संसद बन्ने मेरो चाहना होइन, पार्टी र नेताहरुको चाहना होः नेता गौतम


काठमाडौं, असोज २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्य तथा पूर्व गृहमन्त्री वामदेव गौतमले प्रतिनिधिसभामा प्रवेश गर्ने आफ्नो चाहनाभन्दा पनि पार्टीका नेताहरुको सल्लाह र सुझाव भएको बताउनुभएको छ ।

पछिल्लो समय काठमाडौं क्षेत्र ७ बाट उपनिर्वाचिन मार्फत प्रतिनिधिसभामा छिर्ने तयारी भइरहेको समाचार व्यापकरुपमा आएपछि नेता गौतमले भन्नुभयो, “संसदमा मेरो आवश्यकता पार्टी र नेतालाई खड्केको हो, मेरो आफ्नो चाहना होइन ।” पार्टीले निर्णय गरेमा पार्टीको निर्णय मान्नुपर्ने हुन्छ उहाँले बताउनुभयो ।

यसअघिको बाँके, दैलेख, डोल्पा लगायतको जिल्लाको उपनिर्वाचनको विषय पनि पार्टीकै नेताहरुको प्रस्तावअनुरुप छलफलको विषय बनेको उहाँले बताउनुभयो । “पार्टी र नेताहरुले मेरो आवश्यकता संसदका लागि देख्नुहुन्छ भने मैले जिम्मेवारी पूरा गर्नबाट भाग्न मिल्दैन” नेता गौतमले भन्नुभयो, “अझै मैले काठमाडौं ७ बाट निर्वाचन लड्दैन भनेर आधिकारीकरुपमा बोलेको छैन, पार्टीले निर्णय गरेमा मान्नुपर्ने हुन्छ ।”

नेता गौतमले भन्नुभयो, “अझै मैले काठमाडौं ७ बाट निर्वाचन लड्दैन भनेर आधिकारीकरुपमा बोलेको छैन, पार्टीले निर्णय गरेमा मान्नुपर्ने हुन्छ ।”

नेकपाको सचिवालय बैठक शनिबार बस्ने भनिए पनि त्यसको टुङ्गो अझै लागि नसकेको बताउनुहुँदै नेता गौतमले पार्टीको निर्णयलाई आफूले पर्खेको जानकारी दिनुभयो । “मेरो इच्छा र चाहना भन्दा पनि पार्टीको चाहना के हो भन्ने मुख्य विषय हो, पार्टीले जस्तो निर्णय गर्छ म त्यसलाई मान्छु” गौतमले भन्नुभयो ।

संसदमा प्रवेश गर्नकालागि आफूले अझै कुनै सांसदलाई राजीनामा दिन नभनेको बताउँदै नेता गौतमले भन्नुभयो, “जे जति जिल्ला र सांसदको नाम मिडियामा आयो, त्यो सबै पार्टीकै प्रस्तावअनुसार आएको हो, मैले व्यक्तिगतरुपमा कसैलाई राजीनामाका लागि आग्रह वा दवाव दिएको छैन ।” सञ्चार माध्यममा आफूलाई जोडेर विभिन्न कोणका समाचार आए पनि त्यसमा सत्यता नरहेको उहाँले टिप्पणी गर्नुभयो ।

तर देशको आर्थिक समृद्धिका लागि आफूसँग स्पष्ट योजना र दृष्टिकोण भएकाले जिम्मेवारी पाएमा त्यसलाई पूरा गर्ने प्रतिवद्धता भने उहाँले जनाउनुभयो । देश बनाउन सबैको सकारात्मक सोंच र प्रयासको खाँचो रहेको बताउँदै उहाँले नकारात्मक विषयले बढी प्रवेश पाएकोमा गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया