
सन्तकुमार चौधरी
चितवन, असोज २० गते । थारु आन्दोलनका घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग पठाएको छ । घाइते महतो राहतकोषमा सभाले २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो ।
राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणकोक्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका पद्धाधिकारीसहितको टोलीले नगद हस्तान्तरण गरेका हुन । सभाका प्रवक्ता खेम महतो, सचिव रुपेश चौधरी, सह–कोषाध्यक्ष धर्मराज महतो लगायतका टिम नै सहभागी भएर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
राहत कोषका संयोजक नै यूएई भ्रमणमा रहेको खबर पाएलगतै थाकसका पदाधिकारीबीच केही आर्थिक संकलन शुरु गरेका थिए । यसैबीच थारु कल्याणकारिणी सभा यूएईले घाइते महतोको विषयमा तयार पारिएको डकुमेन्ट्रीको च्यारिटी शो गर्ने तयारी थालेको छ ।

आउँदो शुक्रवार सबै प्रवासीहरुको पायक पर्ने ठाउँमा डकुमेन्ट्री शो गर्ने तयारी गरेको थारुसभाका सचिव रुपेश चौधरीले जानकारी दिनुभयो । च्यारिटी शो बाट संकलित रकम समेत घाइते महतोलाई पठाइने उहाँले बताउनुभयो ।
यसैबीच यूएईकै अजमान यूनिर्भसिटीमा काम गर्ने सेक्यूरिटी गार्डहरुले पनि घाइते महतो राहतकोषलाई आर्थिक सहयोग गरेका छन् । सेक्यूरिटी इन्चार्ज सुकदेव महतोको सक्रियतामा संकलन गरिएको ७ सय दिराम (१९ हजार ५ सय रुपैयाँ) राहतकोषका संयोजक शरदकुमार महतोलाई हस्तान्तरण गरेका हुन ।

थरुहट आन्दोलनको क्रममा घाइते भएका सन्जीत महतोकालागि अजमान यूनिर्भसिटीमा कार्यरत्त ठगना महतो, बुद्धिसागर पंगेनी, शालिग्राम न्यौपाने, भोलाकाजी कार्की, मानवहादुर तामाङ, निर्मल तामाङ, ललित मल्ल, पेमल तामाङ, सुदर्शन आचार्य, धनवहादुर थापा, चन्द्र सिंह रावल, प्रेमवहादुर यादव भट्ट, टिकाराम न्यौपाने, भुपाल पराजुली, धनवहादुर थापा वी लगायतवाट रकम संकलन गरिएको थियो ।
यसैबीच यूएईको फुजेरामा कार्यरत्त चितवन पदमपुर घर भएका हरिराम चौधरीले समेत घाइते महतो राहत कोषकालागि आर्थिक सहयोग प्रदान गरेका छन् । उनले बरदुवई पुगेर राहतकोषका संयोजक महतोलाई भेटेरै नगद ५ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

यता काठमाण्डौंवाट पनि केही आर्थिक सहयोग प्राप्त भएको छ । वर्दियाली थारु विकास मञ्च काठमाण्डौंका अध्यक्ष तथा भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितका स्वकीय सचिव सिताराम चौधरीले नगद १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
थारु पत्रकार संघका महासचिव मदन चौधरीको रोहवरमा राहतकोषका सदस्य सूर्य चौधरीलाई सो रकम हस्तान्तरण गर्नुभयो । यसैबीच कलाकार तथा समाजसेवी रामलाल चौधरीले पनि राहतकोषका लागि शुक्रवार नै आर्थिक सहयोग प्रदान गर्नुभयो । उहाँले नगद २ हजार १ सय रुपैयाँ राहतकोषका लागि सहयोग गर्नुभयो ।






