काठमाडौं, पुस २० गते । काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले पुस ३० देखि माघ १ गतेसम्म दुई दिन मनाउने माघी महोत्सव २०७५ को उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको छ ।
थारु कल्याणकारिणीसभा (थाकस) भित्र प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने या नबनाउने विषयमा लामो बहसपछि अन्ततः सरकारलाई थारुको माग मुद्दाबारे जानकारी गराउने उद्देश्यसाथ प्रमुख अतिथि प्रधानमन्त्रीलाई बनाउने निस्कर्षमा थाकस पुगेको हो । थाकसका पदाधिकारीहरुको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर प्रमुख अतिथिको निम्ता गरेको छ । सो निम्तालाई प्रधानमन्त्रीले स्वीकार गर्नुभएको थारु युवा सभाका अध्यक्ष कानूनलाल चौधरीले बताउनुभयो ।
महोत्सव आयोजना गरेबापत हरेक साल सरकारले केही रकम थाकसलाई उपलब्ध गराउँदै आएको छ । तर गतवर्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले १५ लाख रुपियाँ दिने घोषणा गरेपनि थाकसले महोत्सव गरे बापत एक रुपियाँ पनि प्राप्त गर्न सकेन ।
यस वर्ष प्रधानमन्त्री ओलीले आफ्नो सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “हामी जे बोल्छौं, त्यो गरेर देखाउँछौं, कांग्रेस नेतृत्वको सरकारजस्तो हामी गर्दैनौं” प्रधानमन्त्री ओलीले भेटको क्रममा थारु प्रतिनिधिहरुसँग भन्नुभएको थियो । प्रधानमन्त्री ओलीले काम व्यस्तताका कारण महोत्सवमा आउने तर एक घण्टाभन्दा बढी बस्न नसकिने बताउनुभएको छ ।
थाकस केन्द्रीय कार्य समितिको आयोजनामा हुन लागेको माघी महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । यसअघिको दुई वर्ष उपत्यकामा दुई ठाउँमा माघी महोत्सव मनाएका थारु समुदायले यस वर्षको महोत्सव एकै ठाउँमा गर्ने तयारी गरेका छन् । यसअघिसम्म थाकस उपत्यका समितिको नेतृत्वमा महोत्सव आयोजना हुँदैआएको थियो ।
महोत्सवमार्फत थारु समुदायको हस्तकला, भाषा, संस्कृतिक र संस्कारको प्रचार एवं संम्बद्र्धनसँगै थारु समुदायको अधिकारको मागसमेत प्रवाह गर्ने तयारी थाकसको छ ।
महोत्सवमा थारु समुदायका विभिन्न नृत्य, झाँकी, हस्तकलाका सामान तथा पहिचान र इतिहास झल्किने पुस्तक, पोष्टा र पत्रपत्रिकाकासमेत प्रदर्शन गरिने आयोजकले बताएको छ । महोत्सवमा थारु समुदायको प्रमुख खानाका परिकार ढिक्री, बगिया, अनदीको भात, घोङ्घी, गंगटा, परेवा, सुंगर, बंगुृरका परिकारका स्टलहरु राखिने महामन्त्री चौधरीले बताउनुभयो ।