
हाम्रो यहाँ भनाइ र गराइमा निकै फरक पाइन्छ । हाम्रा नारा हुन्छन्– महिला र पुरुष एकै रथका दुई पांग्रा हुन् । रथ हेर्न त अब दुर्लभ भै सक्यो । बुझ्ने भाषामा यसलाई एउटै ट्याक्टरका दुइटा टायर हुन् भन्न सकिएला । तर वास्तवमा महिला–पुरुषले त्यो दुई टायरको भूमिका पनि निर्वाह गरेका छैनन् । पुरुषले आफुलाई अगाडिको टायर सम्झन्छन् र महिलालाई पछाडिको टायर । तर वास्तविकता त्यस्तो हुँदैन । पुरुषहरु महिलामै निर्भर हुन्छन् । पुरुषलाई तिर्खा लाग्यो, पानी आफै सारेर खान सक्दैनन् । तलतल लाग्यो, चिया पकाएर खान सक्दैनन्, खाँदैनन् । भोक लाग्यो खाना पकाएर खान सक्दैनन् । त्यसैगरी लुगा धुन सक्दैनन्, भाँडा माझ्न सक्दैनन् । ऊ आफू पनि महिलाजस्तै स्वाभाविकरुपले आफ्नो काम आफै गर्न किन सक्दैन त ? जब उसले आफ्नो काम आफै गर्न सक्दैन भने त्यस्ता व्यक्तिलाई कमजोर वा परनिर्भर रहने व्यक्तिका रुपमा किन उपमा नदिने ? अनि महिला र पुरुष कसरी एउटै ट्याक्टरका दुइटा टायर भए त ? बरु एउटै ट्याक्टरको स्टेरिङ र ट्रली हुन् । स्टेरिङले ट्याक्टर कता लैजाने वा कुदाउने कुराको निर्धारण गर्छ भने ट्रलीमा मालसामान कोचेर स्टेरिङको इच्छा बमोजिम अप्ठ्यारो, सप्ठ्यारो सबै वाटो कुद्न बाध्य हुन्छ ।
पुरुषले आफुलाई अगाडिको टायर सम्झन्छन् र महिलालाई पछाडिको टायर । तर वास्तविकता त्यस्तो हुँदैन । पुरुषहरु महिलामै निर्भर हुन्छन् ।
अब हामी महिला नै कस्ता–कस्ता छौं त ? भनेर अनुहारमा ऐनाको भेट गराउनुपर्ने हुन्छ । श्रम ज्यालामा काम गरी परिवार पाल्ने ग्रामीण तथा सहरी महिला, घरेलु काममा नै व्यस्त रहने ग्रामीण र सहरी महिला, घरगृहस्थीको काम गर्दै आफै कृषि उपज तरकारी, फलफूल, दुध, अन्डा, कुखुरा, परेवा आदिको उत्पादन बिक्री गरी आयमूलक कार्यसमेत गर्ने ग्रामीण महिला । घरगृहस्थीको काम गर्दै, घरेलु उद्योग मैनबत्ती, अगरबत्ती, तरकारी पसल, फलफूल पसल, किराना दोकान चलाउँदै परिवार पाल्ने सहरी महिला अनि सरकारी तथा गैरसरकारी कार्यालय र संघ, संस्थामा काम गर्ने र अरुसँग सम्पर्क गर्न नरुचाउने जागिरे ग्रामीण तथा सहरी मामिला । गैरसरकारी संघ, संस्थाका संचालक रहेका कार्यक्रममा आफूमात्रै हिँड्दै सधैं पुरुषलाई गाली गर्न जान्ने सहरी महिलाहरु । मासिक तलब नलिने आफूले कुस्त कमाउने अनि महिलाको हितमा आफ्नो कुनै योगदान नदिने डाक्टर, वकिल र राजनीतिमा लागेका महिला । आफूले प्रगति नगरे पनि बरु ठीकै छ, तर अरुले कसैगरी प्रगति नगरोस् भन्ने ईष्र्यालु सहरी महिला । आफूले लुकेर जे गरे पनि ठीक छ, तर अरुको चियोचर्चो बढी गरी, दिनभरि अर्काको कुरा काटेर समय विताउने ग्रामीण महिला । आफू ४ पैसाको आय आर्जनमा संलग्न नहुने अनि लोग्नेलाई वैद्य, अवैध जसरी भएपनि कमाएर विलासी जीवन विताउन दवाव दिने शौखिन सहरी महिला आदि–आदि ।
आफू ४ पैसाको आय आर्जनमा संलग्न नहुने अनि लोग्नेलाई वैद्य, अवैध जसरी भएपनि कमाएर विलासी जीवन विताउन दवाव दिने शौखिन सहरी महिला आदि–आदि ।
माथि उल्लेखित थरीथरीका महिलाहरुमध्ये आफू कुन जात वा श्रेणीका महिलामा पर्नुहुन्छ, आफूले आफ्नै मूल्याङ्कन गर्नुस् । अनि मलाईचाहिं आत्मस्वावलम्बन र आर्थिक स्वावलम्बनमा रहेका ग्रामीण महिलाको क्रियाकलापको चर्चा गर्न मन लागेको छ । तराईका ग्रामीण महिलाहरु आजभोलि प्रायः माध्यमिक विद्यालयस्तर (कक्षा ८ देखि १०) नगरेका कमै हुन्छन् । पहाडमा अझै पनि अशिक्षित महिलाहरुको संख्या ठूलै छ । तराई देहातका महिलाहरु घरको नियमित कामको साथै गाई, भैंसी, बाख्रा, कुखुरा, परेवा पालनमा पनि संलग्न भई प्रत्यक्ष आयआर्जन गर्छन् । त्यसका अलावा तरकारी खेती, केरा खेतीवाट पनि आय आर्जन गरेर लोग्ने तथा छोराछोरीको पालनपोषण गर्छन् । समय र अवसर मिलाएर तालिम, गोष्ठी, समाजसेवा र महिला अधिकारको नारा लगाउन पनि भ्याएकै हुन्छन् । गाउँमा कुनै महिलाको शंकास्पद मृत्यु भएमा दुई चारसय महिला जम्मा भएर प्रहरी र अदालतसम्म पुगी निष्पक्ष न्यायको दबाव दिनु अब सामान्य भइसकेको छ ।
राजनीतिक चेतनाका साथ ग्रामीण महिला स्वावलम्बनको सिँढी उक्लँदै गए पनि प्राविधिक र आर्थिक विकाससम्बन्धि ज्ञानको खाँचो टड्कारो देखिन्छ ।
यी महिलाहरु दुई चारसयका लागि आत्मनिर्भर पनि भइसकेका छन् । एनमौका मिलाएर सहर, बजार निस्कनुपरे, सौन्दर्यका सामाग्री अनुहारमा घसेर हिलजुत्ता लगाई सहरीया होटलमा नास्ता खान पनि तयार हुन्छन् भने हाटबजारमा भुइँमै बसी आफ्ना उत्पादन तरकारी, केरा, कुखुरा, परेवा, अन्डा आदि बिक्री गर्न पनि तयार नै हुन्छन् । साइकल उनीहरुको प्रिय साधन हो भने पैदलयात्रा गर्नेको संख्या पनि काम छैन । यी महिलाहरु उपकारी, गुणी पनि असाध्यै हुन्छन् । आफूले जानेका सीप सिकाउन छरछिमेकमा आवश्यक परे सरसहयोग गर्नु, आफुले दुःखजोहो गरेर कमाएको, लुकाएको त्यही दुई चारसय पनि गाउँघरमा खान खाँचो परेमा सापटी पनि दिन्छन् । १०, २० हजार भए व्याजमा लगाउने चलन छ । महिलाहरु ग्रामीण विकास बैंक र सहकारीमार्फत स–सना व्यावसायिक कर्जा लिन र ऋण तिर्न आतुर हुन्छन् । महिलाले लिएको कर्जा खराब कर्जाको सूचीमा पर्दैन ।
सामाजिक र सांस्कृतिक पर्वहरुमा नाचगान र भजनकीर्तनमा रमाउने तिनै महिला दलका जनवर्गीय संगठनमा विभक्त छन् । दलका नारा उराल्दै आप्mनै दलले मात्र महिलाको हकहित गर्छ भनी वकालत गर्न माहिर हुन्छन् । समग्रमा महिलाको चेतना बृद्धि हुँदैछ । राजनीतिक चेतनाका साथ ग्रामीण महिला स्वावलम्बनको सिँढी उक्लँदै गए पनि प्राविधिक र आर्थिक विकाससम्बन्धि ज्ञानको खाँचो टड्कारो देखिन्छ । महिनामा २ मन मकैको दाना खुवाएको बाकावाट कति नाफा हुन्छ ? यो रोग लागेको कुखुरालाई कसरी बचाउने ? कुन रोगको के लक्षण हुन्छ ? अर्गानिक तरकारी खेती कसरी गर्ने ? आदि विषयको प्राविधिक ज्ञान र इमान्दार व्यक्तिलाई विनाधितो ऋण लगाउन बैंकहरुलाई प्रोत्साहन गरेमा ग्रामीण महिलाहरु आर्थिक स्वावलम्बनको सिँढी उक्लन सक्छन् ।



