्रको प्रवद्र्धनमा त कमी भएको छ नै राज्यको आयस्रोतमा समेत ह्रास भएको छ ।

3

उर्मा गा.वि.स. ४, रामपुर गाउँमा अवस्थित बेहडाबाबा नामको शिव मन्दिर । तस्विरः हमार पहुरा

1

बेहडाबाबा मन्दिर भित्रको शिवलिङ्ग । जुन क्रमशः बढ्दै ठूलो आकारको भएको छ । तस्विरः हमार पहुरा

SAM_5539

SAM_5554

शिवजीको दर्शनपछि बेहडाबाबा मन्दिरका पुजारी खुशीराम थारुसँग प्रसाद तथा आशीर्वाद लिदै पंक्तिकार ।

तपाईको प्रतिक्रिया