थारु कल्याणकारिणीसभाको स्थापनाः थारु रानीतिक चर्चा

लक्की चौधरी

लक्की चौधरी

पृष्ठभूमिः
थारु कल्याणकारिणीसभालाई नेपालको सबैभन्दा जेठो सामाजिक संस्थाकोरुपमा चिनिन्छ । गठन प्रक्रिया र सभाको गतिविधि धेरै पहिलेदेखि शुरु भएपनि वि.सं. २००५ मा संस्थागत औपचारिकता पाएको सभा निकै ढिलोगरी २०४८ कात्तिक ११ गतेमात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ताभयो । सभाका समकक्षी संगठनहरुले मुलुकको नेतृत्वमा पटक पटक आए, आइरहेका छन् । तर सभाले आफ्नो नेतृत्व सामाजिकरुपमा मात्रै सीमित राख्यो । अद्यापि सामाजिक गतिविधि गरिरहेको छ । वि.सं. २००३ सालमा गठन भएको नेपाल प्रजा परिषद हालको रुपान्तरित नेपाली कांग्रेस हो । प्रजापरिषदकै नेताहरुले पछिआएर नेपाली कांग्रेस नामले संगठन विस्तार गरेका थिए । वि.सं. २००६ वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको गठन भएको थियो । जो अहिले नेकपा (एमाले) को नामले परिचित छ ।

सुरुवातीकालमा ‘बन्देज अभियान’ भनेर सभाले सुचारु गथ्र्यौ । जसको उद्देश्य समाजमा व्याप्त बालविवाह, बहुविवाह, अनावश्यक भोजभतेर, अन्धविश्वास, अशिक्षाजस्ता विषयको अन्त्य गर्नु थियो ।

समाजमा व्याप्त कुरीति, अन्धविश्वास, कुसंस्कारको अन्त्यगरी समाज रुपान्तरणमै सभाको प्रमुख अभियान थियो । सुरुवातीकालमा ‘बन्देज अभियान’ भनेर सभाले सुचारु गथ्र्यौ । जसको उद्देश्य समाजमा व्याप्त बालविवाह, बहुविवाह, अनावश्यक भोजभतेर, अन्धविश्वास, अशिक्षाजस्ता विषयको अन्त्य गर्नु थियो । थारु अगुवाले त्यसमै केन्द्रीत भए । कारण, त्यतिबेलाको समाज नै त्यसैमा जकडिएको थियो । त्यस्ता कुसंस्कारबाट मुलुकलाई छुटकारा दिलाउनसके समाज अगाडि बढ्ने बुझाई उहाँहरुको थियो । त्यो समयमा बन्देज अभियान ठूलो अभियानकोरुपमा परिचित थियो । फलतः त्यही बन्देज अभियानको साकार रुप नै अहिलेको थारु कल्याणकारिणीसभा हो । त्यतिबेलाका अग्रजहरुको सोच, विचार महान थियो । स्वच्छ र निश्कपट थियो । त्यसैले स्वच्छ मनकासाथ नाम जुर्नपुग्यो ‘थारु कल्याणकारिणीसभा ।’ यसको नाम मात्र कल्याणकारिणीसभा होइन, धेरै थारुको कल्याण पनि यसले गरेको छ, गर्दैआएको छ ।

थारु कल्याणकारिणीसभा गठन हुँदा मुलुकमा राणा शासन थियो । त्यसबेला संगठन खोल्ने शाहस कमैले गर्थे । संगठन खोल्योकि राणाको निसानामा पर्नुपर्ने बाध्यता थियो । तर थारु समुदायलाई इमान्दार, सोझासाझा, अशिक्षित र पिछडिएका जाति समुदायकोरुपमा राणाहरुले चिन्थे । दासकोरुपमा अरुको सहयोग गर्ने थारु समुदायको संगठनले त्यतिबेलाका राणा शासनलाई के नै विगार्न सक्थ्यो र ! सायद त्यही सोचेर होला राणाहरुले सभा गठनको खबरलाई नसुनेझैं गरिदिए । कुनै रोकतोक र रवाफ देखाएनन् । यद्यपि संस्था लुज फोरमकोरुपमा मात्रै थियो । दर्ता भएरै सञ्चालनमा थिएन । त्यसले पनि राणाहरुको टाउको दुखाई नबनेको हुनसक्छ । थारु समुदायका अगुवाले राणाहरुकालागि हप्ता संकलन गर्ने, राशन उठाउनेजस्ता काममा सहयोग गर्थे । राणाहरुको निर्देशनमै काम गर्नेहुनाले थारुप्रति राणाहरुको सोचाई नकारात्मक हुन पाएन । त्यतिबेला राणाहरुको निकै नजिक रहेका थाकसका पदाधिकारीहरुले राणाको विरुद्धमा कहिल्यै कदम चालेनन् । नत उनीहरुको समकक्षी राजनीति गर्ने ध्याउन्न बनाए । त्यही विश्वासले होला सभाको जन्म सहजरुपमा हुनपायो । जुन अद्यापि सामाजिक संस्थाकैरुपमा सीमित छ । केही व्यक्तिलाई राणापक्ष, पञ्चायतीपक्ष र राजापक्षीको आरोप लाग्नु बाहेक अर्थोक देखिएन । मान्छे स्वार्थ प्राणी हो । एकआध लोभलालचमा फँस्नु धेरै अन्यथा पनि होइन ।

नाम सामाजिक, काम राजनीतिकः
थारु कल्याणकारिणीसभा विशुद्ध सामाजिक संस्थाकोरुपमा पहिचान बनाएको छ । सामाजिक रुपान्तरणमा स्थापनाकालदेखि भूमिका निर्वाह गर्दैआएको छ । तर यसका सबै गतविधिहरु सामाजिकरुपमै सीमित भने छैनन् । सभाले धेरै जुझारु थारुनेता जन्माएको छ । अभियन्ता र नेतृत्व निर्माण गरेको छ । यसका पदाधिकारी र सदस्यहरु मूलधारका राजनीतिकदलका नेताभएर पटक पटक मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री भएका उदाहरण छन् । सभाले जन्माएका सामाजिक अभियनताहरु अद्यापि राजनीतिक दलका नेताकोरुपमा परिचित छन् । केवल चौधरी, दानालाल चौधरी, परशुनारायण चौधरी, फत्तेसिंह थारु, दिलिपी थारु, सगुनलाल थारु, गुमरा थारु, कैंया चौधरी, उमाकान्त चौधरी, ठाकुरसिंह थारु, टीकाराम चौधरी, नरेन्द्र चौधरी, चन्द्रकुमार थारु, राजकुमार लेखी, धनीराम चौधरी, भानुराम थारु यी सबै हिजो र आज कुनै न कुनैरुपमा राजनीतिमा सक्रिय थिए । कोही आज पनि छन् । कोही पार्टीका सदस्य भएर त कोही दलको नेतृत्वकर्ताकोरुपमा ।

सभाका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलमा समाहित हुँदैआएका छन् । सभामा रहँदासम्म सामाजिक अभियनता, बाहिरिदा दलको कार्यकर्ता या नेता भएर निस्कने हुनाले सभा नै थारु राजनीतिक नेताहरुको पाठशाला हो भन्दा फरक नपर्ला ।

सभा गठनअगावै एकआध थारुले राणाविरुद्धको अभियानमा लागेको उदाहरण भेटिन्छ । संस्थागतरुपमा नदेखिए पनि व्यक्तिगतरुपमा राणाविरोधी गतविधिमा थारु संलग्न थिए । वि.सं. २००१ मा सप्तरीका भोलानाथ थारु र कैलालीका महिकर थारु (बडाहाकिम) राणाविरोधी अभियानमा सरिक भएकैकारण राणाहरुबाट मृत्युदण्डको सजाय पाएका थिए । सामाजिकरुपमा थारु समाजको चेतना अभिबृद्धि गर्ने, गोलबद्ध गर्ने तथा प्रशिक्षित गर्ने काम सभाले गर्दैआएको छ । त्यही सामाजिक अभियान नै कालान्तरमा राजनीतिक चेतनाकोरुपमा विकास हुने र सभाका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलमा समाहित हुँदैआएका छन् । सभामा रहँदासम्म सामाजिक अभियनता, बाहिरिदा दलको कार्यकर्ता या नेता भएर निस्कने हुनाले सभा नै थारु राजनीतिक नेताहरुको पाठशाला हो भन्दा फरक नपर्ला ।

राजनीतिकदलको जन्मः
थारु कल्याणकारिणीसभा आफैमा सामाजिक संगठन हो । सबैलाई थाहा छ । सामाजिक संस्थाले थारु समुदायमा राजनीतिक चेतना जागृत गराउँदैआएको कुरापनि कसैसँग छिपेको छैन । सभाकै बदौलत अहिले थारुकै नेतृत्वमा केही दलहरु खुलेका छन् । व्यवस्थापिका संसदमा समेत प्रतिनिधित्व गर्छन् ।

लामो समय सभामा जिम्मेवारी निर्वाह गर्नुभएका नेता राजकुमार लेखीले २०६८ वैशाख १६ गते नेपाल नागरिक पार्टी गठन गर्नुभयो । केही समयपछि सो पार्टी निस्क्रिय भयो । पुनः २०७२ फागुन २७ गते नागरिक समाजवादी पार्टीको नामले त्यसलाई पुनर्गठन गरियो । अहिले जिल्ला कार्य समिति गठन र राजनीतिक प्रशिक्षणको अभियान तिव्र गतिमा सो दलले चलाउँदै आएको छ । दलमा आवद्ध अधिकांश पदाधिकारी तथा सदस्यहरु कहीं न कहीं सभाबाट प्रशिक्षित छन् ।

सभाको जिल्लामा नेतृत्व सम्हालेका नेता भानुराम थारुले २०६८ साउन २७ गते थरुहट तराई पार्टी नेपाल नामको राजनीतिक दल गठन   गरे । २०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट एउटा सिट जित्न नसके पनि समानुपातिक मतकाआधारमा सो दलले दुईजना सांसद व्यवस्थापिका संसदमा पठाउन सफल भयो । गोपाल दहित र गंगा थारु पनि सभाको सामाजिक अभियानमा लागेका व्यक्तिहरु नै हुन् ।

२०६८ भदौ ९ गते रुक्मिणी चौधरीले आफ्नो नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) दल गठन गर्नुभयो । चौधरी संविधानसभाको पहिलो २०६४ चैत २८ गतेको निर्वाचनमा पनि समानुपातिकबाट सांसद हुनुभयो । दोस्रो २०७० मंसिर ४ गतेको निर्वाचनमा पनि उहाँ सोही दलबाट समानुपातिक सांसद हुनुभयो । दुई कार्यकाल लागातार उहाँ सांसद भएर दलकोतर्फबाट प्रतिनिधित्व गर्नुभयो । अहिले पनि एकसिटे व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने उहाँको दल दर्ज छ । अध्यक्ष चौधरी पनि सभाको जिल्लादेखि केन्द्रसँग विभिन्न जिम्मेवारीमा काम गर्नुभयो । अहिले केन्द्रीय सल्लाहकारको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ ।

थरुहट तराई पार्टी नेपालबाट अलग भई सांसद गंगा थारुले २०७३ पुस ५ गते थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभयो । यद्यपि उहाँको सो दल पुस ११ गते निर्वाचन आयोगमा दर्ता भयो । अध्यक्ष थारु पनि सभाको सामाजिक अभियानसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहँदैआउनुभएको छ । राजनीतिक चेतना अभिबृद्धि गर्नमा सभाको भूमिका अहम छ । आधिकारिकरुपमा दलको मान्यता पाइनसकेको भएपनि सो दल एकसिटे दलकोरुपमा संसदमा रहने निश्चितप्रायः छ ।

यसको अलावा सभाको सामाजिक अभियानसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न अन्य नेताहरु आफ्नो नेतृत्वमा अलग दल नखोले पनि शीर्षलगायत विभिन्न दलको नेताकोरुपमा स्थान बनाउन सफल हुनुभयो । सभाको नेतृत्व गरेका अधिकांश व्यक्तिहरु दलको कार्यकर्ताकोरुपमा परिचित रहँदैआएका छन् । यो पनि सभाले लगाएको गुन हो, भन्न सकिन्छ ।

सभाको मुख्य उद्देश्य समाजिक, राजनीतिक र शैक्षिक जागरणसँगै सांस्कृतिक जागरण ल्याउने पनि हो । थारुभाषा, संस्कृति र सो समुदायको समग्र हित र अधिकार बुझ्ने नेतृत्वले मात्र समग्र थारुको हितकालागि भूमिका खेल्न सक्छ । त्यस्तो नेतृत्वको अहिलेसम्म सभामा अभाव खड्किन्छ ।

अधिकारमुखी आन्दोलनको नेतृत्वः
थारु कल्याणकारिणीसभा थारु समुदायको एकमात्र विश्वास जितेको छाता संगठन हो । यस समुदायमा अनगिन्ति अन्य संघ संगठनहरु रहेपनि सभाको स्थान कसैले लिन सकेन । न भोली नै सक्छ । यसको नेतृत्वमा अनेक व्यक्तित्व आए र गए । कोही समाजका लागि दिलोज्यान लगाएर काम गरे । कोही स्वार्थपूर्तिमै सीमित रहे । कोही राजनीतिक सिंढी बनाउन सभालाई प्रयोग गरे । स्थापनाकालदेखि अहिलेसम्म सभाको नेतृत्वमा पूुर्वका थारुको संख्या बढी छ । कारण, पश्चिमको तुलनामा पूर्वका थारुमा राजनीतिक चेतना बढी देखियो । शिक्षित र सचेत थारु पूर्वमै बढि थिए । तर अहिले पश्चिमा थारुको राजनीतिकस्तर र शैक्षिकस्तर बढेपनि नेतृत्वमा आउन वातावरण बन्न सकेको छैन । थारु चाहे पूर्वको होस् या पश्चिमको थारु, थारु नै हो । तथापि सांस्कृतिकरुपमा पूर्वकोभन्दा पश्चिमका थारु सबल र बलिया    छन् । सभाको मुख्य उद्देश्य समाजिक, राजनीतिक र शैक्षिक जागरणसँगै सांस्कृतिक जागरण ल्याउने पनि हो । थारुभाषा, संस्कृति र सो समुदायको समग्र हित र अधिकार बुझ्ने नेतृत्वले मात्र समग्र थारुको हितकालागि भूमिका खेल्न सक्छ । त्यस्तो नेतृत्वको अहिलेसम्म सभामा अभाव खड्किन्छ ।

सभा समाजिक संस्था हो । तर यसले राजनीतिक चेतना र अधिकारमुखी आन्दोलनमा केन्द्रीत हुँदैआएको छ । यसले खेलेको भूमिकालाई अहिले पनि कम आँक्न मिल्दैन । स्थापनाकादेखिको बन्देज अभियान होस् कि थारु पहिचान र अधिकारको अभियान होस् । सभाले समय समयमा नेतृत्व गर्दैआएको छ । सभाले राणा देख्यो, पञ्चायत देख्यो । निरंकुश राजतन्त्र देख्यो र अहिले लोकतान्त्रिक गणतन्त्रमा थारु अधिकारको कुरा उठाइरहेको छ । नयाँ संविधानसभाको निर्वाचन होस् कि दोस्रो निर्वाचन होस् । सभाले आफ्नो ठाउँबाट थारु प्रतिनिधिहरुलाई संविधानसभामा पु¥याउन संस्थागत पहल लियो । जसकाकारण पहिलो संविधानसभामा ३७ जना थारु सभासद बने । दोस्रोमा ४२ जना । यद्यपि सभाले चाहेकोजस्तो थारु सभासदले भूमिका निर्वाह गर्न नसके पनि पूरै निस्क्रिय भन्न मिल्दैन । आफ्नो बलबुताले भ्याएसम्म संसद भवनभित्र भूमिका खेले नै । जसको परिणाम, अहिले नयाँ संविधानमा ‘थारु क्लष्टर’ प्राप्त भएको छ । थारु आयोग गठन हुने भएको छ । सानो भएपनि यसलाई उपलब्धी मान्नुपर्छ ।

सभाले अहिले पनि थरुहट प्रदेश, राज्यको संयन्त्रमा जनसंख्याको हिसावले समानुपातिक सहभागिता, थारुको प्रथाजनित कानूनको मान्यताका लागि आन्दोलनरत नै छ । संस्थागतरुपमा गरिएको आन्दोलनले प्रभावकारी प्रभाव पार्न नसकेपनि अभियान जारीराख्नु पनि उपलब्धी हो । थारु समुदायलाई अधिकारमुखी आन्दोलनमा होम्नु, जनजीवनलाई तताउनु र अधिकारका लागि आफै सचेत हुनुपर्छ भन्ने सन्देश दिन सभा केही हदसम्म सफल छ । यसको निरन्तरताले थारु अधिकार प्राप्तीमा बल पुग्ने नै छ ।

अधिकारमुखी आन्दोलन उठान त गरियो तर त्यसको सही बैठान भएन । आन्दोलनमा होम्न लगाएर कार्यकर्ताको संरक्षण दिन सभा पूर्णतः असफल रह्यो ।

टीकापुर घटना र सभाको भूमिकाः
कैलालीको टीकापुरमा २०७२ भाद्र ७ गते घटेको घटना थारु समुदायकालागि ऐतिहासिक र दुःखद दुवै हो । ऐतिहासिक यसअर्थमा कि थारु समुदायले चाहेमा ठूलठूला आन्दोलन आफ्नै बलमा गर्न सक्छन् भन्ने गतिलो सन्देश त्यसले दियो । सामुहिकता, एकता र प्रतिवद्धता एकसाथ भएमा अहिले पनि थारु समुदायमा ठूलो शक्ति छ । त्यसले शासकहरुलाई घुँडा टेकाउन सक्छ भन्ने पुष्टि त्यसले गर्छ । तर दुःखद् यसअर्थमा कि घटनामा निर्दोषले ज्यान गुमाए । भाद्र ८ गते थारुको घरमा छानीछानी आगजनी र तोडफोड भयो । तर थारु समुदायले केही गर्न सकेन । करोडौंको क्षति भयो । घटनाको आरोपमा २५ जना पक्राउ परे । अहिले काराबास जीवनमा छन् । अझै संयौंलाई ज्यान मुद्दा, डाँका मुद्दा लगाइएको छ । फरार सूचीमा रहेकाहरुको खोजी प्रशासनले गरिरहेको छ । ढिलाचाँडो तिनीहरु पनि प्रशासनको गिरफ्तारीमा आउलान् । घटना सल्टाउन नसक्ने हो भने अझै समस्या आइपर्ने छ ।

नयाँ संविधानमा थरुहट प्रदेश र समानुपातिक प्रतिनिधित्वको मागगर्दै सभाकै नेतृत्वमा थारु समुदाय आन्दोलनमा होमिए । थरुहट थारुवान संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन शुरुभयो । संघर्ष समितिका केन्द्रीय संयोजक सभाका अध्यक्ष धनीराम चौधरी तोकिए । आन्दोलनका लागि सांसदहरुको पनि समिति गठन गरे । सांसदको नेतृत्व रामजनम चौधरीले गरे । आन्दोलन उठाउन महिनौं लाग्यो । आन्दोलन पनि उठ्यो । तर त्यसको व्यवस्थापन भएन । जसकाकारण टीकापुर घटना भयो र त्यसको निकासमा नेतृत्वकर्ता तयार   भएनन् । त्यहीकारण हो, अहिले जेलमा २५ जना बन्दीजीवन बाच्न बाध्य छन् । तिनीहरुको घर परिवारको विचल्ली छ । अधिकारमुखी आन्दोलन उठान त गरियो तर त्यसको सही बैठान भएन । आन्दोलनमा होम्न लगाएर कार्यकर्ताको संरक्षण दिन सभा पूर्णतः असफल रह्यो । त्यहीकारण हो, अहिले सभाका नेतृत्वकर्ताप्रतिको नकारात्मक सोचाई बढ्दैगएको छ । जेल जिवन बाँच्न बाध्य राजबन्दीहरु अहिले सभा र नेतृत्वलाई सरापीरहेका छन् । यस्तो किन भयो ? भन्दा नेतृत्वमा फुट आयो । कोही आन्दोलन गर्नुपर्छ भने, कोही अर्धभूमिगत भए । कोही सरकारमा मन्त्री पद पाएपछि आन्दोलनलाई लत्याए । सबै तितरवितर भए । घटना घट्यो । जिम्मेवारी लिनेकाम भएन । यो सभा र नेतृत्वकर्ताका लागि ऐतिहासिक भूल हो । यसको मूल्याङ्कन लामो समयसम्म हुनेछ । अझैपनि समय छ, सभाले चाहेमा सामुहिक नेतृत्वकासाथ त्यसलाई सल्टाउन सक्छ ।

अब थारु फुटेर हैन, जुटेर अघि बढ्नु पर्छ । मेरो होइन हाम्रो भावनाको विकास गर्नुपर्छ । व्यक्तिगत स्वार्थ हैन, समाजको स्वार्थका निम्ति लाग्नुपर्नेछ । त्यसोगर्न सकेमा थाकसको गरिमा पनि बढ्छ र थारुले अधिकार पनि प्राप्त गर्छन् ।

निस्कर्षः
अहिले थारु समुदाय सामाजिक, सांस्कृतिक सँगसँगै राजनीतिक अधिकारको अभियानमा छन् । त्यही आन्दोलनकोक्रममा कैयौंले ज्यानको कुर्वानी गरिसके । आन्दोलनकाक्रममा पछिल्लो ज्यान गुमाउनेमा कमल चौधरी, बिपिन खड्का क्षेत्री, रामप्रसाद चौधरी, प्रकाश चौधरी, धनबहादुर थनेत रहेका छन् । तर सरकारले उहाँहरुको कुर्वानीको मूल्याङ्कन गरेन । शहदि घोषणा त परैजाओवस् उचित क्षतिपूर्ति समेत उपलब्ध गराएन । आन्दोलनकै क्रममा कैयौंजना दुर्घटनामा परी ज्यान गुमाइसके । कोही अङ्गभंग भए । चाहे तत्कालिन माओवादीको दशवर्षे सशस्त्र युद्ध होस् । अखण्ड सुदूरपश्चिमको विरुद्धको आन्दोलन या समग्र थरुहट आन्दोलन किन नहोस् । कैयौं थारुले अधिकार प्राप्तीकैलागि ज्यानको कुर्वानी गरे । तर सोचेजस्तो अधिकार प्राप्त भएन । २०६५ साल फागुन १८ देखि ३० गतेसम्मको १३ दिने मधेसविरुद्धको आन्दोलन होस् या २०६९ को १९ दिने आन्दोलन र पछिल्लो ०७३ को आन्दोलन सबै आन्दोलन अधिकारसँग सम्बन्धित  थिए । ती आन्दोलनमा सभाको नेतृत्वको भूमिका अहम् थियो ।

थारु समुदायको अधिकार सामुहिक हो । त्यसैले अधिकारका लागि प्रयास पनि सामुहिक नै चाहिन्छ । त्यसैकालागि सभाको परिकल्पना भई गठन भएको थियो । तर पछिल्लो समय थारु समुदाय र नेतृत्वहरु राजनीतिकरुपमा बाँडिएका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न सकिरहेका छैनन् । अवसरका पछाडि कु्दने नेतृत्व र समाज र देशको पछाडि कुद्ने नेतृत्वबीचको दूरी बढेको छ । जबसम्म सामुहिक लडाई लड्न थारुले सक्दैनन् । तवसम्म थारुको अधिकार छिन्नभिन्न नै रहनेछ । अधिकार प्राप्तीको लडाई यो पुस्ताले त लड्नुपर्ने छ नै । यस्तै अवस्था रहे आउने पुस्तालेसमेत यही लडाईमा समय व्यतित गर्नुपर्ने हुन्छ । नेतृत्वकर्ता र सचेत थारु समुदाय अहिले नै यता ध्यान केन्द्रीत गर्न सक्नुपर्छ । अब थारु फुटेर हैन, जुटेर अघि बढ्नु पर्छ । मेरो होइन हाम्रो भावनाको विकास गर्नुपर्छ । व्यक्तिगत स्वार्थ हैन, समाजको स्वार्थका निम्ति लाग्नुपर्नेछ । त्यसोगर्न सकेमा थाकसको गरिमा पनि बढ्छ र थारुले अधिकार पनि प्राप्त गर्छन् ।

सन्दर्भ सामग्रीः
१) चौधरी, लक्की । २०७० । मोर पहुरा (लेख संग्रह) । गीता चौधरी
२) सर्वहारी कृष्णराज, चौधरी गणेश । २०७३ । थरुहट आन्दोलनः टीकापुर कथा । थारु पत्रकार संघ, नेपाल ।
३) फूलरिया भाग २ । २०७० । थारु पत्रकार संघ नेपाल, काठमाडौं ।
४) चली गोचाली । २०७१ । अंक ३, वर्ष १, काठमाडौं ।
५) चौधरी, लक्की । हमार पहुरा डट कम, न्यूज पोर्टल ।
६) फूलरिया भाग १ । २०६९ । थारु पत्रकार संघ नेपाल, काठमाडौं ।

(लेखकः हमार पहुरा डट कमका सञ्चालक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया