अज्ञात चौधरीको टुकीः जीवनको साहारा

पुस्तक समिक्षा


लेखन साहित्यमा मनोज ‘अज्ञात’ चौधरी भर्खर उदाउन लागेको साहित्यिक नाम हो । टुकी उपन्यास लिएर अज्ञात लेखक बजारमा पदार्पण गर्नुभएको छ । पेशाले रेडियो पत्रकारिता गर्ने चितवनको शुक्रनगरमा बसोबास गर्ने लेखक तथा उपन्यासकार अज्ञातको यो पहिलो कृति हो । नेपाली बुक्स पब्लिकेशन, बागबजार काठमाडौंले प्रकाशन गरेको कृति टुकीले मुख्यगरी चितवनमा बासोबास गर्ने थारु समुदायको विषयवस्तुलाई उपन्यासमार्फत् उजागर गर्ने प्रयास गरेको छ । चितवन थारु समुदायको रैथाने भूमिकोरुपमा परिचित छ । तिनै आदिबासी थारुको जनजीवन र जीवनभोगाइलाई उपन्यासमार्फत लेखक अज्ञातले चर्चा गर्ने प्रयास गर्नुभएको छ । उपन्यासमा विभिन्न पात्रलाई केन्द्रमा राखेर लेखकले थारु चेलीको जीवन भोगाई तथा थारु सँस्कृति तथा संस्कारलाई कृतिमार्फत खोटल्नु भएको छ ।

लेखक अज्ञातले टुकीलाई जीवनको दुःखको सहाराको रुपमा व्याख्या गर्नुभएको छ । मानिस एक्लो हुँदा, चरम दुःख पीडाबाट गुज्रिदा मान्छेको एक्लो सहारा घरमा त्यही ढिपढिपे बल्ने ‘टुकी’ हुन्छ । राती अबेर रातीसम्म उनै टुकीको साहारा लिएर मनमा अनेक कुराहरुको समिक्षा गर्ने, दुःख पीडाबाट छुटकारा पाउने उपाय पर्गेल्ने माध्यमको रुपमा टुकीलाई चित्रित गरिएको छ । टुकीले प्रकाश दिन्छ । तिनै प्रकाशले जीवनमा उर्जा प्रदान गर्छ । दुःखी जीवनसँग लड्ने र दुःखबाट छुटकारा पाउने उपायको बाटो पहिल्याउँछ भन्ने विषयलाई लेखकले उठान गरेका छन् ।

उपन्यासमा चर्चा गरिएको यो अनुच्छेद हेरौं – “कसैलाई दुःख, आपत् पर्दा सम्झाई बुझाई गर्ने, सहारा बन्ने म आफै सहारा विहिन र लाचार भएको महुशस गर्न थालेँ । एकान्तमा रुन थालेँ । उही सिरानीलाई थाहा थियो पीडा, जुन हरेक रात आँसुले भिज्थ्यो । दुःख पीडामा पहिले टुकीको साथ पाउने गरेकी थिएँ । पछि सिरानीले दिइरह्यो ।” उपन्यासका एक पात्र आमोईको प्रसङ्गलाई यो अनुच्छेदमा चर्चा गरिएको छ ।
उपन्यासमा फुलिया, करुणा, कान्छी, आमोई, जमिन्दारजस्ता पात्रहरु केन्द्रमा छन् । तिनैको वरिपरि उपन्यास शुरुभई अन्त्य भएको छ । कृतिमार्फत लेखकले थारु समुदायका अनेक विकृति र विसंगतिको प्रसङ्ग उठाउँदै समाधानखोज्ने सन्देश पस्कनुभएको छ । उपन्यासले थारु समुदायको एक प्रमुख पर्व जितियाको विषय पनि उठान गरेको छ । घर खेत, गोठाले जीवन, सानैमा विहेवारी गर्ने प्रचलनलाई समयाअनुकुल रुपान्तरणको सन्देश पनि दिएको छ । जमिन्दारी पुरानो प्रथाले समाजमा गरेको शोषणलाई पनि उपन्यासमा उठाइएको छ । सानोमा अरुको घरमा कमलरी र श्रममजदुर पछि गएर राजनीतिक दलका नेतासम्म स्थापित भएको फुलियाको कथालाई उपन्यासमा चर्चा गरिएको छ ।

उपन्यासमार्फत लेखक अज्ञातले थारु जनजीवनका विविध पक्षलाई औल्याउन खोज्नुभएको छ । तथापि उपन्यासमा वास्तविक घटनाको वर्णन गर्दागर्दै कृतिम र काल्पनिक विषयवस्तुतिर बहकिएको अनुभूति गराउँछ । उसो त उपन्यास विधा नै बढी काल्पनिक विधा हो । लेखकले थारु जनजीवनको विषय भने पनि त्यसमा दर्शाइएका पात्र र तिनको गतिविधि काल्पनिक छन् । थारु गाउँ गैरीटोलको चर्चा कृतिमा गरिएको छ । तर गाउँको त्यो नाम पनि थारु गाउँसँग त्यति मेल खाँदैन । थारु गाउँको नाम परम्परागत रुपमा राखिने प्रचलन थियो र छ । पात्रहरुको नाम पनि त्यहीअनुरुप राखिन्छ । उसो त टुकीलाई पश्चिमा थारु भाषामा ‘दिया’ भनिन्छ । जसको माध्यमबाटै घर उज्यालो पारिन्छ । गाउँघरमा विजुली बत्ति हुँदैन । त्यही टुकीको सहाराले घर उज्यालो हुन्छ । उपन्यासकार अज्ञातले उपन्यासको उठान जसरी गर्नुभएको छ त्यसको वैठान स्वाभाविक लाग्दैन । जिज्ञासामै कृतिको अन्त्य गरिएको छ । अर्थात् पाठकलाई जिज्ञासामै विट मार्न बाध्य पारिएको छ । कृतिमा केही भाषागत त्रुटी देखिन्छ । आगामी कृतिमा लेखकले ध्यान पु¥याउनुपर्ने छ । केही परम्परागत शब्दहरु जस्तै– लडिया (गाडा), तेलपेल्ने कोलको प्रसङ्ग कृतिमा छ । यद्यपि थारुहरुले लडियालाई नदीकोरुपमा बुझ्छन् । गाडालाई लह्रिया उच्चारण गर्छन् । त्यस्तै, पहिले तोरी पेल्ने मेशिनको विकास भएको थिएन । गाउँघरमा काठकै कोल बनाएर तेल निकाल्ने गरिन्थ्यो । बोलीचालीको भाषामा तेलपेल्ने कोल भनिए पनि खासमा त्यो तोरी पेल्ने कोल हो । तोरी पेलेर तेल निस्किने हो, तेल पेलेर त के नै निस्कन्छ र ! लेखकले यस्ता शब्दमा ध्यान दिए राम्रो हुन्थ्यो । यद्यपि कृति पठनीय र संग्रहणीय छ । लेखकले कृतिमार्फत विभिन्न सन्देश प्रवाह गर्न सफल छन् । लेखकको आगामी कृतिको शुभकामना ।

कृतिः टुकी
विधाः उपन्यास ।
लेखकः मनोज अज्ञात चौधरी
प्रकाशनः २०७५ असार ।
पृष्ठः ११९
प्रकाशकः नेपाली बुक्स पब्लिकेशन, बागबजार काठमाडौं ।

 

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया