पर्यटक पर्खदै माघी होमस्टे थारु गाउँ, न्यून शुल्कमा अर्गानिक खानाको स्वाद


गीता चौधरी
धनगढी, वैशाख ११ गते । कैलालीको सुख्खड बजार नजिक रहेको माघी होमस्टे थारु गाउँ पर्यटक स्वागत गर्न व्यग्र प्रतिक्षामा छ । थारु गाउँघरमै उत्पादित अर्गानिक खानेकुरा न्यून शुल्कसहित थारु स्वाद प्राप्त गर्न सकिने होमस्टे सञ्चालकको भनाई छ ।

धनगढीबजारदेखि करिब ५३ किलोमिटर, कर्णाली चिसापानीदेखि ३६ किलोमिटर र सुख्खड बजारदेखि ६ किलोमिटर दूरीमा रहेको थारु होमस्टे माघी गाउँमा १६ घरमा होमस्टे सञ्चालनमा छ । हरेक घरमा दुई कोठा र चार वेडको व्यवस्था रहेको होमस्टेले एक रातमा ६४ जनालाई आश्रय दिनसक्ने व्यवस्था रहेको होमस्टे सञ्चालक समितिका सचिव महेश चौधरीले जानकारी दिनुभयो ।

होमस्टेमा आकर्षण र पाहुना स्वागतका लागि थारु सांस्कृतिक कार्यक्रम देखाउने व्यवस्था रहेको सचिव चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार थारु झुम्रा, सखिया र लठ्ठी नाचको व्यवस्था रहेको छ । थारु घरमा होमस्टे सञ्चालन रहेकाले थारु खेतबारीमा उत्पादित अर्गानिक तरकारी र खाद्यान्नको स्वाद लिन पाइन्छ । होमस्टेमा आउने पाहुनाका लागि विशुद्ध गाउँमै उत्पादित खाद्यान्न सागम्री र मासुजन्य वस्तुको उत्पादन पर्याप्त रहेको होमस्टे सञ्चालकले बताएका छन् ।

वि.सं. २०७१ देखि शूरुभएको होमस्टेमा आउने पाहुनालाई प्रति कोठा शुल्क ४ सय तय गरिएको छ । त्यसमा दुई बेडको व्यवस्था छ । त्यस्तै खाना सादा १५० र मासुखाना २०० देखि २५० सम्म शुल्क निर्धारण गरिएको सचिव चौधरीले हमार पहुरा डट कमलाई जानकारी दिनुभयो ।

चुरै पहाडको काखमै रहेको सो होमस्टेमा आउने पर्यटकलाई छुट्टै आनन्द र रमाइलो अनुभूति हुनेगरेको सचिव चौधरीले सुनाउनुभयो ।

चारैतिर प्राकृतिक वनजङ्गलले भरिभराउ होमस्टेदेखि घोडाघोडी ताल जम्मा ३ किमी दूरीमा छ । घोडाघोडी नगरपालिका वडा नं. ४ मा अवस्थित माघी थारु गाउँ होमस्टेको उत्तर र पूर्वमा गैंडाखेरा गाउँ, पश्चिममा रामपुर र दक्षिणमा सीमथरी गाउँ अवस्थित छ । चुरै पहाडको काखमै रहेको सो होमस्टेमा आउने पर्यटकलाई छुट्टै आनन्द र रमाइलो अनुभूति हुनेगरेको सचिव चौधरीले सुनाउनुभयो ।

तारागाउँ विकास समितिले करिब चार लाख रुपियाँमा होमस्टे प्रवेश द्वारमा पक्की गेट निर्माण गरिदिएको छ । होमस्टेमा प्रायः अनुसन्धानकर्ता, अवलोकनकर्ता र आन्तरिक एवम् बाह्य पर्यटक आउने गरेको सचिव चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार मासिक १ सयदेखि २ सय सम्म पर्यटक होमस्टेमा आउने गरेको उहाँले बताउनुभयो ।

विजुलीबत्ती, खानेपानी इन्टरनेट सुविधा रहेको होमस्टेसम्म पुग्ने बाटो ग्राभेल रहेपनि बाटो फराकिलो रहेको छ । महेन्द्र राजमार्गबाट करिब दुई किलोमिटर भित्र पर्ने होमस्टेमा तालिम, प्रशिक्षण सञ्चालनका लागि सुविधा सम्पन्न तालिम कक्षको समेत व्यवस्था रहेको सचिव चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया