
सन्तकुमार चौधरी
चितवन, असोज २० गते । नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रहमस्थानमा १४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल निर्माण हुँदैछ । नारायण नदी किनारमा दश कट्ठा साढे १७ धुर जग्गामा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले सो होटल निर्माण गर्न लागेका हुन् ।
होटल ग्रीन भिल्ला प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटलको निर्माणको काम सुरु भइसकेको छ । अहिले डिपिसीको काम भइरहेको होटल व्यवसायी सुरेन्द्र महतोले जानकारी दिनुभयो । उहाँकाअनुसार ३० वटा फुल एयरकन्डीसन सहितको सुविधा सम्पन्न रुम, ३ सय जना अट्ने क्षमता भएको सेमिनार हल, १ सयजना क्षमता भएको रेष्टुरेन्ट सहितको होटल निर्माण हुनेछ ।
होटल भित्रै स्वीमिङ पूल, फिट्नेस सेन्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुने उहाँले बताउनुभयो । त्यस्तै नारायणगढको पुलदेखि होटलसम्म दैनिक ¥याफ्टिङको व्यवस्था, साईकिलीङ टुर, जीप सफारी, हात्ती सफारी लगायतको व्यवस्थापन गरिने खालको संरचनाहरु निर्माण भइरहेका छन् ।
होटल परिसर भित्रै मनि एक्सचेन्ज काउण्टर, एटीएमको व्यवस्थापन हुनेगरी होटलको संरचना तयार भइरहेको होटल सञ्चालक महतोले बताउनुभयो । पाँच महिना भित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल संचालनमा ल्याउने तयारी भइरहेको छ ।
नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलकोरुपमा स्थापीत हुन लागेको होटल ग्रीन भिल्ला संचालनमा आए कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । होटल परिसरमा व्यूटिफुल गार्डेन, योगा सेन्टर, भ्यू टावर समेत निर्माण हुँदैछ ।

पाँच महिना भित्र होटल संचालनमा ल्याउने तयारीअनुसार निर्माणको काम धमाधम भइरहेको व्यवसायी महतोले जानकारी दिनुभयो । यो योजना सुरु भएलगतै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम सुरु गर्ने तयारी उहाँको छ । पश्चिम चितवनको पटिहानीस्थित राप्ती नदी किनार नजिकै होटल निर्माणकै लागि ४ विगहा १ कट्ठा जग्गा उहाँलेखरिद गरिसक्नुभएको छ ।
पश्चिम चितवनमा मात्रै करिब ६० करोडको लगानीमा होटल निर्माण गर्ने योजना उहाँको छ । यो होटल पनि चितवनकै नमुना र सुविधा सम्पन्न होटल बनाउने पूर्व योजनाअनुसार जग्गा खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।
को हुन सुरेन्द्र चौधरी ?
चितवनको सौराहामा जन्मीएका ३५ वर्षीय युवा सुरेन्द्र महतोको नाम अहिले चर्चामा छ । थोरै समयमा प्रगती गर्ने युवाहरुको पंक्तिमा उहाँको नाम अगाडि छ । महतोले २०५८ सालदेखि व्यावसायीक यात्रा सुरु गर्नुभएको हो । सुरुमा हिमालय एक्सर्पोल्स टुर्स एण्ड ट्राभल्र्स काठमाण्डौंमा जागिरे हुनुहुन्थ्यो ।

झण्डै दुई वर्ष काम गरेर अनुभव लिएपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने उहाँमा अठोट आयो । काठमाण्डौंमा बसेर ट्राभल्र्स एजेन्सीमा काम गरेका महतो ६० सालमा पुन चितवन फर्किनुभयो । चितवन फर्कीएका महतोले घरमै सामान्य रेष्टुरेन्टको सुरुवात गर्नुभयो ।
नेपाली पाहुनालाई नै लक्षित गरेर नेपाली खाना, सुकुटी, चाउमिन लगायतका परिकार विक्री गरेर होटल क्षेत्रमा अनुभव लिनुभयो । पछि २०७० सालमा सुरेन्द्र महतोको आफ्नै लगानीमा सौराहामा होटल स्वस्तीक संचालनमा ल्याउनुभयो । होटल स्वस्तीक लज एण्ड रेष्टुरेन्ट संचालनको अनुभवले उहाँमा थप हौसला आयो ।
दुईवर्षको अवधिमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा होटल संचालनकै लागि दशकट्ठा साढे १७ धुर जग्गा खरिद गरेर होटल निर्माणको काम अहिले गरिरहनु भएको छ । यो बीचमा पश्चिम चितवनको पटिहानीमा पनि उहाँले जग्गा खरिद गर्नुभयो । अहिले भरतपुरको हाकिमचोकमा कार्पोरेट कार्यालय राखेर होटलमा पाहुना पठाउने काम गरिरहनुभएको छ ।
कर्पोरेट कार्यालय सँगै ग्रीन सफारी टुर्स एण्ड ट्राभल्र्सको नाममा आफ्नै ट्राभल्र्स कम्पनी संचालनमा समेत ल्याउनुभएको छ । चितवनको भरतपुरबाट संसारभर घुम्न जाने व्यवस्थापन समेत ट्राभल्र्स एजेन्सीमार्फत व्यवस्थापन गर्नुभएको छ ।




