पारिवारिकभन्दा सामाजिक कामलाई ध्यान दिएको छुँ : वडा अध्यक्ष चौधरी


सुनसरीमा रहेको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको नगरपालिका हो । वडा नम्बर १ मा साबिक भासी गाबिसको पाँचवटा वडालाइ समायोजन गरिएको छ । झुम्का बजारमा वडा कार्यालय छ । मुख्य बजारको केही भाग, भादगाउ सिनवारी, सिनवारी, मोहनपुर, चियापुर, सैनिमैनी र डुमैरीया गाउँ रामधुनी १ मा पर्छ । यस वडामा प्रदेश सरकारको सहयोगमा आदिवासी जनजाति पार्क निर्मानाधिन अबस्थामा छ । स्थानीय दलित सुकुम्बासीका लागि दुई चरनमा आएको आवास कार्यक्रम १३ र ३० घर परिवारका लागि पक्की घर निर्माण गरिने प्रक्रियामा रहेको वडा अध्यक्ष महेशकुमार चौधरीको भनाई छ । प्रस्तुत छ यस वडामा भएका गतिविधि र विकासको कामलाई लक्षित गरी वडा अध्यक्ष चौधरीसँग पत्रकार धिरेन्द्रकुमार चौधरीले गरेको कुराकानी

यस वडाको बिकास निर्माणमा भएका प्रगतिबारे केही बताइ दिनुहुन्छ कि ?
यतिबेला बिश्वमै कोरोना महामारी फैलिएको अबस्था छ । यसलेगर्दा गत बर्षको पुर्वाधार बिकासका काम लगभग सकिसक्यो । भेला गोष्ठी गर्ने काम बन्द रहेकाले गत बर्षका सामाजिक बिकास क्षेत्र कार्यक्रमका लागि यस बर्ष तयारी गरिरहेका छौ । यो समयमा कोरोना भाइरसको संक्रमन बाट बचाउन वडाको प्रत्येक टोल र बिधालयमा बालबालिकालाई मास्क, सेनिटाइजर बितरण गरिरहेका छौं ।

वडा कार्यालयको प्राथमिकतामा कस्तो कार्यक्रम छ ?
स्थानीयको प्राथमिकतामा पुर्वाधार बिकास रहेको छ । बाटो बन्दा स्थानीयबासी खुशी हुन्छ्न । मेरो बिचारमा मानव बिकास मानिसका लागि महत्वपूर्ण पक्ष हो । यसका लागि हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौ । मानव बिकास भएपछि जो कोहिलाई बुझ्न् र जीवन निर्वाह गर्न सजिलो हुने भएकोले बिकास काम गर्न मद्दत पुग्छ ।

यस वडा कार्यालयको चालू बर्षको बजेट कति छ ?
रामधुनी नपा कार्यालयले चालू बर्षमा एक करोड ६२ लाख रुपैयाको बजेट सिलिङ दिएको छ ।

वडामा भएको उल्लेखनीय बिकासका काम के के छन् ?
यो वडामा रामधुनी नपाको मुख्य बजार झुम्का र ग्रामीण क्षेत्र समेत पर्दछ । साबिक भासी गाबिसको पाँच वटा वडा समायोजन भइ रामधुनी नपाको वडानम्बर १ बनेको हो । यहाँ बर्षाको समयमा हिलो र सुख्खायाममा धुलो हुने बाटोलाई हिलो र धुलो मुक्त बनायौं । वडाको केही ठाउँको बाटोमा इन्टरलक र कालोपत्रे पनि गरेका छौं ।

यहाँका लक्ष्यितबर्गका लागि के कस्तो कार्यक्रम छ ?
गत बर्ष सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बालबालिकाका लागि झोला बितरण गर्यौं । स्थानीय महिलाको क्षेत्रमा जनचेतनामूलक कार्यक्रम र सरसफाइ कार्यक्रम सम्पन्न भयो । सैनिमैनी जुराइ धामी टोललाई पुर्ण सरसफाइ घोषणा गरिसकेको अबस्था छ ।

यस वडामा सुकुम्बासी, गरिबको अबस्था कस्तो छ ?
साबिक भासी ३ हाल रामधुनी १ मा रहेकोे मोहनपुर र चियापुर गाउँमा दलितको बस्ती छ । त्यहाँ श्रमजीवी मजदुरको बसोबास छ । गत बर्ष आवाकका लागि पक्की घर कार्यक्रम अन्तर्गत दलितको हकमा १३ वटा पक्की घर र यस बर्ष तीस वटा पक्की घर निर्माण हुनेछ ।

वडामा युवाको बिकासका लागि के कस्तो कार्यक्रम तय गर्नुभएको छ ?
युवाको बिकासका लागि खेलकुद क्षेत्रबाट कार्यक्रम सन्चालनमा छ । फुटबल, भलिबल, ब्याडमिन्टन खेल सामाग्री सहयोग गरिरहेका छौ ।

बाल अधिकारको क्षेत्रमा कुन कुन कार्यक्रम संचालनमा छ ?
रामधुनी नपा नगरलाई नै बालमैत्री घोषणा गर्ने चरणमा छौं । यसका लागि वडा १ ले विभिन्न सुचक पूरा गरिसकेको छ । गत आ.ब. को मसान्तसम्म वडालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम थियो । लकडाउनले गर्दा हुन सकेन ।

रामधुनी नपा कृषिक्षेत्रको रुपमा चिनिन्छ , यहाँ कृषि क्षेत्र बिकासका लागि के कस्ता काम भएको छ ?
नगरको कृषि शाखासँग समन्वय गरी प्रत्येक बर्ष धानको बीउ, मल र तरकारीको बीउ बितरण गरिदै आएको छ । किसानलाई गोठ सुधार कार्यक्रमबाट सहयोग गरिरहेका छौं ।

वडाबासीहरु मुख्यतः कुन कुन काम लिएर आउने गरेका छन् ?
यहाँ प्रायः जग्गा किनबेचको सिफारिस, बैङकिङ प्रयोजनका लागि चारकिला प्रमाणित, नेपाली नागरिक्ताको सिफारिस लिन बढी आउँछन् । स्थानीयलाई समस्या पर्दा सल्लाह सुझाव लिन आउनेहरु पनि छन् ।

तपाई युवा जनप्रतिनिधि भएपछि आफुलाइ कस्तो अनुभव भइरहेको छ ?
जिम्मेवारी पाएपछि कर्तव्य निभाइरहेको छु । पन्छिन पनि मिल्दैन । युवामा हुने जोस जागर पुर्णरुपमा सामाजिक क्षेत्रमा निभाउने प्रयास गरिरहेको छु । कामको सिलसिलामा राती पनि फोन आउँछ, समस्या निराकरण गर्ने प्रयास गर्ने गरेको छुँ । घर परिवारमा दिने समय परीवारको इच्छा मारेर पनि जनसेवामा समर्पित छु ।

तपाईको प्रतिक्रिया