
थारु समुदायका लागि माघी नयाँवर्ष हो । नेपालीका लागि माघेसंक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघीपर्व पुरै महिनाभरी । चाडपर्वमा थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गरिएको हुन्छ । माघीपर्व केवल खानपिन र रामरमाइलोमा मात्र सीमित छैन । खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदाय चाडपर्वलाई थकान मेटाउने अवसरकोरुपमा पनि उपयोग गर्छन् । एकाअपसमा रमाइलो, मनोरञ्जनका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारु समुदायमा छुट्टै महत्व राख्छ । वर्षदिनकालागि नयाँ नीतिनियम बनाउने, त्यसको कार्यान्वयनको प्रतिवद्धता गर्ने काम थारुले माघीमा गर्छन् । नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा पनि गर्छन् ।
देशलाई विधिवतरुपमा सुचारु गर्न प्रधानमन्त्रीको आवश्यकता पर्छ । थारु गाउँलाई विधिवतरुपले चलाउन बडघरको आवश्यक्ता पर्छ । घरलाई हाँक्न घरमूलीको आवश्यकता पर्छ । थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् ।
थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघीलाई विकासे पर्वकोरुपमा हेरिन्छ । ‘हाम्रो’ भावनाको विकास यही माघीले गर्छ । पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास यही पर्वमा हुन्छ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिनेकाम यसै पर्वमा हुन्छ । विवाह गरी ससुराली गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम पनि हुन्छ । वर्षदिनको कामको समिक्षा गरी नयाँ कामको शुरुवात गर्ने पर्व भएकाले माघीलाई थारु समुदायले अन्य पर्वभन्दा विशेष महत्व दिन्छन् । त्यसैले यस पर्वलाई नयाँ वर्षकोरुपमा मनाउँछन् । थारु समुदायका लागि माघी किन महत्वपूर्ण छ भन्ने विषयमा यसको बहुआयामिक पक्षमा यहाँ चर्चा गरिएको छ ।
सामाजिक महत्वः
मानिस समाजमा बस्ने प्राणी हो, सबैलाई थाहा छ । तर समाजमा बसेर पनि उसको व्यवहार समाजिक छ कि छैन भन्ने महत्व राख्छ । थारु समुदाय समाजमा अन्तरघूलित भएर बस्ने आदिबासी जाति समुदाय हो । समाजमै बस्छ, समाजमै रमाउँछ र समाजकै गतिविधिमा संलग्न रहन चाहन्छ । त्यसैले होला थारु समुदायको घरपनि एकै ठाउँमा गुजमुज्ज परेर बनेका हुन्छन् । सुखदुःखमा एकअर्कालाई साथदिन मरिमेट्छन् । समाजिक भावना यी समुदायमा अधिक्तम पाइन्छ ।

माघी पर्वलाई पनि समाजमै रामरमाइलो गरी मनाउँछन् । एक अर्कासँग भातृभाव, सद्भाव र प्रेम गरेर मनाउँछन् । आफू जे खान्छन् र अरुलाई पनि खुवाउँछन् । विहानै स्नानगरेर पूर्खाको आशीर्वाद लिएर थारु गाउँघरमा गरिने सबै रीतिरिवाज मान्छन् । सेवाढोग गरी माघीबाटै नयाँ सम्बन्ध र भाइचारा भावनाको विस्तार गर्छन् । माघीपर्व सामुहिकतामा मनाइन्छ । चाहे मनोरञ्जन गर्न मघौटा नाच गर्नुहोस्, मासुकालागि सुंगुरबंगुर काट्दा होस्, पूर्खाको आशीर्वाद थाप्नेबेला होस् कि गाउँको, घरको जिम्मेवारी बाँडफाँड गर्दाहोस् । सबै काम सामुहिक छलफल र निर्णयले हुनेगर्छ । घरको मूली छान्नसमेत घरका सबै सदस्यहरुसँग छलफल गरी निक्र्यौल गर्ने प्रचलन थारु समुदायमा छ । देशलाई विधिवतरुपमा सुचारु गर्न प्रधानमन्त्रीको आवश्यकता पर्छ । थारु गाउँलाई विधिवतरुपले चलाउन बडघरको आवश्यक्ता पर्छ । घरलाई हाँक्न घरमूलीको आवश्यकता पर्छ । थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् । यसले एकातिर सामाजिक भावनाको विकास गर्छ भने अर्कोतिर निर्णय प्रक्रियामा सहभागी हुन सबैलाई उत्प्रेरित गर्छ । सहयोग, सहकार्य र समन्वय गर्ने भावनाको पनि यसले विकास गराउँछ । त्यसैले पनि माघीपर्वको सामाजिक महत्व बढी छ, भन्न सकिन्छ ।
सांस्कृतिक महत्वः
सांस्कृतिकरुपमा धनी समुदायमध्ये थारु एउटा हो । नेपालमा १२६ जातजाति र १२३ भाषाभाषि बोल्ने समुदाय छन् । थारु समुदाय भाषिकरुपमा चौथो ठूलो समुदाय हो । भाषा र संस्कृतिमा धनी यस समुदायको आफ्नो रीतिरिवाज, चालचलन र सांस्कृतिक मान्यताहरु रहेका छन् । वर्ष दिनभर मेहनत गरेर फसल उत्पादन गर्ने र थकानकालागि महिनैपिच्छे विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम यस समुदायले गर्नेगर्छ । थारु समुदायको नृत्य, सांस्कृतिक कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल भएको छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम भनेपछि जोसुकै हुरुक्कै हुन्छन् । अवलोकनका लागि लालायित हुन्छन् । यही थारु समुदायको सांस्कृतिक गौरवको विषय हो ।

माघी पर्वमा मटौता, हुरदंग्वा, झुमरा लगायतका नाचहरु नाचिन्छन् । सामुहिकरुपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायबीचको मेलमिलाप, भातृभाव र सामुहिकतालाई थप सहयोग गर्नेगर्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम केवल सो समुदायकालागि मात्र होइन । यो त सिंगो नेपालीहरुको सांस्कृतिक गहनाकोरुपमा रहेको छ । वर्षौवर्षसम्म एकापसमा भेटघाट नभएका व्यक्तिबीच माघीपर्वले भेटघाट गराउने, समन्यय र सदभाव बढाउने काम गर्छ । सांस्कृतिक कार्यक्रमले एकातिर मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिर सो समुदायको सांस्कृतिकपक्षको जगेर्ना गरिरहेको हुन्छ । नियमितरुपमा हुने यस्ता सांस्कृतिक कार्यक्रमले युवापीढिलाई समेत आकर्षित गर्छ र अंग्रेजी पढ्ने नाममा समाजबाट टाढा भएका युवा विद्यार्थीको समेत ध्यानलाई आकर्षित गर्छ । यसको बलियो सांस्कृतिक पक्षले गर्दा बुढापाकाले मनाउने यस्ता सांस्कृतिक कार्यक्रम क्रमशः युवामा हस्तान्तरण हुँदैजान्छ । खासगरी माघीपर्व परम्परागतरुपमा मनाइने भएपनि यसको सांस्कृतिक पक्षलाई जोगाउनु पनि उत्तिकै महत्वको विषय हो । यसले एकअर्कालाई एउटै मालामा बाँधेर राख्ने हिम्मत र उर्जा दिन्छ, त्यसैले पनि माघीपर्वको सांस्कृतिक महत्व ज्यादा छ ।
राजनीतिक महत्वः
थारु समुदाय यहाँको आदिबासी भएपनि राजनीतिक चेतनामा निकै पछाडि परेको समुदाय हो । यस समुदायले स्थानीय गाउँघरमा सदियौंदेखि राजनीतिक अभ्यास गरेपनि देशको मूल प्रवाहीकरणको राजनीतिमा सहभागीता जनाउन पाएनन् । गाउँको अगुवा, बडघर, घरमुली, विकास निर्माण समितिको संयोजक भएर परापूर्वकालदेखि काम गरे । तर त्यही अनुभवलाई मूलप्रवाहमा लग्न पाएनन् । राजनीतिक र शैक्षिक चेतनाको अभावले पनि सो सम्भव नभएको होला । यद्यपि अहिले थारु समुदाय तुलनात्मकरुपमा सचेत र शिक्षित भइसकेको छ । तर मूल राजनीतिमा उनीहरुको नेतृत्वकर्ता नभएका कारण अझै पनि राजनीतिबाट बञ्चित छन् । थारु समुदायसँग गाउँ सञ्चालन गरेको, कुलापानीको नेतृत्व गरेको, विकास निर्माणमा अगुवाई गरेको राम्रो ज्ञान छ । सोही ज्ञान देशको राजनीतिमा उतार्न पाए देश विकासमा ठूलो सहयोग पुग्थ्यो । तर थारु समुदाय राजनीतिको बञ्चितिकरणमा छन् । उनीहरुलाई हात समातेर तान्ने आफ्नो कोही छैन । थारुलाई भोट बैंककोरुपमा प्रयोग गर्नेहरुमात्र राजनीतिमा सक्रिय भएकाकारण सो समुदाय राजनीतिक खड्किलो चढ्न नसकेको उनीहरुको बुझाई छ ।

अहिले देशको राजनीति परिवारवाद, आफन्तवाद र क्षेत्रवादमा सीमित हुँदैगएको छ । त्यसले इमान्दार र मेहनती मान्छे राजनीतिक मूलप्रवाहमा जानबाट रोकिएका छन् । दाउपेच र घिनौना काम राजनीतिमार्फत् हुनेगरेको छ । जसकाकारण पनि सिधासाधा, इमान्दार थारु समुदाय त्यस्तो काममा हात हाल्न डराइरहेको छ । तर देशको समुचित विकासकालागि असली अगुवा, इमान्दार नेताको खाँचो छ, जुन अहिलेको राजनीतिमा कोही देखिएका छैनन् । यसले देशलाई नोक्सान त गरिरहेको छ नै, देशका लागि विकास गर्न चाहने नेता र समुदाय पनि बञ्चित भइरहेका छन् ।
थारु समुदायको माघीपर्वले गाउँको नेतृत्वकर्ता वडघर, घरको नेतृत्वकर्ता घरमूली, फलामको काम गर्ने, कपडा सिउने, हुलाकीको कामगर्ने चौकीदार, स्वास्थ्य सुरक्षाकालागि गाउँ सञ्चालन गर्ने देशवन्ध्या गुरुवा, गाउँ गुरुवा आदिको नेतृत्व छनौट गर्छ । एक वर्षकालागि छनौट हुने यस्ता अगुवा प्रतिनिधिलाई सामुहिक भेला र छलफलबाटै निर्णय गर्ने प्रक्रिया छ । यो सदियौंदेखि गाउँमा चलनचल्तीमा रहेको प्रचलन हो । यसलाई सांस्कृतिकरुपमा मात्र हेर्न सकिन्न । नेतृत्व चयन गर्ने प्रक्रिया राजनीतिसँग जोडिएको छ । जुन अभ्यास थारु समुदायले युगौयुगदेखि गर्दैआएका छन् । तर उनीहरुको राजनीति सीमित घेरामा जकडिएको छ । लोकतान्त्रिक प्रक्रियाअनुसार गरिने यस्ता नेतृत्व छनौटको अनुभवलाई देशको नेतृत्वकर्ताले पाठकोरुपमा सिक्नसके देशको विकास उहिल्यै भइसक्थ्यो ।
थारु समुदायले सकेसम्म सहमतिमा गाउँको नेतृत्वकर्ता बरघरको छनौट गर्छन् । त्यसरी सहमति नभए निर्वाचन प्रक्रियाबाट गर्छन् । निर्वाचन नभए गोलाप्रथाको पनि प्रयोग गर्छन् । तर ९० प्रतिशत जति गाउँमा सर्बसहमतिले नेतृत्व चयन हुने गर्छन् । यही थारु समुदायको सुन्दरपक्ष हो । सर्वसहमतिले गरेको नेतृत्वकर्ता सबै गाउँबासीको प्यारो रहने हुनाले काम गर्नमा समेत सहयोग पुग्ने विश्वास रहँदैआएको छ । नेतृत्वकर्ता पुरुष, महिला वा गैरथारुलाई पनि स्वीकारिन्छ । गाउँको भलाई चाहने जोकोही नेतृत्वमा आउनसक्छ ।
धार्मिक महत्वः
माघे संक्रान्तिकोरुपमा मनाइने माघीपर्वको आफ्नै धार्मिक पक्ष छ । माघ १ गतेदेखि सूर्य उत्तरायणलाग्ने र गर्मीयामको शुरुवात हुने दिनकोरुपमा पनि यसलाई लिइन्छ । माघीपर्वलाई थारु समुदायले नयाँवर्ष मात्र होइन, मुक्तीपर्वको रुपमा पनि लिन्छन् । धनधान्य पर्वकोरुपमा पनि मनाउँछन् । सदियौंदेखि पश्चिम नेपालका थारु समुदाय अरुको घरमा दासकोरुपमा कमैया जीवन जिउँथे । कमलरी जीवन जिउन बाध्य थिए । तर तत्कालिन सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि अरुको घरमा कमैया जीवन जिउनबाट थारु समुदाय मुक्त भए । त्यस्तै, २०७० साउन ३ गतेबाट कमलरी मुक्तीको घोषणा सरकारले ग¥यो । तर मुक्तभएका कमैयाहरुको पुनस्र्थापनाको काम नसकिनु र मुक्त घोषणा भएका कमलरीहरु अझै मालिकको घरबाट मुक्त हुन नसक्नुले दासदासीप्रथाको अवशेष कायमै रहेको आभास दिलाउँदैआएको छ ।

थारु समुदायले माघ १ गते कुनै पापको काम गर्दैनन् । मासुका लागि पुसको अन्तिम दिन नै सुंगुर, बंगुर, खसी, कुखुरा काट्ने चलन छ । माघेसंक्रान्तिका दिन चिसो र चोखो पानीमा स्नान गरेर मठ मन्दिरमा गएर पूजापाठ गर्ने, पूर्खाको आशीर्वाद लिने र साकाहारी परिकार खाने प्रचलन छ । यसले थारुको धार्मिक पक्षलाई बलियो बनाएको छ । यस पर्वमा थारु सदस्यहरुले दानदक्षिणा प्रदान गर्ने पनि गर्छन् । माघ १ गते जलाशयमा स्नानगर्दा जलदेवतालाई पैसा चढाएरमात्र स्नान गर्छन् । यसरी गर्दा वर्षदिनभर जान अन्जानमा गरिएका पापकर्म पखालिने विश्वास सो समुदायमा छ । यस पर्वमा विवाहित चेलीबेटीलाई गच्छअनुसारको उपहार, दान दक्षिणा दिने प्रचलन थारु समुदायमा छ । चामल, नून, दाल, खुर्सानी, नगद, गरगहना समेत ‘निसराउ’कोरुपमा चेलीबेटीलाई दिने प्रचलन छ । यसले पनि धार्मिक सुसम्बन्धका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
टुंग्याउनी
माघीपर्वको थारु समुदायमा बहुआयामिकता रहेको छ । यस पर्व खानपिन र नाचगानमा मात्र सीमित छैन । मनोरञ्जन, रमाइलो सँगसँगै यसको धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक महत्व पनि उत्तिकै छ । नयाँ कामको शुरुवात गर्ने, नयाँ योजना बनाएर अघि बढ्ने काम यसै महिनादेखि थारु समुदायले गर्नेहुनाले यसलाई नयाँ वर्षकोरुपमा हेरिएको हो । थारु समुदायको सामाजिक भावना र एकताले सिंगो नेपालीलाई उत्प्रेरित गर्नेगर्छ । माघीपर्वले भत्केकालाई बनाउने, विग्रेकालाई सपार्ने, रिसरागको अन्त्य गर्नेगर्छ । नयाँ सम्बन्धको सुधार गर्ने अवसरकोरुपमा यस पर्वलाई मनाउने गरिन्छ । यस पर्वबाट सिंगो नेपालीले प्रेरणा लिनसके नेपाल र नेपालीबीचको भावनात्मक एकता, अखण्डता, राष्ट्रियता र मेलमिलापमा थप सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । थारु समुदायको बरघर प्रथा र प्रथाजनित कानूनलाई स्थानीय निकायको पुनःसंरचना गर्दा कानूनी मान्यता दिएर स्थानीयतहदेखि सहभागीता र संलग्न गराउन सके त्यसले विकास निर्माणमा टेवा पुग्ने छ । यसप्रति नेता र देशका अगुवाहरुको ध्यान जाओस् ।




