वालकृष्ण समलाई सम्झदैं प्रज्ञा प्रतिष्ठानले मनायो ११६ औं जन्मजयन्ती


काठमाडौं, माघ २४ गते । नेपाली साहित्य जगत्का विराट प्रतिभा बालकृष्ण समको ११६ औं जन्मजयन्ति बुधबार मनाइएको छ । स्वर्गीय समलाई नेपाली साहित्यका बहुआयामिक व्यक्तित्वकोरुपमा चर्चा गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार उहाँको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । समद्वारा २०१५ सालमा लिखित ‘चिसो चुल्हो’ महाकाव्यको समाज परिवर्तनमा भूमिका विषयक गोष्ठी गरी साहित्यकारहरुले समलाई सम्झेका हुन् ।

प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले समका रचनाहरु कालजयी भएकाले जतिबेला पनि सान्दर्भिक लाग्नेगरेको चर्चा गर्नुभयो । नेपाली साहित्यजगतका बहुआयामिक व्यक्तित्व समको रचना र सिर्जनाले समाज रुपान्तरणमा उत्प्रेरित गर्नेगरेको उहाँले तर्क गर्नुभयो । स्वर्गीय समले नाटक तथा अन्य विधामार्फत नेपाली समाजमा विद्यमान छुवाछूतको अन्त्यकालागि समाजलाई उत्प्रेरित गरेको कुलपति उप्रेतीले चर्चा    गर्नुभयो ।

त्यस्तै, शताब्दीपुरुष सत्यमोहन जोशीले बालकृष्ण समले नाटक र अन्य विधामार्फत नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । सम लामो समय प्रतिष्ठानमा रहेर काम गर्दासमेत आफ्नो नाटक सो समयमा मञ्चन नगर्नुभएको उहाँले स्मरण गर्नुभयो । नेपाली साहित्यको श्रीबृद्धि र उत्थानमा समको योगदान सधैं स्मरणीय रहने उहाँले तर्क गर्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव डा. जिवेन्द्रदेव गिरी, नेपाल शिक्षा परिषदकी सदस्य तथा साहित्यकार रमा शर्माले वालकृष्ण समले नेपाली साहित्यमा पु¥याउनुभएको योगदान सदैव मननयोग्य रहने बताउनु भयो । सो अवसरमा डा. देवीप्रसाद सुवेदीले नेपालको सामाजिक रुपान्तरणमा चिसो चुल्हो महाकाव्यले पु¥याएको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वि.सं. १९५९ मा जन्मनुभएका समको २०३८ सालमा निधन भएको थियो । समले नाटक, कविता काव्य, निवन्ध, आत्मजीवनी, कथा आदि विधामा शसक्तरुपमा कलम चलाउनुभएको छ । कार्यक्रममा साहित्यकारले समद्वारा रचित कविता तथा अन्य फुटकर रचनाहरु वाचन गर्नुभएको थियो ।

त्यस्तै, सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले बुधबार यहाँ विचार गोष्ठीको आयोजना गरेको छ । विभागकी प्रमुख डा. उषा ठाकुरको सभातित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. अभि सुवेदी, शताब्दीपुरुष सत्यमोहन जोशी, कुलपति डा. गंगाप्रसाद उप्रेती, अमेरिकन साहित्यकार विल्ला स्नेवर्ग लगायतले अनुवाद साहित्यको महत्व र गरिमाबारे चर्चा गर्नुभएको थियो ।

अनुवाद साहित्यविना कुनै पनि मुलुकको भाषा, कला, साहित्य र सूचनासमेत आदानप्रदान हुन नसक्नेभन्दै उहाँहरुले अनुवाद साहित्यले नै विश्वभरको साहित्य, भाषा र कलाबारे जानकारी सम्भव रहेको धारणा राख्नुभयो । कार्यक्रममा महेश पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया