थारु गाउँघरमा दशैंको शुरुवात, ‘आज पैनस्टोपी धुने भोली ढिक्रहुवा’


लक्की चौधरी

काठमाडौं, असोज ११ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । गैरथारु समुदायले बुधबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायमा ढिक्री बनाउने सरसामानको सरसफाई (पैनस्टोपी धुने) गर्ने काम गरेका छन् ।

थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन पैनस्टोपी धुने, अष्टमीका दिन ढिक्री बनाएर साँझ कुलदेवतालाई चढाउने, नवमीका दिन कुखुरा काटेर मुर्गेहुवा मनाउने र दशमीका दिन सेता टीका लगाएर पूर्खाबाट आशीर्वाद थाप्ने गरिन्छ ।

ढीक्री परिकारलाई प्रसादकोरुपमा खान दिन चलन छ । देवताको पूजा गरेर देवतालाई प्रसादकोरुपमा चढाईसकेपछि सर्वसाधारण, घरका सदस्यलाई नयाँ चामलको पीठोबाट बनाइएको ढिक्री अरुलाई प्रसादकोरुपमा खान दिने प्रचलन छ । सो दिन घर गुरुवाले गुरै खेल्ने काम पनि गर्छन् । थारु गाउँमा सो दिन रातभरी सखिया र झुम्रा नाच नाचिन्छ ।

त्यस्तै, नवमी अर्थात् मुर्गेहुवाका दिन पितृको पूजा गर्ने गरिन्छ । सो दिन मीठा परिकार बनाएर सामुहिकरुपमा देवथानमा गएर पूजागर्ने र आफ्ना पितृहरुलाई सामुहिकरुपमा खान आव्हान गर्ने गर्छन् । सो दिन दिनभरी गाउँमा सखिया र झुम्रा नाच गर्ने प्रचलन छ ।

सोहीअनुसार दशमी अर्थात् टीकाका दिन विहानैदेखि थारु समुदायले आफ्ना पूर्खा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारुहरु दशैंमा चामलको पीठाबाट बनाइएको सेतो टीकामात्र ग्रहण गर्छन् । टीकासँगै जमरा, बेबुरी र दौना फूल कान र शीरमा लगाउने प्रचलन छ । टीका लगाउँदा पैतला, घुँडा,पाखुरा र निधारमा टीका लगाउने थारु समुदायमा मान्यता छ ।

थारु गाउँघरमा बुधबार विहानै ढिक्री पार्ने सरसामान धोइ पखाली घाममा सुकाइएको छ । पैनस्टोपी, सुप्पो, भाँडा, आवश्यक सबै सामानलाई सफा सुग्घरकासाथ धोएर घाममा सुकाउने काम थारुहरुले गर्दछन् । त्यसरी सुकाउँदा भाँडा तथा अन्य सरसामान चोखो हुने विश्वास गरिन्छ ।  दशैंमा बनाइने ढिक्रीका लागि अनिवार्य नयाँ चामलको पीठो चाहिन्छ ।

नयाँ चामलको पीठो बाट बनेको ढिक्री कुलदेवतालाई चढाएर नयाँ धान प्रयोगको शुरुवात दशैंबाट गरिन्छ । आफ्नो घरमा नयाँ चामल नभए अरुबाट पैंचो मागेर भएपनि सो दिन काम चलाउने प्रचलन थारु गाउँमा । थारुहरु प्रायः कुखुराको बली कुलदेवतालाई चढाउँछन् । कसै कसैले आजभोली खसी वा हाँस पनि चढाउने गर्छन् । कसै कसैले भने कुलदेवतालाई कुपिण्डोको बली दिन्छन् । ल्वाङ तथा अक्षेताले पूजापाठ   गर्छन् ।

दशैंमा थारु समुदायले आफन्तलाई मीठो मसिनो खुवाउने र आफू पनि खाने गर्छन् । मुख्यगरी तीन दिन मनाउने दशैंलाई थारु समुदायले उल्लासमय तरिकाले मनाउँछन् । कैलाली र कञ्चनपुरमा बासोबास गर्ने राना थारु समुदायले भने दशैंलाई खासै महत्वकासाथ मनाउँदैनन् । त्यसैगरी पूर्वीया थारुले पनि पश्चिमा डंगौरा थारुको अनुपातमा दशैंलाई धुमधामकासाथ मनाएको देखिदैन ।

तपाईको प्रतिक्रिया