वार्ताका लागि राजपा नेपालको शर्तः फोरम नेपालले सरकार छाड्नुपर्छ


काठमाडौं, मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालले मुद्दा र विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्न नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको भोलिपल्टै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता गर्न फोरम नेपालले सरकार छाड्नुपर्ने शर्त अघि सारेको छ ।

वार्ता समिति गठनलाई राजपाले स्वागत गरे पनि सरकार नछाड्दासम्म वार्ताले सार्थकरुप नलिने भनाई राजपाको छ । राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् ।

फोरम नेपालले वार्ताका लागि समिति गठन गर्नु स्वागतयोग्य कुरा हो तर फोरम नेपाल सरकारमा रहुन्जेल न वार्ता हुन्छ न एकीकरण हुन्छ, पार्टी एकीकरणका लागि फोरम नेपालले पहिला सरकार छाड्नुपर्छ अनि वार्ता प्रकृया अगाडि बढ्छ संयोजक महतोले भनेका छन् ।

महतोले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँगको भेटमा समेत स्पष्ट रुपमा यो सर्त राखेका छन् । पार्टी एकीकरणकै विषयमा दुई नेताबीच केही दिन पहिले पनि वार्ता भएको बताइएको छ ।

जवाफमा अध्यक्ष यादवले तत्काल सरकारबाट फिर्ता हुने विषयमा पार्टीले नसोचेको जवाफ दिएका थिए । सरकारले मधेशको पक्षमा काम गरेन भने त्यहाँ बसिरहने छैनौँ, अवश्य फर्किन्छौं बरु तपाईँहरु पनि सरकारमा आउनुस्,’ मन्त्री यादवले संयोजक महतोलाई भनेका थिए ।

फोरमको शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो । वार्ता समितिको सदस्यमा राजनीतिक समितिका सदस्यमा पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, महसचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहम्मद इस्तियाक राइन, राजनीतिक समिति सदस्य महेन्द्र थापामगर रहेका छन् ।

तपाईको प्रतिक्रिया