दाजुभाइलाई आशीस दिने पर्व : सामाचकेवा

सन्तोषीकुमारी चौधरी

नेपालको पूर्वी तराईका थारु समुदायमा भाइबहिनीको प्रेमको प्रतीकको रुपमा मनाउने पर्व सामाचकेवा पर्व हो । यो पर्व कार्तिक शुक्लपक्षको द्वितिया तीथिदेखि वा तिहारलगत्तै प्रारम्भ हुन्छ । साँस्कृतिक पर्व सामाचकेवा थारु जनसमुदायमा परापूर्वकालदेखि नै मनाउँदै आएर प्रख्यात छ । सामाचकेवा पर्व एउटा वियोगान्त अलिखित गीति महाकाब्यको रुपमा स्थापित छ । सामाचकेवा पर्वमार्फत तात्कालीन समाजले वर्तमान समाजलाई सन्देश दिएको छ । यो पर्वले साँस्कृतिक मनोरञ्जन गीति कौतुहलका साथ प्रेमान्त, दुखान्त, वियोगान्त, पश्चाताप, विरहपूर्ण, शिक्षाप्रद ज्ञानमुलक साथै पूर्वजन्म र पुनर्मिलनको प्रेमपूर्ण विश्वास तथा सामाजिक इतिहास ब्यक्त गर्नमा सफल छ ।

सामा चकेवा पर्व अरु पर्वहरुभन्दा नितान्त बेग्लै तरिकाले मनाउने पर्व हो । यो पर्वको समयअबधी पनि लामो अर्थात् पन्ध्र दिनसम्मको हुन्छ । तिहारलगत्तै भाइटीकाको दिनदेखि वा कार्तिक शुक्लपक्ष द्वितिया तीथिदेखि पुर्णिमासम्म दिदीबहिनीहरुले दाजुभाइलाई प्रत्येक दिन आशीस दिदै, सामाचकेवा गीत भजनकृतन समुहमा गाउँदै झमटो नाँचदै हर्षाेल्लासका साथ सामुहिक रुपमा मनाउँछन् ।

सामाचकेवा पर्वमा विभिन्न ब्यक्तित्व झल्किने आकारहरु बनाउँछन् । तर ती आकारहरु कुनै स्पेषलिष्टद्वारा बनाइँदैनन् । कतै बाहिरबाट किनेर पनि ल्याउँदैनन् । दिदीबहीनी स्वयंले आ–आफ्नै ढंगले काँचो कमेरो माटोबाट साना चराको आकारमा सामाचकेवा तथा भिन्न–भिन्न ब्यक्तित्व झल्किने प्रतिमा विभिन्न आकारमा बनाउँछन् । एक परिवारमा एक सेट सामाचकेवा बनाएर सामाचकेवा पर्व सामुहिक रुपमा मनाउँछन् । परापूर्वकालमा राजदरबारमा (गरभा राजाको दरबारमा) घटेको घटनाबाट सामाचकेवा पर्व सुरुवात भएकाले त्यतिखेर दरबारमा खटीआएका ब्यक्ति पशु, प्राणी, पन्छी, सवारीका लागि हात्ती, घोडा; दरबार रेखदेखका लागि झाझी कुत्ता; मनोरञ्जनका लागि मनोरञ्जन टोली नटुवा, ढोलकिया र मृदंगिया, झाईल बजाईबला, विपातर न्याकजी भलाजी; दरबारमा पुजाकालागि फूल टिपेर ल्याइदिने माली लगायत विभिन्न पात्रहरु सामाचकेवा, लामो जुँगा भएको चुगला मोरहा, ढिररी मौगी (वष्र्यौनी बच्चा पाउने चुगलाको श्रीमती) वृन्दाबन, सतभैया, भमरा रंजित, तितिर आदी ब्यक्तित्व झल्किने साना आकारमा बनाउँछन् ।

परापूर्वकालमा गरभा राजाको दरबारमा घटेको घटनाबाट सामाचकेवा पर्व शुरुवात भएको पौराणिक कथा रहेको छ । गरभा राजाको विश्वासिलो भारदार चुगलाले राजकुमारी सामाको बारेमा नभएको कुरा राजासँग चुगली लगाइ दियो । यो कुरा साँचो हो भनी सत्यतथ्य नबुझि दरबारको इज्जतमा दाग लगायो भन्दै आवेशमा गरभा राजाले राजकूमारी सामा छोरीलाई तुरुन्त चरी बन्ने श्राप दिइ वनबास जान आदेश दिए । आज्ञाकारी राजकुमारी सामाचरी बनेर वनबास जान्छे । बुबाले दिएको श्रापले सामा दरबार छाडेर चरी बनेर वनबास गइसक्दा पनि गरभा राजाको रिस क्रोध शान्त भएको हुँदैन । सामालाई चरीको रुपमा पनि जंगलमा देख्न नपरोस् र जलेर खरानी होस् भनी त्यसैबेला जंगलमा भिषण डढेलो लगाइ दिए । त्यसैबखत सामाको भाइ (राजकुमार साम्ब) ले थाहा पाउनेबित्तिकै साथीभाइसहित सात भाइ मिलेर जंगलको भिषण डढेलो नियन्त्रण गरी सामा दिदीलाई बचाएको पौराणिक कथा छ । यही कथाको आधारमा सामा चकेवा पर्वमा वृन्दावन डढाउँदा दाजुभाइको नाम भनेर निभाउँछन् ।


वृन्दाबनमे आइग लागलौ कोइयोने बुताबै है
(दाइ भाइको नाम) दादा सातो भाइ हाथी घोडा चैढके आबै है
हाथमे झारी लोटा पानी वोहैसे बुताबै है

सामाचकेवा मुर्ति बनाएकै दिनदेखि दिदीबहिनीहरु दाजुभाइलाई आशीस दिइ झमटो नाच्दै मनोरञ्जन गर्दै यो पर्व मनाउँछन् । सामाचकेवाको अवधिभर प्रत्येक दिन, प्रत्येक किसिमका सामाचकेवा गीत गाउँदै, आशीस दिँदै आफ्ना दाजुभाइको सुस्वास्थ्य, निरोगी, दीर्घायु, उत्तरोत्तर प्रगति होस्, सुखी, सम्पन्न तथा अन्न, धनले पूर्ण होस् । जीवनभर माईती सबल सम्पन्न रहोस् भनी सामाचकेवा पर्व मनाउँछन् ।

लहठि बनिज गेलै (दाइ भाइको नाम) दादा हो ना
सेहा लहठि पिनहलकै मे (दिदी बैनीको नाम) बैहनी हो ना
जिवहु भैया जिवहु लाख वरिष हो ना

बाटेघाटे मिरिगा छामुर छुइयाँ करै हे
मारे लागल (दाइ भाइको नाम) दादा धनुस चर्हाये हे
आनहक मिरिगा करहक तिमन हे
निन्हे बैठल (दिदी बहिनीको नाम) बैहनी लसुनके फरन हे
चाखु चाखु (दाइ भाइको नाम) कैसन के सवाद हे
चाखु चाखु (दाइ भाइको नाम) लसुनके फरन हे
चाखे बैठल (दाइ भाइको नाम) दादा सवदगर तिमनके सवाद हे

कथि केरि घोरीया हे कथिके लागल हे लगामियाँ
सोना केरि घोरिया हे रुपाके लागल हे लगामियाँ
सेहा चढि जेतै (दाइ भाइको नाम) दर रे देवानियाँ
सोना केरी किया असिन सिनुर
सेहा पिन्हतौ (दाइ भाइको नाम) दादा तोरे बहु रे बहिनीयाँ

कथि केरि घोरीया हे कथिके लागल हे लगामियाँ
काठ केरी घोरीया हे जौर के लागल हे लगामियाँ
सेहा चढी जेतै चुगला मोरहा गुँह डबरा
माइट केरी किया छौरके सिनुर
सेहा पिन्हतौ चुगला मोरहा तोरे बहु रे बहिनियाँ

सामाचकेवा उत्सवमा प्रत्येक दिन सबैले आफ्नो सामाचकेवालाई माटोको डल्ला फुटाई खुवाउँछन् । समुहका सबैले एकैचोटी माटोको डल्ला खुवाउने गीत सबैले एकै स्वरमा गाउँछन् ।

साम–चके साम–चके आबिहे हौ आबिहे हौ
जोतला खेतमे बैठिहे हौ बैठिहे हौ
ढेक फोइर फोइर खाइहे हौ खाइहे हौ
सब रङ्ग पटिया बिछाबिहे हौ बिछाबिहे हौ
तै पटियामे के–के सुते के–के सुते
छोटे बढे लाधहैन सुते लाधहैन सुते
केहे ऽऽऽ सामा चकेवा ।

सामाको आदर्श चरित्रको प्रशंसा र दुष्चरित्र चुगलाको निन्दा तथा आदर्श समाजको स्थापनामा सामाचकेवा पर्वको महत्वपूर्ण मर्यादा छ । चुगला (कुरौटे) चरित्रहीन बदमासको कहिल्यै पनि भलो नहोस्, समाजमा चुगलाको विनाश होस् भनी चुगलालाई सराप्दै, असह्य गाली दिँदै, बलिरहेको दियोमा प्रत्येक दिन लामो जँुगा अलिअलि झुसीदिदै कुपात्र चुगलालाई सजाय दिन्छन् ।

अगरके काठी डगरके गुँह
घोईर घोइर देबौ चुगलाके मुह, चुगलाके मुह ।
एक मन मरुवामे दुई मन भुषी
चुगलाके मोछ डहैछै आपने खुसी, आपने खुसी ।

सामा चकेवा मुर्ति बनाएदेखि प्रत्येक दिन माटोको डल्ला फुटाइ ख्वाउछन् भने अन्तिम दिन सामाचकेवा मुर्तिहरुलाई पूजागरी कोसेली दिइ जलप्रवाह गर्छन् । जलप्रवाह गर्ने दिन समदौन गीत (बिछोड गीत) गाउँछन् । जलप्रवाह गर्ने बेलामा छोरीचेलीले जा हे सामा जा हे चकेवा, हमर भैयाके आशीक देने जाइहे, आनसाल फेरो आबिय हे भनी जलप्रवाह गरिदिन्छन् । जलप्रवाह गरेर फर्किने बेलामा लौटानी समदौन गीत गाउँदै फर्किन्छन् ।
घट्टेकुलो २९, काठमाडौं ।

तपाईको प्रतिक्रिया