थारू माघ लहान र आशीर्वाद

लक्की चौधरी

बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, सेन्दुर छुटल पानीघाट ।।
बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, टिकुली छुटल पानीघाट ।।
धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ टिकुलिक मोल ।।
धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ नथियक् मोल ।।
बकुली ओ बकुला, तलुवा सुहावन रे हाँ । सखिए हो, टिरिया सुहाइल पानीघाट ।
उरी उरी भौंरा, टिकुली पर बैठे रे हाँ । सखिए हो, भौंरक छुवल मोर टिकुली मलिन ।।
(सोमती चौधरी, विजय चौधरी)

माघ (माघी) पर्वमा गाइने यो गीतको पङ्तिले माघे संक्रान्ति १ गते तलाउ वा नदीमा डुबुल्की मारेर स्नान गर्न गएका बेला युवा र युवतीविचको प्रेमलयमा गाइएको गीत हो । बुवाले बनाइदिएको सागरमा स्नान गर्न जाँदा छोरीले लगाएको सिन्दुर, बिन्दी र नथिया पानीघाटमा छट्छ । सिन्दुर, बिन्दी र नथिया खरिद गर्न यताउता भौतारिएर बनियाँको पसल पुग्छिन् । पसलेसँग सिन्दुर, बिन्दी र नथिया (नत्थी) को मूल्य सोध्छिन् । बकुलाको जोडी पानीघाटमा जसरी सहाउँछ । नुहाउन गएका बेला कन्याकेटी (टिरिया) को उपस्थितिले पानीघाट नै सुन्दर बन्छ । उनको उपस्थितिले पानीघाटको रौनक बढ्छ । भमरा उडेर युवतीको बिन्दीमा बस्छ । भमराले छोएपछि युवतीको बिन्दी नै मलिन (अपवित्र) हुन्छ । आफ्नो साथी सँगीहरुसँग युवतीले गुनासो पोख्छिन् । व्यंग्यात्मक यो भावात्मक लयले युवतीको पवित्रताको बयान गर्छ ।

थारु समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् । बिच (कपिलवस्तु–चितवन) का थारुले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारुले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । ठाउँअनुसार पर्वलाई आफ्नै शैलीमा मनाइन्छ । माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले पर्वलाई माघ १ गते मनाउँछन् । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ या माघी रहन गयो । पूर्वदेखि पश्चिमसम्मका थारु समुदाय काठमाडौं उपत्यकामा यो पर्व २०५९ देखि मनाउन थालेपछि माघी सम्बोधन हुन थालेको मानिन्छ । माघलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँछन् । थारु सम्बत अनुसार यो माघ २६४८ औं हो ।

माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वको रुपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारु गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारुमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारु परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँर रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरी जाग्राम बसिन्छ । त्यसरात थारुहरु दफुको तालमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारु इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत गाइन्छ । भाले बासेपछि पानीघाटमा गएर स्नान गर्ने प्रचलन छ ।

माघ लहान
माघ १ गतेलाई पवित्र दिन मानिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिन हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामुहिकरुपमा जलासयमा गइ स्नान गर्ने गरिन्छ । जसलाई थारुहरुले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारु भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यसदिन जलदेवतासँग पानी खरिद गरेर मात्र स्नान गरिन्छ । स्नानगर्दा पानीभित्र सिक्का छाडिन्छ । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरीको पापकर्म पखालिन्छ भन्ने विश्वास गरिन्छ । नुहाउन जाँदा बाटोभरी धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व बरघर या घरमुलीले गर्छन् । यो परम्पराले सामुहिकताको विकास गरेको छ । सहयोगको भावना बृद्धि गरेको छ ।

आशीर्वादको प्रचलन
घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरुप शीर निहुराएर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारु समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने गरिन्छ । गाउँघरका सदस्यले काम विशेषले देश बाहिर, गाउँ बाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नानगरी पूर्खालाई ढोगगरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठुलालाई सम्मान दिन्छ । एकअर्काको दीर्घायू तथा सुखी जीवनको मनग्य आशीर्वाद लिने दिने काम हुन्छ । ढोग आशीर्वादले एक अर्कालाई जोडेको छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई जोड्छ । मनमा शान्ति भएपछि समाजमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भए देशमा शान्ति आउँछ भनिन्छ ।

थारुहरुले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले चामल, नुन र दाललाई छोएर पाँच–पाँच अञ्जुली अर्को भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठुलाको आशीर्वाद लिन्छन् । नजिकमा मठ मन्दिर वा देवालय भएका गाउँका सदस्यले भगवानको पूजा गर्छन् । पूर्खा र भगवानको आशीर्वादले वर्षभरी सुख, शान्ति, प्रगतिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ ।

निसराउको पोको
माघ १ गते थारुहरुले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारुमा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रुपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारको रुपमा प्रदान गरिन्छ । आजभोलि थारुहरुमा नगदसहित निसराउ दिने प्रचलन बढ्दैगएको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आएका चेलीहरु फर्कने बेलामा निसराउ लिएर मात्र फर्किन्छन् । खालीहात चेलीबेटीलाई फर्काउन नहुने प्रचलन छ । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घर पुग्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महत्वका साथ हेरिन्छ । निसराउ उपहारको पोको मात्र होइन । यो सम्बन्ध गाँस्ने सेतु हो भनिन्छ ।

मेलमिलापको पर्व
माघी पर्वले एकअर्काबिच भएको तिक्तता हटाउँछ । माघ १ गते जलासयको चोखो पानीमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरीको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार, खटिरो हट्ने र वर्षभरीको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्व मानिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारुहरुले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसोगर्दा गाउँका सदस्यबिच एकता, मित्रता र आपसी सहयोगको भावनामा विकास हुन्छ ।

माघ नयाँ वर्ष
थारु सम्बत्अनुसार यो माघ २६४८ औं हो । माघ पर्वलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाव गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुरु गर्छन् । वर्षदिन गरेको कामको लेखाजोखा, हिसाव मिलान तथा गाउँको काम गर्न नियुक्त गरिएकाहरुको पारिश्रमिक भुक्तान गर्छन् ।

माघ १ गतेदेखि नयाँ नियुक्ती गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ती हुन्छ । वयस्क भएका छोराछोरीको विवाहको काम पनि माघ महिनाबाटै सुरु हुन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारुहरुले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् । माघी पर्वमा सुँगुर बँगुरको मासु, माछा, घोङ्घी, गँगटा, सीपी, अनदीको भात, ढिक्री, सिन्की, जाँर दारु विशेष परिकारको रुपमा खाने प्रचलन छ । यो पर्वमा मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाच नाचिन्छ ।

तपाईको प्रतिक्रिया