
हमार पहुरा डट कम
काठमाडौं, भदौ ८ गते । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे घोषणापत्र जारी भएको छ । साउन २५–२७ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनको घोषणापत्र जारी भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आयोजित सम्मेलनले भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पत्रकार, अभियन्ता र सरोकारवालाबिच भएको छलफलबाट सम्मेलनले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो ।
सम्मेलनको उदघाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उदघाटन गर्नुभएको थियो । त्यसैगरी सम्मेलनको समापन काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले गर्नुभएको थियो । फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार विभिन्न देशबाट आउनुभएका मातृभाषी पत्रकारसहित चारसय पत्रकारको सक्रिय सहभागितामा आयोजित सम्मेलनले मातृभाषाको संरक्षण, मातृभाषा पत्रकारिताको नीतिगत सम्बोधनमा विश्वव्यापी सन्देश प्रवाह गरेको छ ।
फोनिजद्वारा जारी घोषणापत्र यस्तो छ–
१. धर्मादित्य धर्माचार्यको सम्मान
नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको ऐतिहासिक योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्दै उहाँको नाममा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसका रूपमा निरन्तरता दिन माग गर्दछौं ।
२. मातृभाषा सञ्चारको अधिकार
आफ्नो मातृभाषामा बोल्ने, लेख्ने, पढ्ने, सूचना प्राप्त गर्ने र सञ्चार गर्ने अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न विशेष मातृभाषा सञ्चार नीति निर्माण र कार्यान्वयन गर्न माग गर्दछौं ।
३. मातृभाषा मिडियाको दिगोपन
मातृभाषामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन, अनुदान, सहुलियत, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराई दिगो र आत्मनिर्भर बनाउन माग गर्दछौं ।
४. मातृभाषी पत्रकारको अधिकार
मातृभाषी पत्रकारको श्रम, पारिश्रमिक, पेशागत सुरक्षा, सम्मान, पहिचान र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै विशेष प्रोत्साहन तथा क्षमता अभिवृद्धिको व्यवस्था गर्न माग गर्दछौं ।
५. भाषा, लिपि र लेख्य परम्पराको संरक्षण
मातृभाषासँगै मौलिक लिपि, लेख्य परम्परा, साहित्य र सांस्कृतिक ज्ञानको संरक्षण तथा पुस्तान्तरण गर्दै डिजिटल युगमा यसको प्रयोग विस्तार गर्न आह्वान गर्दछौं ।
६. शिक्षा र मातृभाषा
विद्यालयदेखि विश्वविद्यालयसम्म मातृभाषामा शिक्षा तथा मातृभाषाको अध्ययन–अध्यापन विस्तार गरी शिक्षा क्षेत्रलाई भाषा संरक्षण र पत्रकारिता विकासको आधार बनाउन माग गर्दछौं ।
७. प्रविधि र डिजिटल समानता
कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र नयाँ सञ्चार माध्यममा सबै भाषाको समान पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्दै भाषिक डिजिटल विभेद अन्त्य गर्न विश्व समुदायसँग आह्वान गर्दछौं ।
८. भाषिक विविधता मानवताको सम्पदा
कुनै भाषा ठूलो वा सानो हुँदैन । प्रत्येक भाषा मानव सभ्यताको साझा ज्ञान, इतिहास र पहिचान भएकाले विश्वका सबै भाषाको समान सम्मान, संरक्षण र विकास सुनिश्चित गर्न आह्वान गर्दछौं ।९. आदिवासी ज्ञान र अधिकार
आदिवासी जनजातिका परम्परागत ज्ञान, सीप, संस्कृति, भूमि, जल, जंगल तथा प्राकृतिक स्रोतसम्बन्धी अधिकारको संरक्षण गर्दै उनीहरूको ज्ञान र स्वामित्वलाई सम्मान गर्न माग गर्दछौं ।
१०. जलवायु न्याय र आदिवासी नेतृत्व
जलवायु परिवर्तनबाट प्रभावित आदिवासी समुदायलाई पीडित मात्र नभई ज्ञान, समाधान र नेतृत्वका साझेदारका रूपमा स्वीकार गर्दै जलवायु नीति, निर्णय, कोष र लाभांशमा न्यायोचित तथा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गर्दछौं ।
११. वन र प्राकृतिक स्रोतमा पूर्वसहमति
वन नीति, संरक्षण, कार्बन व्यापार तथा प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता र पूर्व, स्वतन्त्र तथा सूचित सहमति अनिवार्य गर्न माग गर्दछौं ।
१२. समावेशी सञ्चार र लोकतन्त्र
सञ्चार नीति निर्माण तथा सञ्चारमाध्यमका न्यूजरुम र सामग्रीमा आदिवासी जनजाति तथा सबै भाषिक समुदायको समान र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दछौं । स्वतन्त्र, समावेशी र बहुभाषिक मिडियालाई लोकतन्त्रको आधारका रूपमा स्थापित गर्न आह्वान गर्दछौं ।
१३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य
संयुक्त राष्ट्रसंघ, युनेस्को, सरकार, विकास साझेदार, गैरसरकारी संस्था, विश्वविद्यालय, सञ्चार संस्था र प्रविधि क्षेत्रलाई मातृभाषा पत्रकारिता तथा लोपोन्मुख भाषाको संरक्षणमा सहकार्य र लगानी बढाउन आह्वान गर्दछौं ।
१४. विश्वव्यापी मातृभाषा पत्रकारिता सञ्जाल
विश्वभरका मातृभाषी पत्रकारलाई संगठित गर्दै अनुभव, ज्ञान, प्रविधि र सीप आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्जाल निर्माण तथा मातृभाषा पत्रकारिता सम्मेलनको निरन्तरता सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
१५. सत्यनारायणबहादुर श्रेष्ठको संस्थापक मान्यता
वि.सं. २००८ वैशाख ९ गते स्थापित तत्कालीन नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा अविलम्ब मान्यता दिन सरकार र नेपाल पत्रकार महासंघसँग माग गर्दछौं ।
१६. विश्व शान्ति र समानता
भाषिक, धार्मिक तथा सांस्कृतिक द्वन्द्व र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, स्वायत्तता तथा आदिवासी जनजातिको विशेष र संरक्षित अधिकार सुनिश्चित गर्न विश्व समुदायसँग आह्वान गर्दछौं ।
१७. भाषा संरक्षणमा विश्वव्यापी अभियान
लोपोन्मुख भाषाको संरक्षणका लागि समुदाय, पत्रकार, सरकार, शिक्षण संस्था, प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाबीच विश्वव्यापी साझा अभियान सञ्चालन गर्न आह्वान गर्दछौं ।
१८. नेपालबाट विश्वलाई सन्देश
नेपाल विविध भाषा, संस्कृति र पहिचानको साझा भूमि भएकाले विश्वसामु “बहुभाषिकता मानवताको शक्ति हो, भाषा संरक्षण मानव सभ्यताको संरक्षण हो” भन्ने सन्देश प्रस्तुत गर्दछौं ।१९. ऐक्यबद्धता तथा धन्यवाद
मातृभाषा, पत्रकारिता, आदिवासी अधिकार, जलवायु न्याय र विश्व शान्तिका लागि विश्वभरका मातृभाषी पत्रकार तथा सरोकारवालाबीच ऐक्यबद्धता र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दछौं । सम्मेलन सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार, जनप्रतिनिधि, स्थानीय सरकार, संवैधानिक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विज्ञ, पत्रकार, वक्ता, कार्यपत्र प्रस्तोता, प्यानलिस्ट, फोनिजका घटक संस्था तथा सम्पूर्ण सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।काठमाडौं घोषणापत्रको मूल सन्देश
“एउटा भाषा बचाउनु भनेको एउटा समुदाय मात्र होइन, मानव सभ्यताको एउटा ज्ञान, इतिहास र भविष्य बचाउनु हो ।”
जय मातृभाषा । जय पत्रकारिता ।
जय आदिवासी जनजाति अधिकार । जय बहुभाषिकता ।
हस्ताक्षरकर्ताहरु

१. लक्की चौधरी – अध्यक्ष, फोनिज, नेपाल
२. अर्जुन जम्नेली राई – उपाध्यक्ष, फोनिज नेपाल
३. समीर बलामी – महासचिव, फोनिज नेपाल
४. मासुम विलाह – बरिष्ठ पत्रकार, अस्ट्रेलिया
५. फक्र्यु अहमद छान – बरिष्ठ पत्रकार, साउदी अरब
६. रिनजिन वाङ्ग्चुक – अध्यक्ष, भुटान पत्रकार महासंघ
७. महम्मद अब्दुर रहमान – महासचिव, सार्क जर्नलिस्ट फोरम
८. सायद पिर मुस्ताक अहमद – महासचिव, भारतीय पत्रकार संगठन
९. हसन राजा खोखार – बरिष्ठ पत्रकार, पाकिस्तान
१०. अमिला मोरमडा – बरिष्ठ पत्रकार, श्रीलंका
११. महम्मद शाबिब आलम – बरिष्ठ पत्रकार, भारत
१२. डा. निआगाने दासमाने – महासचिव, दक्षिणी सुडान
१३. एन्ड्रेस सेगोभिया – बरिष्ठ पत्रकार, वासिंगटन डिसी
१४. मेरिया भेनेक यिलिकोमी – सचिव, स्विडेन पत्रकार संगठन, स्विडेन
१५ सुरजवीर बज्राचार्य – मातृभाषी पत्रकार, काठमाडौं



