श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छः मन्त्री राई


SAM_2411

काठमाडौं, वैशाख २५ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रीपरिषदबाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागुहुने बताउनुभएको छ ।

स्वीट्जरलैण्डको साताव्यापी भ्रमणबाट शनिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै मन्त्री राईले त्यस्तो बताउनुभयो । न्यूनतम पारिश्रमिकलाई कुनैपनि हालतमा कार्यान्वयन गरिने उहाँले प्रतिवद्धता जनाउनुभययो । “केही मिडिया हाउसबाट छिटफुट टिकाटिप्पणी सुनिन थालेको छ, तर आवश्यक छलफल र संवादबाटै सरकारको निर्णयलाई कार्यान्वयन गराइछाड्छौं” उहाँले भन्नुभयो ।

न्यूनतम पारिश्रमिकबारे सञ्चारगृहका सञ्चालक तथा वरिष्ठ पत्रकारहरुसँग नियमित छलफल र संवाद भएरै सरकारले निर्णय गरेको बताउनुहुँदै मन्त्री राईले निर्णयबाट पछि नहट्ने तर्क गर्नुभयो । मिडियालाई विशेष उद्योगको रुपदिने विषयमा सिफारिस भएको र चाँडै पूर्णता पाउने उहाँले चर्चा गर्नुभयो ।

“म विभागीय सञ्चारमन्त्रीको जिम्मेवारीमा आउँदा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्ने र पत्रकारिता दिवसको सन्दर्भलाई निर्णय गराउने दुई प्रमुख ऐतिहासिक काम भएको छ” भन्नुहुँदै मन्त्री राईले मिडियालाई उद्योगको रुपदिने प्रक्रिया पनि अगाडि बढेको बताउनुभयो ।

राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४ लाई निकै सोचविचार र ऐतिहासिक योगदानको आधारमा निर्णय गरिएकाले त्यसप्रति टिप्पणी नगर्न उहाँले सबैमा आग्रह गर्नुभयो । नेपाली पत्रकारिता जगतमा गोरखापत्रको आफ्नै विशिष्ट र ऐतिहासिक महत्व रहेकाले गोरखापत्रको स्थापना दिवसको दिनलाई वैशाख २४ लाई पत्रकारिता दिवस सान्दर्भिक भएको उहाँले तर्क गर्नुभयो ।

“म विभागीय सञ्चारमन्त्रीको जिम्मेवारीमा आउँदा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्ने र पत्रकारिता दिवसको सन्दर्भलाई निर्णय गराउने दुई प्रमुख ऐतिहासिक काम भएको छ” भन्नुहुँदै मन्त्री राईले मिडियालाई उद्योगको रुपदिने प्रक्रिया पनि अगाडि बढेको बताउनुभयो । “सरकारको यो निर्णयलाई सबै मिडियाहाउस र मिडियाकर्मीले सकारात्मकरुपले लिनुपर्छ” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री राईले अहिलेसम्म ४९ वटा जिल्लामा अप्टिकल फाइबर विछ्याइएको र चालु आ.व.मा थप २३ जिल्लामा फाइबर विछ्याउने तयारी भएको छ भन्नुभयो । मुलुकलाई इन्टरनेट प्रविधिले जोड्ने तयारी मन्त्रालयले गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

मे २ देखि ६ सम्म जेनेभामा आयोजित वल्र्ड समिट इनफरमेशन सोसाईटी फोरमको कार्यक्रममा भागलिन मन्त्री राई गत शनिबार जेनेभातिर प्रस्थान गर्नुभएको थियो । नेपालको तर्फबाट टेलीकम्युनिकेशनमा भएको प्रगति र भावी योजनाबारे कार्यक्रममा जानकारी गराएको मन्त्री राईले जानकारी गर्नुभयो । थ्रीजी सेवालाई सबैको पहुँचमा पु¥याउने र अप्टीकल फाइबरले सबै जिल्लालाई जोड्ने विषयमा कार्यक्रममा जानकारी गराएको बताउनुभयो । कार्यक्रम उपलब्धीपूर्ण भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री राईलाई स्वागत गर्न सञ्चार सचिव दिनेशकुमार थपलिया, मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु विमानस्थल पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया