मधेस समता पार्टी एमालेमा समाहित, सीमारक्षक यादव पनि एमालेमा


लक्की चौधरी

काठमाडौं, असोज २६ गते । सांसद मेघराज नेपाली निषाद नेतृत्वको मधेस समता पार्टी नेकपा (एमाले) मा समाहित भएको छ । सो पार्टीका अध्यक्ष निषादले एमाले संसदीय दलको कार्यालय सिंहदवरवारमा पुगेर विहिबार पार्टी एमालेमा समाहित गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले निषादलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष निषादले राष्ट्रको हितमा काम गर्ने पार्टी एमाले भएकाले आफू र आफ्नो दल एमालेमा मिलाएको बताउनुभयो ।  सो अवसरमा सप्तरी तिलाठीका सीमारक्षक देवनारायण यादव पनि एमालेमा प्रवेश गर्नुभयो । केही दिनअघि मात्र भारतीय सुरक्षाकर्मीको पक्राउबाट छुटेका यादव काठमाडौं आएर एमालेमा प्रवेश गर्नुभएको हो । देश तथा जनताको रक्षा गर्ने पार्टी एमाले भएकाले आफू कांग्रेस छाडेर एमालेमा आएको उहाँले बताउनुभयो ।

बाँधले सीमाको नेपाली भुभाग डुवान परेपछि तिलाठीका नागरिकले त्यसको विरोध गरेपछि यादवले नेतृत्व गर्नुभएको थियो । यादवले आफू बाँचुन्जेल देशको सीमारक्षा गर्न नछाड्ने प्रतिवद्धता जनाउनुभयो ।

यादवका छोराले भारतीय युवतीलाई भगाएर विवाह गरेपछि भारतीय सुरक्षाकर्मीले अपहरणको आरोपमा केही दिनअघि बाबुछोरालाई पक्राउ गरेको थियो । यादव दुवैलाई छुटाउन सरकारले कुटनीतिक पहल गरेको थियो । गत वर्ष तिलाठीमा भारतीय पक्षले एकपक्षीय रुपमा बनाएको बाँध भत्काएर यादव एकाएक चर्चामा आउनुभएको थियो । बाँधले सीमाको नेपाली भुभाग डुवान परेपछि तिलाठीका नागरिकले त्यसको विरोध गरेपछि यादवले नेतृत्व गर्नुभएको थियो । यादवले आफू बाँचुन्जेल देशको सीमारक्षा गर्न नछाड्ने प्रतिवद्धता जनाउनुभयो । यादव २०४९ सालमा कांग्रेसको तर्फबाट सप्तरी जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी शक्ति नै असली राष्ट्रवादी शक्ति भएको बताउनुभयो । आफूले देश, जनता र मधेसको पक्षमा काम गर्दा पनि मधेस विरोधीको आरोप खेप्नुपरेकोमा आपत्ति जनाउँदै उहाँले मधेसको पक्षमा आफू नै सबैभन्दा बढी काम गरेको दावी गर्नुभयो । मुलुकको समृद्धि, सार्वभौमिकता, अखण्डताप्रति आफूले कसैसँग सम्झौता नगर्ने भन्दै राष्ट्रवादी शक्तिलाई वामपन्थी अभियानमा समाहित हुन उहाँले आव्हान गर्नुभयो ।

तपाईको प्रतिक्रिया