थाकसलाई महाधिवेशन चटारो, नेतृत्वका लागि दौडधुप सुरु


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १९ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारी सभा (थाकस) लाई २३ औं महाअधिवेशनको चटारो सुरु भएको छ । मंसिर १ गते उदघाटन हुने महाधिवेशनको तयारी तिव्ररुपमा भइरहेको महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

रुपन्देहीको भैरहवामा महाधिवेशन हुने निश्चित भएपछि नेतृत्वको दौडधूप पनि सुरुभएको छ । अध्यक्षका लागि महामन्त्री प्रेमीलाल चौधरी र उपाध्यक्ष देवीप्रसाद चौधरीको चर्चा छ । संगठन विभाग प्रमुख रुक्मिणी चौधरी आफू पनि नेतृत्वको आकांक्षी रहेको समर्थकहरुसँग बताउने गर्नुभएको खुलेको छ ।

वि.सं. २००५ वैशाखमा प्रथम महाधिवेशन गरेको थारु कल्याणकारिणीसँग अहिले थारु बहुल जिल्लाका सबै जिल्लामा जिल्ला समिति छ । महाधिवेशनमा करिब ३०० प्रतिनिधि रहने महामन्त्री चौधरीले बताउनुभयो । जिल्ला अधिवेशनहरु सबै सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेको उहाँले बताउनुभयो ।

महामन्त्री चौधरीको एजेण्डा

महामन्त्री प्रेमीलाल चौधरीले आफू नेतृत्वको दावेदार स्वाभाविक रुपमा रहेको र आफूलाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । संगठनको काममा सक्रियताको हिसावले पनि आफू प्रतिनिधिको रोजाइमा पर्ने विश्वास व्यक्त गर्नुभयो । संगठनको कामका लागि घरको कामलाई समेत तिलाञ्जलि दिएर आफू थाकसको काममा सधैं लाग्दैआएको र आगामी दिनमा पनि संगठनलाई सक्रिय बनाउन लागिरहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँका अनुसार आफू निर्वाचित भएमा निजामती कर्मचारीमा थारु आरक्षण कोटा सुनिश्चित गराउने बताउनुभएको छ । त्यस्तै, अधिकारमुखी विभिन्न आन्दोलनमा शहादत्त प्राप्त गर्नुभएका थारु शहिदलाई नेपाल सरकारबाट शहिद घोषणा गराउने, थारु समुदायबाट अलग भएका रानाथारु समुदायलाई थारुमै मिलाउने, टीकापुर घटनामा फरारको मुद्दा झेलिरहेकाहरुको मुद्दा फिर्ता गराउने, थाकससँग विभिन्न समयमा नेपाल सरकारले गरेको सम्झौता कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै, थारु विद्यार्थीलाई सरकारी छात्रबृत्तिको सुनिश्चित्ता गराउने, थाकसको सागठनिक संरचनालाई सक्रिय बनाउने, भातृ संगठनहरुको गतिविधि चलायमान बनाउने, विदेश शाखालाई पनि सक्रिय बनाउने, संविधानमा समेटिएको तर कार्यान्वयन नभएको अधिकार कार्यान्वयनका लागि पहल गर्ने, बन्न बाँकी कानुन निर्माणका लागि पहल गर्ने, थाकसको केन्द्रीय भवन निर्माणका लागि पहल गर्ने, थाकसको नेतृत्वका लागि युवापिढीलाई तयार गर्ने लगायतको कामहरु आफूले गर्ने उहाँले योजना सुनाउनुभयो ।

थारु कल्याणकारिणी सभा थारु समुदायको छाता सगठन भए पनि चुस्त र प्रभावकारी हुन नसकेको धेरैको गुनासो छ । काठमाडौं उपत्यकामा थाकसको अहिलेसम्म आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या झेल्दैआएको छ । नेतृत्व चयनका बेला नेतृत्वमा आउनेहरु भवन बनाउने प्रतिवद्धता जनाए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन नसक्दा महँगो भाडा तिरेर थाकसले आफ्नो कार्यालय सञ्चालन गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया