सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन



काठमाडौं, कात्तिक १८ गते । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ बर्षको उमेरमा निधन भएको छ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका तुलाधरलाई मस्तिष्कघात भएको थियो । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तुलाधरले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहनुभएको थियो । तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा हुनुहुन्थ्यो । उहाँ २०६२ र ६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता समेत हुनुहुन्थ्यो । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा (एमाले) र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लिएको छ ।

मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण समेत गरेर नागरिक अभिनन्दन गरिएको थियो ।

२०४६ सालमा समेत काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याउन पहल गर्नुभएको थियो । उहाँकै पहलमा मावमोर्चा र कंग्रेंस एक ठाउँमा उभिँदा जनआन्दोलन सफल भएको थियो ।

तुलाधरले ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता समेत गर्नुभएको थियो । तुलाधरले नेपाल संवत्लाई राष्ट्रिय संवत तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन लामो समय सङ्घर्ष गर्नुभएको थियो ।

तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर विसं २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुग्नुभएको थियो ।

नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर विसं २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया