हमार पहुरा डट कम
काठमाडौं, वैशाख २८ गते । नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा भारतले निर्माण गरेको सडकमार्गको थरुहट थारुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ ।
मोर्चाका संयोजक लक्ष्मण थारुले आइतबार विज्ञप्ती जारी गर्दै सो कदमको विरोध गर्नुभएको हो । विश्व नै कोरोना भाइरसले लकडाउनको अवस्थामा रहेका बेला भारतले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय सीमा सन्धी, सम्झौता र मूल्य मान्यता विपरित नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नु गलत रहेको मोर्चाले ठहर गरेको छ ।
मोर्चाले विज्ञप्तीमा भनेको छ, “नेपालको सहमती बिना नेपाली भूभाग प्रयोग गरी सडक निर्माण गर्न भारत र चीन सहमत हुनु अत्यन्तै निन्दनीय कार्य हो । यस किसिमको सीमा अतिक्रमण एवं हस्तक्षेपप्रति मोर्चा गम्भिर खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ ।”
नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वतन्त्रता एवं सार्वभौमिकता उपर नाङ्गो एवम् ठाडो हेपाहा हस्तक्षेप हो भन्दै मोर्चाले तत्काल कुटनीतिक पहल गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली भूमिमा कसैले आफ्नो स्वार्थको परेड खेल्छ भने हामीलाई किमार्थ स्वीकार्य हुन सक्दैन । न त स्वतन्त्र नेपाल कसैको गुलाम बन्न सक्छ । यसर्थ नेपाली भूमिमाथि सीमा अतिक्रमणको ठाडो हस्तक्षेप अविलम्ब बन्द गर्न आग्रह गर्न चाहन्छौं विज्ञप्तीमा उल्लेख छ ।