छ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ खाए

देश र जनतामा समर्पित भएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन


SAM_2459
काठमाडौं, पुस १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले थप छवटा राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार साँझ प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

नवनियुक्त राज्यमन्त्रहरुमा मञ्जुकुमारी चौधरी शहरी विकास, दिनेशचन्द्र यादव खानेपानी तथा सरसफाई, दामोदर भण्डारी अर्थ, बलबहादुर महत संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन, नरदेवी पुनमगर पशु विकास र दिपनारायण साह शान्ति तथा पुनरनिर्माण मन्त्रालयका लागि प्रधानमन्त्री ओलीले शपथग्रहण गराउँदै उहाँहरुलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै इमान्दारिताकासाथ पाएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । मन्त्रिमण्डलको आकार अलिकति ठूलो भएकोमा टिकाटिप्पणी भएपनि नकारात्मक ढंगले कसैले लिन नहुने उहाँले सो अवसरमा बताउनुभयो ।

“हामीले सरकारको हैसियतमा जनतालाई पु¥याउनुपर्ने सेवा सुविधामा ध्यान दिनुपर्छ, अहिलेको अवस्थामा सामान्यभन्दा फरक काम गरेर देखाउनु छ” भन्नुहुँदै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पारदर्शी, बफादारिताकासाथ काम गर्न निर्देश गर्नुभयो ।

“संसारमा जो स्वच्छ, पारदर्शी र निष्ठाकासाथ काम गरेको छ त्यही सफल भएर अगाडि बढेको छ” भन्नुहुँदै उहाँले राजनीति आयआर्जनको माध्यम नभएर देश र जनताको सेवा र कल्याणमा समर्पित हुनुपर्ने जिम्मेवारी भएकाले राज्यमन्त्रीहरुलाई सोहीअनुसार काम गर्न निर्देश गर्नुभयो ।

“गान्धी, आइन्स्टाइन, नेल्सन मण्डेला, मार्टिन लुथरकिंग, पुष्पलाल, बिपी, मदन भण्डारीहरु पैसा कमाएर, धन कमाएर ठूला हुनुभएको होइन, देश र जनताको काम गरेर ठूलो हुनुभयो” उदाहरण दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजनीतिमा धनले होइन, निष्ठाकासाथ देश र जनताका लागि क्रियाशील भएर ठूलो हुन सकिन्छ ।”

कानूनभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कानूनले देखेमा भेटेमा मात्र कारवाही गर्छ, हामी आत्मनियन्त्रित, आत्मअनुशासित र आफ्नै इमानले निर्देशित हुनुपर्छ ।” खास परिस्थितिमा यो सरकार बनेकाले खास ढंगले काम गर्नुछ भन्नुहुँदै प्रधानमन्त्री ओलीले आलोचना र टिप्पणीले झन काम गर्नमा सजग र सतर्क गराउने हुनाले नकारात्मक ढंगले लिन नहुने बताउनुभयो ।

कामप्रति इमान्दारिता र निष्ठापन भएमा बाहिर जति आलोचना भएपनि फरक नपर्ने भन्नुहुँदै उहाँले नवनियुक्त राज्यमन्त्रीहरुलाई मन्त्रालयमा मन्त्रीहरुको मातहत र समन्वयमा रहेर इमान्दारिताकासाथ काम गर्न निर्देश गर्नुभयो ।

SAM_2472

नवनियुक्त शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी

नवनियुक्त राज्यमन्त्रीहरु सबै नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुन्छ । राज्यमन्त्रीहरुमा प्रत्यक्षतर्फबाट दिपनारायण साह महोत्तरी क्षेत्र नं. ५ बाट, दिनेशचन्द्र यादव बाँके क्षेत्र नं २ बाट, मञ्जुकुमारी चौधरी उदयपुर क्षेत्र नं. २ र दामोदर भण्डारी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको हो । समानुपातिकमा नरदेवी पुनमगर म्याग्दी, बलबहादुर महत जुम्ला र समानुपातिक सांसद हुनुहुन्छ ।
शुक्रबार शपथ खानुभएका राज्यमन्त्रीहरुको नियुक्ती गत विहिबार नै भइसकेको थियो । पार्टीभित्रको आन्तरिक विवाद र व्यवस्थापनको समस्याले शपथमा ढिलाई भएको थियो ।

तपाईको प्रतिक्रिया