लिम्पियाधुरासहितको हाम्रो भूमि फिर्ता लिएर छाड्छौंः प्रधानमन्त्री ओली


हमार पहुरा डट कम
काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली भूमिलाई कुटनीतिक वार्ताद्वारा फिर्ता लिएर छाड्ने दृढता प्रकट गर्नुभएको छ । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम २०७७÷७८ मा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मंगलबार त्यस्तो बताउनुभयो ।

“कालापानी नेपाली भूमि विवास्पद भूमि होइन, हाम्रो भूमि हो, कुटनीतिक माध्यमबाटै फिर्ता लिन्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो । वर्तमान सरकार कसैको आशीर्वादबाट नबनेको बल्की आफ्नै बलले बनेकोहो भन्दै उहाँले कसैसँग डर नभएको बताउनुभयो ।

२०१८ सालसम्म नेपालले सो भूमिको तिरो र राजस्व उठाउँदै आएको थियो तर पछि भारतले सीमा क्षेत्रमा सेना राखेपछि तिरो उठाउने काम बन्द भएको प्रसंग उल्लेख गर्दै उहाँले नेपाली भूमिलाई विवास्पद हुन नदिइने बताउनुभयो । सरकारको सो कदममा नेपाली जनताको पूर्ण साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघिको सरकारले त्यस विषयमा कुरा उठाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले हिम्मत गरेर जेठ ५ गते सोमबार नयाँ नक्सा जारी गरेको बताउनुभयो । नक्सामात्र जारी गर्ने होइन, भूमि फिर्ता लिनकै लागि नयाँ नक्सा बनेको हो उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा नेपालमा उत्पादित विजुली बाहिर देशमा विक्री गर्नकालागि विद्युतीय ट्रान्समिसन लाइन निर्माणको प्रस्ताव नीति तथा कार्यक्रममा आएको बताउँदै उहाँले एमसीसी पारित गर्नकालागि नभएको उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया