२०७७ वैशाख ३ गतेसम्म लम्बियो लकडाउन, कोरोनाले जनजीवन त्रसित


काठमाडौं, चैत २४ गते । सरकारले कोरोना विरुद्धको लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले २०७७ बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि यो दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमित संख्या बढ्दै गएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गते राती १२ बजेसम्म थपिएको थियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा समेत भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा रोक लगाउने निर्णय गरेको थियो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको समयअवधि थप गर्न सिफारिस गरेको थियो ।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। कोरोना भाइरसका कारण जनजीवन त्रसित बनेको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट बच्न उत्तम विकल्पकोरुपमा लकडाउनलाई हेरिएको छ ।

तपाईको प्रतिक्रिया