स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न पत्रकार महासंघको अपिल


हमार पहुरा डट कम
काठमाडौं, माघ २० गते । नेपाल पत्रकार महासंघले लामो समयदेखि महासंघको सदस्यता कायम रहेको तर पत्रकारिता क्षेत्रमा सक्रियता नरहेकाहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्यागको आग्रह गरेको छ । महासंघको गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले शुद्धिकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सो साधारणसभाले महासचिव रोशन पुरीको संयोजकत्वमा पूर्व महासचिव उजीर मगर र पूर्व सचिव रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको शुद्धिकरण समिति गठन गरी शुद्धिकरण अभियान अगाडि बढाएको थियो । महासंघका महासचिव पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारितामा सक्रिय नरहेका, पेशा परिवर्तन गरेका सदस्यलाई स्वेच्छीक रुपमा सदस्यता त्यागको अपिल गरेका हुन् ।

“कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसबाट गठित सदस्यता शुद्धिकरण समितिले साधारणसभाबाट प्राप्त कार्यादेश बमोजिम काम अगाडि बढाएको छ, सदस्यता शुद्धिकरण अभियान थालनी गर्ने निर्णय भए बमोजिम महासंघका सदस्यहरु र सबै शाखा, एसोसियट संस्थाहरु र वैदेशिक शाखाहरुलाई शुद्धिकरण अभियानमा साथ दिन यो आव्हान गरिएको छ” जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले महासंघमा आवद्ध सदस्यहरुको अद्यावधिक विवरण संकलन गरी छानविन गरेर मात्र सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति लिएको जनाएको छ । सदस्यता स्वेच्छीक रुपमा त्याग नगरेमा महासंघले बनाउने मापदण्डका आधारमा सूचीबाट हटाइने समितिले सचेत गराएको छ । अहिले महासंघमा १३ हजार १ सय बढी साधारण सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया