एमालेको उपनेतामा नेम्वाङ र प्रमुख सचेतकमा ढकाल


UML logo

काठमाडौं, पुस २१ गते । नेकपा (एमाले) ले पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको टुंगो लगाएको छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई पार्टीको उपनेता र सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशको पछिल्लो अवस्था र भएको प्रगतिका विषयमा समिक्षा समेत गरेको छ । अपरान्ह ४ बजेकालागि बोलाइएको बैठक अबेरगरी ५ बजे शुरुभएर ६ बजे सकिएको थियो । संसदीयदलको नेता चयन गरेको करिब दुई वर्षपछि पार्टीले उपनेताको टुंगो लगाएको हो ।

एमालेको संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । नेम्वाङ् सभामुखको जिम्मेवारीबाट बाहिरिनु भएपछि पार्टीले उहाँलाई यसअघि पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको थियो । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका अग्नीप्रसाद खरेल कानूनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएपछि उहाँको ठाउँमा ढकाललाई ल्याइएको हो ।

बैठकमा प्रधानमन्त्री तथा संसदीयदलका नेता केपी शर्मा ओलीले देशको पछिल्लो अवस्था र सरकारले गरेको कामका विषयमा व्रिफिङ् गर्नुभएको थियो । त्यस्तै, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँग भइरहेको वार्ता प्रक्रिया, त्यसमा भएको प्रगति र आवश्यक पहलको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतीय अघोषित नाकाबन्दी र मधेसमा जारी आन्दोलनले उद्योगधन्दा तहसनहस भएकाले देशको अर्थतन्त्रमा परेको नकारात्मक असर तथा आर्थिक स्थितिमा गरिएको पहलको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

बैठकमा सहभागी सांसद रञ्जुकुमारी झाका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रालय फुटाएर गरिएको प्रयासबारेमा बाहिर नकारात्मक टिप्पणी र आलोचना भएपनि सरकारको काम देशको उन्नति तथा प्रगति गर्ने विषयमा केन्द्रीत रहेको बताउनुभएको थियो । मन्त्रीहरुले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेर देश र जनताका लागि राम्रो काम गर्नसके आलोचना स्वतः अन्त्य हुने र त्यसकालागि आफू प्रयासरत रहेको उहाँले बताउनुभएको थियो ।

भारतीय अघोषित नाकाबन्दीको असर अन्य नाकाभन्दा वीरगञ्ज नाकामा बढी परेको र नाकाबन्दी खुलाउने विषयमा सरकारले प्रयास गरिरहेकाले चाँडै अवस्था सहज हुने विश्वास प्रधानमन्त्रीले सांसदहरुलाई दिलाउनुभएको थियो । मधेसीमोर्चा सम्बद्ध दलका नेताहरुसँग निरन्तर वार्ता भइरहेको र आन्दोलनरत पक्षको मागअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढेकाले मोर्चासँग चाँडै कुरा मिल्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

त्यस्तै, उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँगको वार्ता सकारात्मक दिशामा उन्मुख रहेकाले एक दुई दिनमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको थियो । सरकारले गठन गरेको कार्यदलका लागि मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुबाट तीनजनाको नाम सिफारिस भई आइसकेकाले कार्यदलले मधेसी मोर्चाको मागबारेमा मिहिन ढंगले छलफल गरी समस्याको समाधान गरिने मन्त्री रावलले बताउनुभएको उहाँलाई उदृत गर्दै सांसद रञ्जु झाले बताउनुभयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतीय अघोषित नाकाबन्दी र मधेसी मोर्चाका कार्यकर्ताको नाकामा गरेको धर्नाले देशको राजश्वमा ठूलो घाटा भइरहेकाले आर्थिक स्थितिमा समस्या पर्ने विषयमा धारणा राख्नुभएको थियो । तराई मधेसको उद्योगधन्दाहरु थप्पप्रायः भएको र इन्धनको अभावले अन्य सबै आर्थिक क्षेत्र प्रभावित भएकाले आर्थिक स्थिति सुधारमा सरकारले ठोस कदम चाल्नुपर्ने विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

मंगलबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने समय पाउनु भएन । लगत्तै मन्त्रीपरिषदको बैठक बस्ने भएपछि सांसदहरुले बोल्ने समय नपुग भएको सांसद झाले बताउनुभयो । सम्भवतः माघ ४ गते बस्ने अर्को संसदीयदलको बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राख्नुहुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया