साउनको झरि सँगसंगै अहिले भाषिक शुद्धताको वहस लिएर हाम्रो थारु भाषामा पनि पहिरो आएको महसुस गरिरहेको छु । यो राम्रै कुरो हो । यो एक न एक दिन आउनै पर्ने थियो । ठिकै समयमा आएकोजस्तो भान हुन्छ । हुन त यो पहिरो अहिले नेपालको पश्चमी थारु भाषामा आएको देखिन्छ । तर साँचिकै भने हो भने हामी कुनै पनि भागका थारुहरु यो समस्याबाट अछुतो छैनौं ।
के हो थारु भाषा
थारु भाषा भनेको थारुको भाषा हो । थारु बालबच्चाहरु आमाको दुध खाँदाखाँदै आमाबाट सिकेको भाषा हो । यो थारुको मातृभाषा हो । थारु समुदायको भाषा हो । थारु भाषा भारतीय उत्तरी उपमहाद्वीपका धेरै पुरानो भाषा हो । यो भाषा उत्तरी उपमहाद्वीपका थारु जतिकै पुरानो भाषा हो । थारु समुदाय भारतीय उत्तरीय उपमहाद्वीपका एकल पुरानाबासी हुन् । जतिखेर थारु जाति यो भू–भागमा बसिरहेका थिए । त्यस समयमा यो थरुहट भूभागमा थारु जाति बाहेक अरु जातिको बसोबास थिएन् । पछि अरु समुदायहरु पनि यो थरुहट भूभागमा थोरथोर संख्यामा आउन लागे । थरुहटमा थारुसँग बस्नको लागि थारु भाषा सिक्न थाले न कि थारुहरु ती अल्प संख्यकहरुका भाषा सिखे ।
थारु भाषाको महत्व
थारु भाषा अदौका भाषा हुन् । यो भाषा पुराना सबै किसिमका भावपूर्ण, मिठो, वियोगान्त सामाजिक, धार्मिक तथा तन्त्रमन्त्रयुक्त पौराणिक गीत गोदहनहरुले भरिभराउ भएको भाषा हो ।
यति मात्रै होईन, यो भाषा संसारमै भएका भाषामध्ये करिब सबै भाषाभन्दा सजिलो र मिठो भाषा हो । यसैले बाह्रौं तेह्रौं शताब्दीमा तिरहुतका कर्नाटक बंशीय तेस्रो पुस्ताका थारु राजा कीर्तिसिंह देवलाई खुशीपार्न विद्यापति कविले अवहठ्ट (थारु) भाषामा कीर्तिलता र कीर्तिपताका नाम गरेका दुईवटा महाकव्य रचना गर्नु भयो । जहाँ कवि स्वयम् प्रथम पल्लवमै लेख्नु भएको छ ‘किस देसिल बअना सब जन मिठा । तै तैसन जम्पऔ अवहठ्टा ।।’ अर्थात् यो देशी भाषा सबैलाई मिठो लाग्छ त्यसैले म यो अवहठ्ट (थारु) भाषामा यी काव्यहरु रचना गरेको छु ।
थारु भाषामा न लिङ््गको झन्झट छ न वचनको । न आदरार्थीको समस्या छ न त पुरुषको । न त अरु भाषाजस्तो थरिथरिका क्रिया पदहरुले ग्रसित छ । जसलेगर्दा अरु भाषीयहरु दुई तीन महिनामै सजिलैसँग थारु भाषा सिकिरहेका छन् । फलस्वरुप अहिले थारुभाषा तराई र उत्तरी भारतीय भूभागको सम्पर्क भाषा बनेको छ । सबै यही भाषा बोल्दछन् । बोल्छन् सबै थारु, भन्छन् कोई मैथिली, त कोई बज्जी, त कोई भोजपुरी, त कोई अवधी, तर व्यवहारमा उसले थारु भाषा बोलिराखेको हुन्छ ।
हाम्रा थारु विद्यार्थी स्कूलको परीक्षादेखि हरेक आयोगको परीक्षामा असफल हुनेछन् । किनकि थारु भाषाको मानकको रुपमा तयार भएको मध्यपूर्वी थारु–नेपाली शब्दकोष र ब्याकरणबाट (ऊ, अं र अ.) स्वर वर्ण हराएका छन् भने (ञ, ण, श, ष, क्ष, त्र, ज्ञ) व्यन्जन वर्ण ककहराबाट हराएका छन् ।
२०६८ सालको राष्ट्रिय जनगणनानुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । जसमध्ये थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । भाषागतरूपमा थारू भाषीहरुको संख्या १५ लाख २९ हजार ८७५ मात्र छ । जो प्रतिशतमा ५ दशमलब ७७ प्रतिशत हुन्छ । यस किसिमले यो भाषा नेपालको चौथो स्थानमा पर्दछ ।
थारु भाषाको बारेमा खासै वैज्ञानिक अध्ययन अनुसन्धान भएको देखिदैन । यस सम्बन्धमा केही भन्ने हो भने यस भाषालाई अहिले तीन कालमा विभाजन गर्न सकिन्छ । २०२८ साल अगाडिको समय (काल), २०२८ सालदेखि २०७२ सालसम्मको समय –काल) र २०७२ साल पछिको समय (काल) ।
२०२८ समय –काल)
यो समयलाई बोलाई काल भन्न सकिन्छ । यस समयको कुनै लेखत सामग्रीहरु जस्तै कथा, कविता, निबन्धहरु वा छापा सामग्रीहरु देखिदैन । हस्तलिखित केही तमसुक, बंशावली, थारु इतिहास, तंन्त्रमंन्त्र, गीत गोदहन, फोकरा पिहानीहरु मात्र देखिन्छन् । तर यसको अर्थ यो होईन कि यो भाषामा केही छदैछैन् । यो भाषा साँस्कृतिक पौराणिक गीत गोदहन, फोकरा पिहानी, भजन कीर्तन, तन्त्रमन्त्र, कथा, प्रहसन, नाच, नाटकहरुले मौखिकरुपमा भरिपूर्ण छ । अहिले पनि यी मौखिक सम्पदाहरुको खोजी, लेखन र प्रकाशनको काम गर्ने हो भने कति समय लाग्ला, सहजै अनुमान गर्न सकिदैन् । यी सबै सम्पदाहरु अलिखित मौखिक रुपमा हाम्रो समाजमा विद्यमान छन् ।
यो बोलाई रुप धेरै दिगो तथा भरपर्दो हुँदैन । यसको प्रचारप्रसार त्यति हुँदैन । भाषा छिनाझपटी हुने बढी डर हुन्छ । यो एलानी जग्गाजस्तै बुझ्न सकिन्छ । एलानी जग्गा जो पहिला दर्ता गराउँछ । त्यसैको हुने जस्तो भएर अहिले यो फटाहा जमानामा को पहिला यसको दर्ता गराएर यो भाषाको सही हकदारबाट पनि बन्चित हुनबेर हुँदैन । यो थारुभाषा अरुले खोस्ने डर सँधै रहिरहन्छ ।
२०२८ देखि २०७२ समय अवधि (काल)
थारु भाषालाई अपहरण तथा खोसाखोसबाट जोगाउन र थारु भाषालाई सरस, सुन्दर तथा दिगोरुप दिनको लागि यो समयमा अगुवाबाट थारु भाषामा केही काम भएको देखिन्छ । जुन काम स्वरुप सभा सम्मेलन, गोष्ठी हुने, पत्रपत्रिका प्रकाशन गर्न संघ संस्था गठन भएको, विभिन्न संस्थामा थारु भाषाको पक्षमा वकालत भएको जस्ता काम भएको छ । २०१८ सालमा रौतहटबाट रामप्रसाद रायको ‘बउवा अर बहुरिया’, २०२८ सालमा भाषा प्रेमी महेश चौधरीको प्रधान सम्पादनमा दाङगबाट ‘गोचाली’ वार्षिक पत्रिका प्रकाशन हुन लागेको थियो । त्यस्तै २०३३ सालदेखि भूतपूर्व महान्यायाधिवक्ता स्व. रमानन्दप्रसाद सिंह थारुको प्रधान सम्पादनमा काठमाण्डौबाट ‘थारु संस्कृति’ वार्षिक पत्रिका, हरिदेव चौधरीको प्रधान सम्पादनमा काठमाण्डौबाट ‘चिरखा’ पत्रिका वार्षिकरुपमा, काठमाण्डौबाट नै ‘ईजोत’ पत्रिका वार्षिकरुपमा प्रकाशन भएको देखिन्छ । थारु भाषाका केही पुस्तकहरु पनि प्रकाशित भएका छन् । जुनमा यो पङ्त्तिकारकै कलमबाट ‘थारु दस्तावेज २०५७’ थारु संस्कृति निबन्ध संग्रह २०६१ र ‘हमर थारु भाषा यात्रा’ २०७२ प्रकाशिन भएका छन् ।
मुख्य कुरो के हो भने यस अवधिमा चाहे पत्रपत्रिका हुन् वा पुस्तक सबै देवनागरी लिपिका १० वटा स्वरवर्ण र ३६ वटा व्यञ्जन वर्ण र हिन्दी भाषाकै ह्रस्व दीर्घ र उकार ऊकारका नियमलाई आत्मसात गरेर लेखिएका छन् । किनकि थारु भाषा हिन्दी भाषाको धेरै नजिकको भाषा हो । कुमार, डा. अजेय, ‘थारु और राष्ट्रभाषा हिन्दी’ पीएचडी की उपाधि के लिए स्वीकृत शोधपत्र, ई २००३।
यहाँ थारु भाषा थारु शब्दहरुको उच्चारणको आधारमा लेख्नुको साथै थारु भाषाका अन्य कुराहरु जस्तै सहायक क्रिया, क्रिया र पदसंगतिहरु थारु भाषाको आफ्नै नियमअनुसार लेख्ने काम भएको छ । यहाँसम्म थारु भाषाका आफ्ना कुनै मानक बनिसकेको छैन । तर यी उपर्युक्त कुरोलाई सबैले स्टेनडर्डको रुपमा लिएकै थिए । कुनै विशेष विरोधाभाष थिएन ।
२०७२ देखि पछिको समय (काल)
यस काललाई थारु भाषाको मानक कालको रुपमा लिन सकिन्छ । मानक भनेको सबै जनाले मान्ने कुरा हो । थारु भाषाको मानक भनेको थारु भाषाको एउटा सही मापदण्ड हो । जो सबै जनाको लागि मान्य हुन्छ । थारु भाषामा कुनै समस्या छ भने मानकले त्यो समस्या समाधान गर्न सक्ने क्षमता राख्न सक्नु पर्छ ।
थारु भाषामा स्थान भेद, काल भेद तथा बाटोको अभावमा आपसी भेटघाटको समस्याले गर्दा धेरै विविधता देखिन्छ । यो थारु भाषा एकतामा अनेकता छ । यो थारु भाषा ‘कहीँ न भएको हाँडी गाउँको जात्रा सरह’ भएको छ । ठाउँ ठाउँ अनुसारका भाषा भएको छ । वास्वमा यो थारु भाषा एउटै भाषा हुँदाहुँदै पनि अहिले यसको अनेकरुप देखिन्छ । थारु मातृभाषा धेरै पूरानो भाषा हो । तर पनि यस भाषामा विविधताको कारणले सबैलाई काम लाग्ने व्याकरण, शब्दकोश तथा मानकको अभावले गर्दा अहिलेसम्म एउटै लेखनशैली बन्न सकेको छैन् । २०७३ सालमा मध्य पूर्वीया थारु भाषा (पर्सादेखि झापा) सम्मको लागि कति जतन गरेर मानक बनेको छ र आशा छ कि यस्ता मानक अरु क्षेत्रका थारु भाषाको लागि पनि निकट भविष्यमा बनोस् ।
मानक तयार गर्नु कठिन काम हो । थारु भाषीय विद्वान, थारुभाषी प्रेमीहरु तथा मातृभाषा केन्द्र नेपाल र सील इन्टरनेशनल नेपालका भाषा विद्हरु कति मेहनत र आर्थिक लगानीको फलस्वरुप थारु भाषाको लागि एउटा मानक बनाउन सफल हुनुभएको छ । उहाँहरु यो मानक लेखन कुनै कसुर बाँकी राख्नु भएको छैन् । जसअनुसार मातृभाषा सेवा केन्द्रका भाषा विशेषज्ञहरु मध्यपूर्वका बाह्रैवटा जिल्ला सर्वेक्षण गरेर हरेक जिल्लाका थारु मातृभाषाको अध्ययन अनुसन्धान गरेर हरेक जिल्लाबाट थारु भाषा विज्ञ वा थारु भाषा प्रेमीहरुको तालिका तैयार गरेर उनीहरुसँग छलफल गरेपछि हरेक जिल्लाबाट त्यस तालिकाबाट पाँच छ नाको दरले विशेषज्ञहरुलाई काठमाडौं बोलाई शब्द संकलन कार्यशाला गोष्ठी सञ्चालन गरेर शब्दहरु सङ्कलन गर्नुभएको छ । उहाँहरु आफ्नो कार्यशालामा थारु व्याकरणका नियमहरु बनाई एक एक दफावाईज छलफल गरेर व्याकरण ड्राफ्ट गर्नुभएको छ ।
यो शब्दकोष यदि सबै थोक बिर्सेर मातृभाषाकै विकास, संरक्षण, सम्वर्धन तथा थारुहरुको पहिचानमा केन्द्रित हुने हो भने यो धेरै राम्रो काम भएको छ । तर यसका लागि यो थारु भाषा सबै किसिमले आत्मनिर्भर हुनुपर्ने आवश्यक देखिन्छ । उनीहरुका सबै काम कारोवारहरु थारु भाषाकै माध्यमबाट सम्पन्न हुने प्रावधान हुनुपर्छ । उनीहरुले स्कूलीय पढाईदेखि जागिरको लागि लिखित र मौखिक परीक्षा सबै थारु भाषामै दिने प्रावधान हुनुपर्छ । नत्र यो आफ्नै मातृभाषाले आफ्नै विकासको बाटोमा तगारो बन्न सक्छ ।
हाम्रा थारु विद्यार्थी स्कूलको परीक्षादेखि हरेक आयोगको परीक्षामा असफल हुनेछन् । किनकि थारु भाषाको मानकको रुपमा तयार भएको मध्यपूर्वी थारु–नेपाली शब्दकोष र ब्याकरणबाट (ऊ, अं र अ.) स्वर वर्ण हराएका छन् भने (ञ, ण, श, ष, क्ष, त्र, ज्ञ) व्यन्जन वर्ण ककहराबाट हराएका छन् । यसले गर्दा हाम्रा भावी सन्ततिलाई यी वर्णहरुको बारेमा जानकरी प्राप्त हुँदैन । यी वर्णहरुको मद्दतले नेपाली भाषाहरुमा निर्माण हुने शब्दहरु सही निर्माण गर्न सक्दैन । किनकि हाम्रा थारु भाई बहिनीहरु ऊ, अं, अः, ञ, ण, श, ष, क्ष, त्र, ज्ञ वर्णको प्रयोग गर्न जानैको हुँदैन । जुन नेपाली भाषामा अत्यधिक मात्रमा प्रयोग हुन्छन् । यति मात्रै होईन, हाम्रा थारु भाई बहिनीहरुले अरु भाषाबाट थारु भाषामा आएका आगन्तुक शब्दहरु पनि थारु ककहरा अनुसार अर्थात् थारु उच्चारण, वर्णमाला र लेखनशैली अनुसारनै लेख्नु पर्ने भएर उनीहरु यी वर्णहरुको प्रयोगमा धेरै नै कमजोर हुन जान्छन् । जस्तै– अन्चल (अञ्चल), परिच्छा (परीक्षा), बान (बाण) ईत्यादि । त्यस्तै यो मानकअनुसार शब्दको शुरु र मध्यमा ह्रस्व (इ) हुन्छ भने अन्त्य (पूच्छार) मा दीर्घ हुन्छ । सबै ठाँउमा ह्रस्व ‘उ’ कै प्रयोग हुन्छ जो कि नेपालीमा संधै लागु न हुनसक्छ । यसअनुसार लेख्दाखेरि पूर्वका धेरै साथी, दाजुभाईहरुबाट गाली खाइसकेको छुँ । जबकि म यो कार्यशाला गोष्ठीमा थिएन । उहाँहरुको सल्लाह ठीक लाग्यो ।
मध्यपूर्वी थारु भाषाका मानक लेख्ने हाम्रा भाषाविदहरु यी उपयुक्त १० वटा वर्णहरु हटाएर धेरै गल्ती गरेका छन् भन्ने कुरो होईन । उनीहरु लेखनशैलीलाई सजिलो बनाउनु भएको छ । ती वर्णहरु आफैमा देवनागरी लिपिरुपी भाषाका अनावश्यक वर्णहरु हुन् । यी वर्णहरुलाई आफ्ना भाषामा राखेर जो पनि गल्तीमाथि गल्ती गर्दैआएका छन् । गल्ती गर्ने मुख्य कारण के हो भने शुरुमै संस्कृतको ब्याकरण लेख्ने समयमा ती वर्णहरुबाट धेरै शब्दहरु बनाइसकेका छन् । जो उसको पछि मानक भइसक्यो र आज ती भाषीयहरु ती वर्णहरु लेख्न मजबुर छन् । यी वर्णहरुलाई आज हटाएर हामी मात्रै बुझेका छौ भन्ने होईन, मानिसहरु हामीभन्दा अगाडि नै बुझिसकेका थिए । तर संस्कृतप्रेमी भएर उनीहरु फेरि गल्ती गर्न विवस छन् ।
अब के थारुको ‘ठारु’ लेख्ने ? दारुको डारु लेख्ने ? अब (त) वर्गलाई फेरि फिर्ता स्थापित गर्नुपर्छ । त्याग्नु हुँदैन । भाषा समृद्ध बनाउन यो अपरिहार्य छ ।
हामी थारु भाषालाई आत्मनिर्भर बनाउन नसकेमा जसको मार हाम्रा भावी पीढीले भोग्नुपर्ने हुन्छ । हाम्रा भावी सन्तानहरुका हितको लागि हामीले केही चीज भुल्नैपर्ने हुन्छ । जस्तै– हाम्रा बुढापाकाका उच्चारणहरु । याद राख्नस्, हाम्रा बुढापाकाहरु संधैको लागि बस्नुहुन्न । मेरो विचारअनुसार रमानन्द बाबु, पंजीयार जी, डा बृजनारायण चौधरी, महेस चौधरी, श्रीमती भारतीय चौधरीकै समयको लेखनशैली ठीक थियो । आखिर थारु भाषामै सबैले सजिलैसँग सबै कुरो लेखैकै थिए । केही प्राप्त गर्नका निम्ति त केही छोड्नै पर्ने हुन्छ । त्यसमा पनि पश्चिमवालाहरुले त ककहराबाट नै त वर्ग नै हटाई सक्नु भएजस्तो लाग्छ । जुन उपयुक्त लाग्दैन । अब के थारुको ‘ठारु’ लेख्ने ? दारुको डारु लेख्ने ? अब (त) वर्गलाई फेरि फिर्ता स्थापित गर्नुपर्छ । त्याग्नु हुँदैन । भाषा समृद्ध बनाउन यो अपरिहार्य छ । भाषा समृद्ध बन्न शब्द बन्नुपर्छ । शब्द बन्न अक्षर चाहिन्छ । हामी लाग्यो भने पश्चिम पूर्वको भाषा मिलि हाल्छ । अहिलेसम्म केही बिग्रेको छैन् । सबैजना यस समबन्धमा बसेर बुद्धि पर्याएर मानक बनाउनुपर्छ । भाषा विकास कुनै व्यक्तिको सनक, लहड, मनमानी र बेइमानीबाट बन्ने चीज होईन । पहिला सबैजना होस् पूर्याएर राम्रो मानक बनाउनुमा लागौं । मेरो शुभकामना छ ।
(सप्तरी निवासी लेखक चौधरी थारु भाषाका विज्ञ हुनुहुन्छ ।)