चिकित्सक लापरवाहीले ललिता चौधरीको मृत्यु, आफन्त आक्रोशित


काठमाडौं, असोज ९ गते । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी ललिता चौधरी (२२) को शनिबार निधन भएपछि आफन्तहरु आन्दोलित भएका छन् । आन्दोलनकाक्रममा सोमबार पाँचजनालाई सुरक्षाकर्मीले अस्पताल हाताबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा मृतक चौधरीका आफन्त तथा आन्दोलनकर्मी छन् । आफन्त गीता चौधरीकाअनुसार आन्दोलनकर्मीले वहिरंग सेवाको झ्यालमा ढुंगा हानेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले पाँचजनालाई गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा आफन्त रामस्वागत चौधरी, रत्नेश्वर चौधरी, सन्तोष चौधरी, आन्दोलनकर्मी रतन केसी र रजन रावत छन् । पक्राउ परेका सबैलाई सातदोवाटोस्थित प्रहरी वित्तमा राखिएको चौधरीले बताउनुभयो ।

सप्तरीको कृष्ण गाउँपालिका २, जन्डोल स्थायी बासिन्दा चौधरी इमाडोल बस्दै आउनुभएको थियो । पेटमा पत्थरीको समस्या देखिएपछि उहाँ नजिकैको किष्ट मेडिकल कलेजमा चेकजाँच गरेपछि चिकित्सकको सल्लाहअनुसार गत साउन १७ गते अस्पताल भर्ना हुनुभयो । मृगौलामा १९ मिलीग्रामको पत्थरी रहेको चिकित्सकको भनाईअनुसार आफन्तले उपचार खर्चको जोहो गरेको विरामीकी दिदी नाता पर्ने गीता चौधरीले बताउनुभयो । विरामी चौधरीको उपचारमा डा. कुशल कार्की नेतृत्वको चिकित्सक टोलीले हेरेको र उहाँहरुको सल्लाहअनुसार नै साउन २३ गते पहिलो शल्यक्रिया गरिएको चौधरीले बताउनुभयो ।

उहाँकाअनुसार पहिलो शल्यक्रियापछि मृगौलामा केही दिनपछि संक्रमण देखिएपछि भाद्रको पहिलो साता पुनः अर्को अपरेशन गरिएको थियो । तर पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मृगौला नै निकालेर फाल्नुपर्ने सुझाव दिएको उहाँले जानकारी दिनुभयो । आफन्तले विरामी ठीक हुन्छ भने मृगौला फाल्ने सहमति जनाएका थिए । मृगौला निकालेर फालेपछि पनि विरामीको होस नखुलेपछि अस्पतालले आइसियूमै राखेर विरामीको उपचार गरिरहेको थियो । विरामीका दाई रामस्वागत चौधरीकाअनुसार विरामी सन्चो नभएपछि अन्तै राम्रो अस्पतालमा रिफरको माग आफन्तले गरेका थिए ।

तर विरामीको अवस्था सुधार हुने भन्दै अस्पतालका चिकित्सकले धैर्य गर्न आग्रह गर्दैआएका थिए । धैर्य गर्नेक्रममा असोज ७ गते शनिबार विरामी ललिता चौधरीको निधन भएपछि आफन्तहरु आक्रोशित भए । अस्पताल प्रशासन र विरामीका आफन्तबीच शनिबारदेखि आइतबारसम्म दुई चरणमा वार्ता भएपनि सहमति नभएपछि सोमबार आफन्तहरु अस्पताल परिसरमा नाराबाजी गरेका थिए । विरामीका आफन्तहरुले अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै भएको खर्च सबै क्षतिपूर्तिको माग गरेपछि तनाव बढेको छ । तर अस्पताल प्रशासनले क्षतिपूर्ति दिन तयार नभएपछि आफन्तले विरामीको निधन भएको तीन दिन भइसक्दा समेत आफन्तले शव उठाएका छैनन् ।

तपाईको प्रतिक्रिया