चितवन, असोज १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई दिल्लीमा आफूले भेटेपनि नियतबस नभएको बताउनुभएको छ । उहाँको भेटपछि बाहिर व्यापकरुपमा आलोचना हुन थालेपछि प्रचण्डले त्यस्तो प्रष्टिकरण दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले चैतमा चुनाव हुनेमा शंका नगर्न सबैमा आग्रह समेत गर्नुभएको छ । संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले इलाकालाई स्थानीय निकाय बनाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । इलाकालाई मधेस केन्द्रित दलले पनि सहमति जनाउने उहाँको विश्वास छ ।
संविधान संशोधनमा प्रमुख विपक्षी एमालेले सहमति जनाउँछ त भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘एमालेले असहमति जनाउने कुरै छैन । सहमतिमा आउँछ । हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकट समाधान गर्नु हामी सबैको कर्त्व्य हो ।’
संविधान संशोधन दशैं अगाडि नै हुने र चैतमा चुनाव हुने उहाँको भनाई छ । उहाँले चैतमा चुनाव गराउने वातावरण बनाउने भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘चैतमा चुनाव भएरै छाड्छ, त्यसमा शंका नगर्नोस् । चैतमा चुनाव गराउने हामी सबैको दायित्व हो ।’ चुनावको तयारी युद्धस्तरमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
टीकापुर काण्डका प्रमुख आरोपी रेशम चौधरीलाई भारतमा भेट्नुको कारणबारे पत्रकारको जिज्ञासामा प्रचण्डले भेट पूर्वयोजना र नियतबस नभएको प्रष्टिकरण दिनुभयो ।
मधेस केन्द्रित दलहरुले भन्दैआएको मुद्दा फिर्ताको प्रसंगमा प्रधानमन्त्रीले पत्रकारहरुलाई स्पष्ट जवाफ दिनुभएन । पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘त्यो पछिको कुरा हो, पछि नै कुरा गरौंला ।’
टीकापुर काण्डका प्रमुख आरोपी रेशम चौधरीलाई भारतमा भेट्नुको कारणबारे पत्रकारको जिज्ञासामा प्रचण्डले भेट पूर्वयोजना र नियतबस नभएको प्रष्टिकरण दिनुभयो । ‘मैले छुट्टै भेटेको पनि होइन, भेट्ने कार्यक्रम पनि थिएन,’ उहाँले भन्नुभयो, ‘सार्बजनिक ठाउँमा को को आए र भेटेर गए, यो नियतबस होइन ।’
भारत भ्रमणको क्रममा ताज होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले रेशम चौधरीलाई भेटेको भन्दै आलोचना भएको थियो । मंगलबारको संसद बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस विषयलाई कोट्याएर प्रचण्डको आलोचना गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले चितवनको विकास निर्माणलाई प्राथमिकता दिने पनि बताउनुभयो । आफ्नो गृहजिल्लाको विकासमा किन ध्यान नदिएको भनेर पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘आफ्नो जिल्लामा काम नगर्दा घाटा हुनेरहेछ भन्ने बुझें । अब मेरो दोस्रो कार्यकालमा चितवनको विकासले प्राथमिकता पाउँछ ।’