‘थारू’ अर्थात् तराईका भूमिपुत्र जाति । विकिपिडियाका अनुसार ‘थारू जाति नेपालको मेचीदेखि महाकालीसम्म मध्यपश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर—भारतको आदिबासी जाति हो । यो जातिलाई नेपाल सरकारले लोकजातिको रुपमा मान्यता दिएको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसंख्या भएको जाति हो ।’
प्रज्ञा नेपाली बृहत् शब्दकोशले ‘थारू भनेका नेपालको तराई र भित्री तराईमा बसोबास गर्ने एक प्रमुख जाति र तिनको भाषा’ भनेको छ । थारूलाई जसरी परिभाषित गरिए पनि थारू नेपालको एक प्रमुख आदिबासी समुदाय हो । देशको चौथो ठूलो ऐतिहासिक जाति हो । नेपालको दक्षिणी भूभागमा स्थायी बसोबास गर्ने मूल समुदाय हो । आफ्नै भाषा, संस्कृति, भेषभुषा र पहिचान भएको आदिबासी समुदाय हो ।
जगणना २०७८ ले थारूको जनसंख्या १८ लाख ७ हजार १२४ देखाएको छ । यो नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को ६.१९ प्रतिशत हो ।
गणनामा थारू
नयाँ जगणना २०७८ ले थारूको जनसंख्या १८ लाख ७ हजार १२४ देखाएको छ । यो नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को ६.१९ प्रतिशत हो । यसअघि २०६८ को जनगणनाले थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० देखाएको थियो । पछिल्लो दश वर्षमा थारूको जनसंख्या थोरै भए पनि बृद्धि भएको देखिएको छ । दश वर्षमा थारूको जनसंख्या ६९ हजार ६५४ ले बृद्धि भएको छ । बुझ्नुपर्ने तथ्य के पनि छ भने २०६८ को जनगणनामा रानाथारू समुदायको गणना समेत थारू समुदायको कुल जनसंख्यामा समेटिएको थियो । २०७८ को जनगणनामा रानाथारू समुदायको गणना अलग (फरक) आएको छ । अर्थात् थारूबाट अलग सूचीकरण भएर रानाथारूको गणना भएको छ । रानाथारू समुदायको बसोबास कैलाली र कञ्चनपुर जिल्लामा मात्र छ । हुन त त्यो समुदाय पनि थारू नै हो । तर अनेक कारणले थारूबाट अलग गरिएको छ । यसमा राजनीति र क्षेत्रीय स्वार्थले पनि काम गरेको छ । पछिल्लो २०७८ को जनगणनाले रानाथारू समुदायको जनसंख्या ८२ हजार २९९ देखाएको छ । यो कुल जनसंख्याको ०.८२ प्रतिशत मात्र हो । थारू समुदायको जनसंख्यामा रानाथारूको पनि जनसंख्या जोड्ने हो भने थारू समुदायको कुल जनसंख्या १८ लाख ८९ हजार ४२३ हुन्छ । यो प्रतिशतमा ६.४७ हुन आउँछ ।
जनसंख्या अर्थ
जाति समुदायले राज्यको सुविधा प्राप्त गर्न जनसंख्याले ठूलो अर्थ राख्छ । चाहे त्यो राजनीतिक सहभागिता होस् या निजामती कर्मचारी, सेना, प्रहरीलगायत राज्यको सबै संयन्त्रमा गराइने प्रतिनिधित्व किन नहोस् । जनसंख्या नै ती समुदायको मुख्य शक्तिको स्रोत मानिन्छ । जनसंख्याकै बलमा राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित हुन्छ । राजनीतिक दल तथा अन्य सरकार मातहतका संघ संस्थामा ती समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरिन्छ । आरक्षण र सहुलियतको मापदण्ड बनाइने गरिन्छ । राज्यको सर्वोच्च निकायमा पुगाउने अस्त्रको रुपमा जनसंख्यालाई लिइन्छ । त्यही जनसंख्याले जनप्रतिनिधि छान्ने, निर्वाचित गराउने र उनीहरुलाई सरकारी ओहदामा आसिन गराउने काम गर्छ । जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि तिनीहरु नगरप्रमुख, प्रदेश तथा संघीय सरकारका मन्त्री, प्रधानमन्त्री, प्रतिनिधिसभाका सांसद, उपसभामुख, सभामुख, राष्ट्रिय सभाका सदस्य, उपाध्यक्ष, अध्यक्ष, देशको शीर्ष पद उपराष्ट्रपति र राष्ट्रपतिमा आसिन हुने अवसर पाउँछन् । संक्षेपमा भन्दा जनसंख्या ती समुदायको मुख्य ताकत हो । अवसर प्रदान गर्ने प्रमुख माध्यम हो । राज्यका लागि प्रेसर ग्रुप पनि हो । लोकतान्त्रिक शासन व्यवस्थामा जनसंख्याको महत्व अझ बढी हुन्छ । राज्यका स्रोत साधन बाँडफाँट गर्दा पनि ती समुदायको जनसंख्यालाई मापन गर्ने मुख्य औजार बनाउने गरिन्छ । जनसंख्याको हिसावले राज्यका निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्दा पनि जनसंख्यालाई मुख्य रुपले हेरिन्छ, हेरिनुपर्छ । यसको कार्यान्वयन व्यवहारमा कति भयो, भएन त्यो छुट्टै बहसको विषय हुनसक्ला ।
राज्यको सर्वोच्च निकायमा पुगाउने अस्त्रको रुपमा जनसंख्यालाई लिइन्छ । त्यही जनसंख्याले जनप्रतिनिधि छान्ने, निर्वाचित गराउने र उनीहरुलाई सरकारी ओहदामा आसिन गराउने काम गर्छ ।
प्रदेशमा थारू
थारु समुदायको जनघनत्व तराईमा बढी भए पनि सबै जिल्लामा धेरथोर बसोबास छ । पहाडी जिल्लामा सयको संख्यामा थारू समुदाय रहे पनि तराईको २३ जिल्लामा सघन र उपत्यकाको तीन जिल्लामा पनि थारू समुदायको बसोबास देखिन्छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी थारूको बसोबास कैलालीमा छ । जहाँ ३ लाख २५ हजार ६७० थारू बसोबास गर्छन् । त्यसपछि दोस्रो धेरै थारूको बसोबास रहेको जिल्ला वर्दिया हो । जहाँ २ लाख ३२ हजार ९९० थारु बसोबास गर्छन् । तेस्रो धेरै थारू बसोबास रहेको जिल्ला दाङ हो । जहाँ १ लाख ७८ हजार ३८१ थारूको बसोबास छ । पछिल्लो समय थारूको बसोबास काठमाडौं उपत्यकामा पनि बढ्दैगएको छ । २०७८ को जनगणनाअनुसार भक्तपुरमा २ हजार ७७९, ललितपुरमा ८ हजार ३९२ र काठमाडौं जिल्लामा २१ हजार ७८३ थारूको जनसंख्या देखिन्छ ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी थारूको जनसंख्या लुम्बिनी प्रदेशमा छ । जहाँ ७ लाख ३२ हजार ६९ थारू बस्छन् । प्रदेशको कुल जनसंख्याको यो प्रतिशतमा १४.२९ हो । दोस्रो बढी बसोबास रहेको प्रदेश सुदूरपश्चिम हो । जहाँ ३ लाख ९७ हजार ८२२ थारूको बसाइँ छ । प्रतिशतमा यो कुल प्रदेश जनसंख्याको १४.७६ हो । प्रतिशतका हिसावले सुदूरपश्चिममा बढी देखिए पनि जनसंख्यामा लुम्बिनी प्रदेश नै अगाडि छ । त्यस्तै, सबैभन्दा कम थारूको जनसंख्या भएको प्रदेश कर्णाली हो । त्यहाँ ८ हजार ७७३ जना अर्थात् ०.५१ प्रतिशत मात्र थारूको बसोबास देखिन्छ । कर्णाली प्रदेशमध्ये सुर्खेत जिल्लामा मात्र थारूको अलि सघन बसोबास रहेको र बाँकी पहाडी जिल्लामा बसोबास साह्रै न्यून रहेकाले पनि सो आँकडा आएको हो । प्रदेशगत रुपमा थारूको जनसंख्या तल दिइएको छ ।
गणनामा गुनासो
वि.सं. २०६८ को जनगणना सार्वजनिक हुँदा पनि थारू समुदायले चित्त बुझाएका थिएनन् । वास्तविक तथ्याङ्क नआएको गुनासो गरेका थिए । सो समुदायका अगुवाले थारूको कुल जनसंख्या ३५ लाख बढी भएको दावी गर्छन् । गणना गर्ने सरकारको प्रक्रिया र पद्धति भरपर्दो नभएको उनीहरुको बुझाइ देखिन्छ ।
आदिबासी जनजातिका अन्य समुदायले पनि सोही गुनासो गर्नेगरेका छन् । अहिले थारूबाट अलग सूचीकरण भएको रानाथारू समुदायले पनि जनगणना २०७८ को तथ्याङ्कलाई मिथ्याङ्क भनेको छ । रानाथारू समुदायले आफ्नो जनसंख्या ३ लाख बढी भएको दावी गर्छ । सो अनुसार गणना प्रतिवेदन नआउँदा सार्वजनिक रुपमा आपत्ति जनाइसकेको छ । आदिबासीजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री र मन्त्रीहरुलाई भेटेर तथ्याङ्क विभागको प्रतिवेदन सच्याउन आग्रह गरेका छन् । तथ्याङ्क विभागले हालै जारी गरिसकेको प्रतिवेदनमा पुनः गणना भएर सच्चिन्छ, सच्चिदैन त्यो पछि थाहा होला । जारी भइसकेको तथ्याङ्कलाई नै अन्तिम मान्ने हो भने सोहीअनुसार थारूसहित सबै समुदायको प्रतिनिधित्व राज्यका सबै संयन्त्रमा समानुपातिक प्रणालीअनुसार गराइनु आवश्यक छ ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी थारूको जनसंख्या लुम्बिनी प्रदेशमा छ । जहाँ ७ लाख ३२ हजार ६९ थारू बस्छन् । प्रदेशको कुल जनसंख्याको यो प्रतिशतमा १४.२९ हो ।
उसो त गणना लिने र गर्ने गणकहरुको कार्यशैली सबैले बुझेकै विषय हो । राज्यको निर्देशन र उपलब्ध स्रोत साधन र सुविधाअनुसार नै गणकले काम गर्ने हो । गणकहरु दूरदराजका घरमा पुग्न कठिन छ । घरमा पुग्दा घरको ढोका बन्द हुँदा फेरि दोहोरिएर गएको देखिदैन । गणकलाई गणना गर्ने निश्चित् समय तोकिएको हुन्छ । सो समयभित्र उनीहरुले आफ्नो काम फत्ते गर्नुपर्ने बाध्यता हुन्छ । कतिलाई फाराम भराउन भ्याउँछन्, कतिको फाराम आफै भरेर पेश गर्ने गर्छन् । यो उनीहरुको बाध्यता भनौं कि लापरवाही, राज्यले बुझ्ने कुरा हो । गणनाको काम जे जसरी भइरहेको छ, प्रभावकारी छैन । त्यही भएर सही तथ्याङ्क नआएको गुनासो छ । यसमा राज्यले बेलैमा सुधार गर्न सके नागरिकको मन जित्नेगरी तथ्याङ्क ल्याउन सकिन्छ ।