
काठमाडौं, असोज १६ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँको छोरा अजय यादवलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा लगाएको छ ।
मेला खेल्न भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । छोरालाई छुटाएन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुबैलाई भारतीय सुरक्षाकर्मीले हतकडी लगाएर राखेको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग महिना दिन अघि मात्रै भगाएर बिहे गरेका थिए । केटी पक्षले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ ।
गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीय नागरिकको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थियो । अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयको गुनासो छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग महिना दिन अघि मात्रै भगाएर बिहे गरेका थिए । केटी पक्षले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।
यादव बाबु र छोरालाई भारतीय प्रहरीले पक्राउ गरेपछि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रिहाईको पहल थालेको बताएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई सो बारेमा पहल गर्न निर्देश गरिएको मन्त्री शर्माले बताउनुभयो ।




