जनताले अनुभूति गर्नेगरी काम गर्नुस्ः सञ्चारमन्त्री राई

इन्टरनेटमा जनताको ४४.३७ प्रतिशत पहुँच


SAM_2411

काठमाडौं, पुस ९ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सेवा प्रवाहमा जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा पहिलो चौमासिक प्रगति समिक्षा बैठकलाई मन्त्रालयमा विहिबार सम्बोधन गर्नुहुँदै मन्त्री राईले त्यस्तो निर्देश गर्नुभएको हो । काम गर्ने सवालमा कुनै आग्रह र पूर्वाग्रह नराख्न विभागीय प्रमुखहरुलाई निर्देश गर्नुहुँदै मन्त्री राईले भन्नुभयो, “काम गर्ने सवालमा कहाँ बाधा प¥यो तत्काल भन्नुहोस् त्यसलाई फुकाउन म सहयोग गर्छु ।”

समिक्षा बैठकमा कतिपय संगठन र निकायबाट सूचना प्राप्त नभएकोबारे टिप्पणी गर्नुहुँदै मन्त्री राईले “सही सूचना र कामको प्रगति प्रतिवेदन मन्त्रालयमा प्राप्त नहुनु गम्भीर विषय हो, यस विषयमा मन्त्रालयले कडाईका साथ मूल्याङ्कन गर्छ” उहाँले भन्नुभयो । भएको बजेट पनि खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्न उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।

“भएको काम गर्न कुनै बहानाबाजी र कारण नदेखाउनुहोस्, जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्नुहोस्” भन्नुहुँदै मन्त्री राईले संगठनको काम पारदर्शी र चुस्त बनाउन निर्देश दिनुभयो । जारी नयाँ संविधानको स्पिरिटलाई टेकेर काम गर्न आवश्यक रहेको भन्नुहुँदै उहाँले वार्षिक बजेटअनुसार त्यसको योजना कार्यान्वयनमा ध्यान दिन भन्नुभयो ।

मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले मन्त्रालय मातहतका निकाय र संगठनबाट सूचना र प्रगति तथ्याङ्क आउन ढिलाई भएको बताउनुभयो । “प्रगति भएको छ भने यो भयो, भएको छैन भने ‘छैन’ भनेर प्रतिवेदन बुझाउनु प¥यो” भन्नुहुँदै सचिव मल्लले अर्को बैठकबाट नियमित सूचना पु¥याउन विभागीय प्रमुखहरुको ध्यानाकर्षण गराउनुभयो ।

समिक्षा बैठकमा मन्त्रालयका योजना शाखाका प्रमुख रुद्रा गौतमले मन्त्रालयमा प्राप्त प्रगति विवरणबारे जानकारी गराउनुभएको छ । उहाँकोअनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको यस अवधिको प्रगतिमा वित्तिय तर्फ ३५ प्रतिशत र भौतिक तर्फ ३० प्रतिशत रहेको जानकारी गराउनुभयो ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगको वित्तिय ६ र भौतिक १९ प्रतिशत, सूचना विभागको वित्तिय ८० र भौतिक ९० प्रतिशत, सञ्चार केन्द्रहरुको वित्तिय १०० र भौतिक ९१ प्रतिशत, मुद्रण विभागको वित्तिय २७ प्रतिशत, सूचना प्रविधि विभागको वित्तिय ५९ र भौतिक ६० प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

सोहीअनुसार हुलाक सेवा विभागको वित्तिय ८२ र भौतिक १०० प्रतिशत, जिल्ला हुलाक कार्यालयहरुको वित्तिय ९७ र भौतिक ४५ प्रतिशत, गोश्वरा हुलाक कार्यालयको वित्तिय ७१ र भौतिक ७२ प्रतिशत, हुलाक प्रशिक्षण केन्द्रको वित्तिय ५० र भौतिक ४९, केन्द्रीय धनादेश कार्यालयको वित्तिय ३७ र भौतिक ८०, नेपाल फिलाटेलिक व्यूरोको वित्तिय ३६ र भौतिक ३३ प्रतिशत प्रगति भएको गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्याङ्कअनुसार फिक्स्ड लाइन टेलीफोन संख्या ८ लाख ४६ हजार ३५९, मोबाइल फोन वितरण संख्या २ करोड ६८ लाख, ३ हजार ६८८, जम्मा टेलिफोन संख्या २ करोड ८४ लाख ९० हजार ६७४ र जम्मा इन्टरनेट प्रयोग कर्ता १ करोड १७ लाख ५६ हजार ५५२ (४४.३७ प्रतिशत) पुगेको गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सूचना विभागका निर्देशक लक्ष्मीविलास कोइराला, नेपाल टेलिभिजनका निर्देशक लक्ष्मण हुमागाई, अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालय मातहतका संगठन र विभागका सबै प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया