
लक्की चौधरी
काठमाडौ, असोज १७ गते । कम्युनिष्टहरुको एउटै साझा पार्टी बनाउने अभियानमा लागेका नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच छ बुँदे सहमति भएको छ ।
तीनवटै पार्टीले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै सो अभियानबारे जानकारी गराएका हुन् । आगामी मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने र निर्वाचन लगत्तै पार्टी एकीकरणको घोषणा गर्ने तयारी तीन दलका नेताहरुको छ । सो अभियानमा देशभक्त तथा प्रगतिशील अन्य पार्टीलाई समेत सहभागी हुन नेताहरुले आव्हान गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । आगामी निर्वाचनमा एमाले र नयाँ शक्तिले एउटै चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा जाने सहमति गरेका छन् भने माओवादीले भने आफ्नै चुनाव चिन्हमा आगामी चुनाव लड्ने बताएको छ । सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी पार्टीहरुबीच एकताको नयाँ अध्याय शुरुभएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीहरु एकीकरणको शुरुवात कुनै शक्ति र पार्टीप्रति लक्षित नभई देश र जनताको उत्थानमा परिलक्षित रहेको दावी उहाँले गर्नुभयो । “कम्युनिष्टहरुको एउटै पार्टी निर्माणको उदघोष हो यो आजको कार्यक्रम” भन्दै अध्यक्ष ओलीले सामाजिक सद्भावमा आधारित सबै अवसर र सुरक्षाकालागि पार्टी एकीकरणको शुरुवात गरिएको तर्क गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “०७४ सालमा वामपन्थी र देशभक्त शक्तिको सरकार बन्ने जन्मकुन्दली छ, त्यसलाई कुनै शक्तिले मेट्न सक्दैन ।” उहाँले नयाँ शक्ति पार्टी नेपाल पनि आगामी निर्वाचनमा सूर्य चुनाव चिन्हबाट निर्वाचनमा जाने उद्घोष गर्नुभयो ।
एक अर्को प्रसंगमा उहाँले सन्तुलित, मैत्रीपूर्ण र बरावरीको हैसियतमा छिमेकी देश र अन्तर्राष्ट्रिय मुलुकसँग सम्बन्ध कायम गर्ने बताउनुभयो । सो अभियानमा उहाँले अन्य देशभक्त पार्टीलाई समाहित हुन आव्हान गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको साझा पार्टी बनाउने ऐतिहासिक क्षणमा पुगेको बताउनुभयो । “जनता र देशको आवश्यकता पनि यो देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने छ, त्यसैबाट मुलुकको समृद्धि सम्भव छ” भन्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको एकीकरणको अभियान कुनै शक्तिप्रति लक्षित नरहेको तर्क गर्नुभयो ।
“कम्युनिष्ट पार्टी एकीकरण मुलुकको समृद्धि र विकासका निम्ति हो, समाजवादको आधार निर्माण गर्नका निम्ति हो” भन्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनप्रति जनताको आपार विश्वास रहेको दावी गर्नुभयो । पार्टी एकीकरणको अभियान निकै चुनौतिपूर्ण रहे पनि त्यो सम्भव रहेको र सम्भव बनाएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि ऐतिहासिक आवश्यकताले कम्युनिष्ट पार्टीबीच एकीकरण हुन लागेको बताउनुभयो । मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकताका लागि पनि कम्युनिष्टहरु एक ठाउँमा आउन जरुरी रहेको भन्दै उहाँले सो एकताले समाजवादमा पुग्न सहज हुने धारणा राख्नुभयो ।नयाँ संविधानमा समयानुकुल परिमार्जन गर्दै आगामी निर्वाचनमा कम्युनिष्टहरुको दुई तिहाई बहुमत ल्याएर स्थायी सरकार निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कम्युनिष्टहरुबीचको एकताले मुलुकको राजनीतिमा वृहत ध्रुवीकरणको शुरुवात हुने बताउँदै डा. भट्टराईले देशभक्त र प्रगतिशील पार्टीलाई समेत अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।
आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा देशभक्त, प्रगतिशील पार्टीसहित एमाले र माओवादी केन्द्रबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति दलहरुबीच भएको छ । त्यसकालागि एमाले ६० र माओवादी ४० प्रतिशतमा तालमेल गर्ने सहमति गरेका छन् । कम्युनिष्ट पार्टी एकीकरणका लागि पार्टी एकता संयोजन समिति पनि दलका नेताहरुले गठन गरेका छन् ।
सो समितिमा एमालेबाट ४ जना, माअोवादी केन्द्रबाट ३ र नयाँ शक्तिबाट १ जना रहने सहमतिपत्रमा उल्लेख छ । त्यसको नेतृत्व एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नुहुनेछ ।




