हमार पहुरा डट कम
काठमाडौं, वैशाख २४ गते । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा थप १६ सदस्य मनोनित गरेको छ । मन्त्रिपरिषदको वैशाख १४ गते बसेको बैठकले प्रतिष्ठानमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा १४ जना महिला र दुई पुरुष छन् ।
मनोनित हुने सदस्यहरुमा प्रत्येक प्रदेशबाट दुईजना छन् । उद्योगी, व्यवसायीको तर्फबाट मनोनित दुईजना छन् । उहाँहरुको कार्यकाल चार वर्षको तोकिएको छ ।
मनोनित हुनेमा प्रदेश १ बाट जुनिता राई र रोशनी मेचे हुनुहुन्छ । त्यस्तै, प्रदेश २ बाट बुद्धकुमारी लामा र बेदकुमारी मण्डल, बागमती प्रदेशबाट छिरिङ माया लामा र लेन्जुम शेर्पेनी हुनुहुन्छ । गण्डकी प्रदेशबाट बसुन्धरा घर्ती (भुजेल) र टसी गुरुङ, प्रदेश ५ बाट हिरुसरा राना र लिला थापा बराल हुनुहुन्छ ।
त्यसैगरी, कर्णाली प्रदेशबाट देउकली थापामगर र बिमला गुरुङ मनोनित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट कुस्मा रानाथारु र रुपा सोसी चौधरी हुनुहुन्छ । उद्योगी व्यवसायीको तर्फबाट देवराज राई (उदयपुर) र नारायण सुनुवार (सिन्धुली) मनोनित हुनुभएको प्रतिष्ठानले जनाएको छ ।