प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलीफोन वार्ता

आपूर्ति अवस्था सहज गर्नुस्ः ओली, अवरोध गरेका छैनौंः भारतीय प्रधानमन्त्री मोदी


OliModi

काठमाडौं, पुस १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विहिबार विहान करिब २० मिनेट टेलीफोन वार्ता भएको छ । नेपालले भोग्दैआएको विद्यमान समस्यामा टेलीफोन वार्ता केन्द्रीत रहेको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

वार्ताको शुरुवातमै प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँवर्ष सन् २०१६ को उपलक्ष्यमा भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गर्नुभएको उहाँको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएपछि उहाँको समकक्षी मोदीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले विहान १०ः३५ बजे टेलीफोन गर्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भारत सरकारले स्वागत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल र भारतको सम्बन्ध ऐतिहासिक कालदेखि रहेकाले त्यसलाई कायमै राख्नुपर्नेमा दुवै प्रधानमन्त्रीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार दाहालकाअनुसार प्रधानमन्त्री ओलीले भारतसँग नेपालको सम्बन्ध सकारात्मक बनाउन चाहेको टेलीफोनमा जानकारी गराउनुभएको थियो । “मधेसको आन्दोलन र नेपालमा परेको इन्धन आपूर्तिको समस्याको विषयमा प्रधानमन्त्रीले गम्भीरतापूर्वक भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ” प्रेस सल्लाहकार दाहालले प्रधानमन्त्री ओलीलाई उदृतगर्दै गोरखापत्रलाई जानकारी गराउनुभयो ।

वीरगञ्जको रक्सौल नाकाको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएपछि जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आपूर्ति व्यवस्था सहज होस् भन्नेमै आफू सदैव चाहेको बताउनुभएको थियो । भारतीय पक्षबाट कुनै रोकटोक नभएको बल्की मधेसी मोर्चाको आन्दोलनले सीमा नाकामा अवरोध भएको मोदीले बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले रक्सौल नाकाको तुलनामा अन्य नाका सहज भएको र मधेसवादी दलका नेता र कार्यकर्ताहरु नाकाकेन्द्रीत आन्दोलन र प्रदर्शन जारी राखेकाले पनि केही समस्या भइरहेको जानकारी मोदीलाई गराउनभुएको थियो ।

कुराकानीको अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा औषधिसमेत अभाव भइरहेको र आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई समेत एयरलिफ्टबाट भएपनि औषधि आपूर्तिमा स्मरण गराएको जानकारी मोदीलाई गराउनुभएको थियो । टेलीफोनको क्रममा प्रधानमन्त्री ओलीले भारतभ्रमणका लागि भारत सरकारले पठाएको निमन्त्रणालाई स्वीकार गर्नुभएको र परिस्थितिलाई सहज बनाएर भारत भ्रमणगर्ने प्रतिवद्धता जनाउनुभएको उहाँको प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँवर्ष सन् २०१६ को अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको    छ ।
“नयाँवर्षले हामी सबै नेपालीबीचको हार्दिकता र एकतालाई अझ बलियो बनाउँदै संविधानले प्रत्याभूत गरेका अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न प्रेरणा प्रदान गरोस्” प्रधानमन्त्री ओलीले कामना गर्नुभएको छ ।

“अहिले देखिएको जटिलता र समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बयाउन नयाँवर्ष सन् २०१६ को उपलक्ष्यमा म सबैमा हार्दिक आव्हान गर्दछु” शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया