कम्प्यूटर सिकाउने बोर्ड राखेर अबैधरुपमा सञ्चालित बालगृहमा छापा


Child home

दीपक उपाध्याय
धनगढी, साउन २२ गते । कम्प्युटर इन्स्टिच्युटको आवरणमा अबैधरुपमा बालगृह सञ्चालन गरेको, विभिन्न प्रलोभन दिएर बालबालिकालाई धर्म परिवर्तन गराएको, दर्ता नै नगरी चर्च सञ्चालन गरेको लगायतको आरोपमा धनगढी उपमहानगरपालिका–४ तारानगरको सत्कार चौकस्थित एक घरमा जिल्ला प्रशासन कार्यालय कैलालीले छापा मारेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको नेतृत्वमा शुक्रवार साँझ गएको टोलीले डोटीका भक्तराज जोशी र उनकी श्रीमती पार्वती जोशीले सञ्चालन गरेको लोगोश कम्प्युटर इन्स्टिच्युट र अबैधरुपमा बालगृह र चर्च सञ्चालन गर्दैआएको घरमा छापामारेको हो। प्रहरीले छापा मारेर चारथान ल्यापटप, दुईथान मोवाइल, एउटा हार्डडिस्क, पेनड्राईभ एउटा र महत्वपूर्ण कागजात जफत गरेको छ भने कार्यालय कक्षमा तालाबन्दी गरेको छ। प्रहरीले सोमवार हाजिर हुने शर्तमा जोशीलाई छाडेको छ।

प्रहरीले चर्चका सञ्चालक जोशी, उनकी श्रीमती र त्यहाँ राखिएका बालबालिकाहरुसंग प्रहरीले बयान लिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तारानगरमा अबैधरुपमा चर्च र बालगृह सञ्चालनमा रहेको उजुरी आएपछि छापा मारिएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बाहिर कम्प्युटर इन्स्टिच्युटको साइन बोर्ड झुण्ड्याएको भएपनि भित्र चर्च सञ्चालन गर्नुका साथै बालबालिकाहरुलाई राखेको पाइएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बाहिर कम्प्युटर इन्स्टिच्युटको साइन बोर्ड झुण्ड्याएको भएपनि भित्र चर्च सञ्चालन गर्नुका साथै बालबालिकाहरुलाई राखेको पाइएको बताउनुभयो ।

सहायक प्रजिअ चौधरीले त्यहाँ राखिएका चारजना बालबालिकामध्ये दुई जना आफ्नै भतिजी र दुईजना बालिका गरीव परिवारका भएकोले पढाइरहेको जोशीले बयानका क्रममा बताएको जानकारी दिए। जोशीको तारानगरस्थित तीनतले घरको भुइँतलामा कम्प्युटर कक्ष छ। जहाँ बिहान साँझ कम्प्युटर पढाइ हुन्छ। दोस्रोतलामा बालबालिकालाई राखिएको छ। जुन तलामा जोशी दम्पति बस्नेगरेका छन्। तेस्रो तलामा चर्च सञ्चालनमा छ। जहाँ हरेक शनिवार प्रार्थनाका लागि मान्छेहरु जम्मा हुने गर्छन्।

अमेरिकाको वासिङटनडिसीमा रहेको वेल्र्स, सिइएलसी नामक संस्थाका साथै जोयल निज, पावल हार्टम्यान लगायतका व्यक्तिले नेपाल मिसन अन्तर्गत धनगढीमा अबैधरुपमा चर्च सञ्चालन गरेको पाइएको छ। यसको मुख्य उद्देश्य नेपालमा धर्मप्रचार गर्ने र अन्य धर्मावलम्बीहरुलाई क्रिस्चियन बनाउने पाइएको छ। वेल्र्सकै वेवसाइटमा सन २००४ मा सुदूरपश्चिमका ५ जिल्लामा ५ हजार जनालाई क्रिस्चियन बनाउने लक्ष्य राखिएको उल्लेख गरिएको छ। विश्वका पाँचै महादेशमा धर्म प्रचारका लागि बर्सेनी अर्बौ रुपैयाँ खर्च गर्दैआएको वेल्र्सले नेपालमा १४ वर्षदेखि धर्म प्रचारमा काम गर्दैआएको छ ।

महिनामा चारलाख रुपैयाँ खर्च हुनेगरेको बताउने जोशीले विदेशबाट आफ्नो खातामा रकम आउने गरेको सुनाए। उनले बाहिरबाट आउने रकमबाटै धर्मप्रचार र बालबालिकाका लागि खर्च गर्नेगरेको बताएका छन्।

नाम र थर नै परिवर्तन
धनगढीमा अबैधरुपमा बालगृह र चर्च सञ्चालन गर्दैआएका भक्तराज जोशीले बालबालिकाको धर्म मात्रै परिवर्तन गराएका छैनन्। कतिपय बालबालिकाको नाम र थर नै परिवर्तन गराएको पाइएको छ। उनले पुनम क्षेत्रीलाई अस्मिता जोशी बनाएका छन्। उनले बिना दर्ता नै आस्था चर्च सञ्चालन गरेको स्वीकार गरेका छन्। पुनमको नाम र थर परिवर्तन गरेको पनि स्वीकार गरेका छन्।

(सेतोपाटीबाट)

तपाईको प्रतिक्रिया