थारु समुदायबाट एक्लो संघीय मन्त्री भगवती चौधरी, जिम्मेवारी महिलामन्त्री


हमार पहुरा डट कम
काठमाडौं, फागुन २४ गते । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य भगवती चौधरी प्रचण्ड नेतृत्वको सरकारमा थारु समुदायबाट एक्लो संघीयमन्त्री बन्न सफल हुनुभएको छ । एमालेबाट महिला र थारु समुदायको प्रतिनिधित्व गरी उहाँ जिम्मेवारीमा आउनुभएको हो । उहाँले बुधबार (फागुन २३) गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

मन्त्री चौधरी जम्मा जनसंख्याको आधाभन्दा बढी महिलाको र १८ लाख बढी जनसंख्या भएको थारु समुदायको आशा र विश्वासको केन्द्रमा उभिएर जिम्मेवारीमा आउनुभएको छ । पार्टीको तर्फबाट मन्त्री जिम्मेवारीमा आउनुभएका चौधरीप्रति महिला र थारु दुवै समुदायको आशा रहने हुनाले उहाँमा चुनौती बढी देखिन्छ । यसअघि पनि उहाँ सोही मन्त्रालयमा जिम्मेवारी पाउनु भए पनि २ महिनामै पद छाड्नुपरेको थियो । यो कार्यकालमा अब उहाँलाई परीक्षणको कार्यकालको रुपमा थारु अगुवाहरुले बुझ्ने बताइएको छ ।

को हुन मन्त्री भगवती चौधरी
एमाले केन्द्रीय कमिटी सदस्य भगवती चौधरी लिटियादेवी थरुनी र विरणलाल चौधरीका सुपुत्री हुनुहुन्छ । उहाँको जन्म २०२८ सालमा सुनसरीको दुहवीमा भएको हो । मानविकी, व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएर उहाँले राजनीति सुरु गर्नुभएको हो । २०५८ सालमा सदस्यता नवीकरण गर्दै उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । २०६४ को संविधान सभा सदस्य उहाँ २०६७ सालमा वन तथा भूसंरक्षण राज्यमन्त्री बन्नुभयो । २०७० सालमा अञ्चल समन्वय कमिटी सदस्य उहाँ २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

उहाँ २०७९ को संघीय निर्वाचनमा सुनसरी ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँसँग २० वर्षसम्म सामाजिक अभियान्ता बनेर काम गरेको अनुभव छ । मन्त्री चौधरी फरवार्ड इन्टरप्राइजेज प्रालिको अध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया