बाँसको सुप्पो थटाएर भव्यरुपले मनाउँछन् थारु समुदायले ‘डेवारी पर्व’


लक्की चौधरी

धनगढी, असोज २७ गते । हिन्दू समुदायले घरमा बत्ती बाली झिलीमिली बनाएर दीपावली मनाए पनि तराईका थारु समुदायले घरको कुना काप्चामा सुप्पो थटाएर दीपावली पर्व मनाउँछन् । यद्यपि सो समुदायले लक्ष्मी भगवानको स्वागतार्थ दीयो पनि बाल्ने गर्छन् ।

घर आङ्गनमै पाइला टेक्नै लागेको दिपावली पर्वको स्वागतका लागि थारु समुदाय अहिले तयारीमा जुटेका छन् । घरलाई लिपोट गरी टलक्क टल्काएर मनाइने यस पर्वलाई थारु समुदायले ‘डेवारी पर्व’ भन्छन् । दीपावलीको स्वागतार्थ घर लिपपोटको काम धमाधम भइरहेको एक थारु भलमन्सा (बड्घर) ले बताउनुभयो ।

‘भाग दलिद्री ओत्ती जा, लक्ष्मी घरम् आ’ (दरिद्रता घरबाट भागेर जा, लक्ष्मी घरमा आउनु) नाराकासाथ मनाइने दिपावलीलाई थारु समुदायले खासमा एकदिन मात्रै मनाउँछन् । तर त्यसको तयारी साताभरी गर्छन् । दीपावलीमा घरको देवतालाई पूज्न नयाँ धानको ढिक्री परिकार अनिवार्य मानिन्छ । त्यससँगै घरका सदस्यले देउता पूजीसकेपछि खानका लागि गंगटा र माछाको परिकार अनिवार्य व्यवस्था गर्छन् ।

‘भाग दलिद्री ओत्ती जा, लक्ष्मी घरम् आ’ (दरिद्रता घरबाट भागेर जा, लक्ष्मी घरमा आउनु) नाराकासाथ मनाइने दिपावलीलाई थारु समुदायले खासमा एकदिन मात्रै मनाउँछन् । तर त्यसको तयारी साताभरी गर्छन् ।

धनगढी –१७ रामपुर गाउँका पूर्व भलमन्सा परागु चौधरीकाअनुसार लक्ष्मीपूजाको दिनमात्र मनाइने डेवारी पर्वमा घरको देवतालाई ढिक्रीसँगै जल र रक्सीको झोल पनि चढाइन्छ । ढिक्रीको परिकार देवतालाई चढाएपछि मात्र घरका अन्य सदस्यले खानेगर्छन् । ‘घरका सदस्यकालागि ढिक्रीसँग खान माछा र गगंटाको परिकार अनिवार्य चाहिने हुनाले त्यसको व्यवस्था गरिन्छ’ चौधरीले भन्नुभयो ।

घरका सबै सदस्यहरु सामुहिकरुपमा देहुरार कुन्टी (देवता कोठा) मा बसेर खाने प्रचलन रहेको उहाँले बताउनुभयो । दीपावलीलाई उज्यालो पर्वकोरुपमा मान्ने हुनाले थारु समुदायले पनि घरको देवता कोठा (देहुरार) बाट माटोको दियो बाल्दै सबै कोठा, कौसी, बाटो, पँधेरो, आँगन, सडकसम्म दियो बाल्छन् । भलमन्सा चौधरीकाअनुसार घरको कुना, कौसी बारी समेत उज्यालो बनाएर लक्ष्मी भगवानको स्वागत गरिन्छ । “घरमुलीले दियो बाल्दै जान्छन् र घरका एक युवा सदस्यले सुप्पो थटाउँदै दरिद्रता, दुःख विमार, वैरीआत्मालाई भगाउँदै लक्ष्मीलाई घरमा बासको लागि आव्हान गर्छन्” उहाँले बताउनुभयो ।

“सुप्पो थटाउनुको मुख्य कारण मृतआत्मालाई तर्साउनु हो, घरबाट त्यस्तो दुष्ट आत्मालाई दूर धपाउने र शुद्ध घरमा लक्ष्मीलाई बासका लागि आव्हान गर्ने काम गरिन्छ” रामपुर गाउँका गुरुवा जोखन चौधरीले बताउनुभयो । गाउँको हरेक घरका सदस्यले आ–आफ्ना घरबाट त्यसरी मृतआत्मा, वैरी दुश्मनलाई गाउँको सिमाना कटाएर लक्ष्मीलाई स्वागत गर्दै डेवारी पर्व मनाउने गरेको गुरुवा चौधरीले बताउनुभयो ।

धनगढी –५, जाइँ गाउँका भलमन्सा कुलवीर चौधरीले दीपावलीमा दियो बाल्ने, घर उज्यालो बनाउने परम्परा सबैको भएपनि थारु समुदायले दीपावलीमा विशेष थारु परिकार ढीक्री बनाएर देवतालाई चढाउने गरेको बताउनुभयो । दहित उपथर भएका थारु प्रतिनिधिहरुले दीपावलीमा ढिक्री परिकारलाई गाउँका सदस्यलाई निःशुल्क वितरण गर्नेगरेको उहाँले चर्चा गर्नुभयो । त्यसो गर्दा लक्ष्मी भगवान खुशी हुने विश्वास थारु गाउँमा रहेको उहाँको भनाई छ ।

दीपावलीमा काग, कुकुरको पूजा र भाइटीका लगाएर मनाउने गरिए पनि थारु समुदायमा यी सबै प्रचलन नरहेको थारु अगुवाको भनाई छ । लक्ष्मीपूजाको दिन सखारैदेखि माटोको दियो घरमै बनाउने, रुइको बाटी बनाउने, तोरी पेलाउने देखि घरका केही सदस्यहरु दिनभरी माछा र गंगटा समात्न खोला, तलाउ र नदीमा जाने गरेको रामपुरका भलमन्सा नारायण चौधरीले बताउनुभयो ।

साँझ घरमा दियो बालिसकेर देवताको पूजापछि घरका सबै सदस्यहरु सामुहिकरुपमा ढिक्री परिकारसँग माछा, सुकेको माछा, गंगटा तथा अन्य परिकार बनाएर एउटै कुन्टी (कोठा) मा बसेर खाने प्रचलन रहेको चौधरीले बताउनुभयो । त्यसरी सामुहिकरुपमा भलाकुसारी गर्दै खाँदा आत्मीयता बढ्ने र सदस्यहरुबीच समन्वय पनि हुने गरेको उहाँले तर्क गर्नुभयो ।

दशैंमा गरिने सखिया नाच पनि दीपावलीको लक्ष्मीपूजाको दिनमा कुनै थारु गाउँमा गर्ने प्रचलन रहेको भलमन्सा चौधरीले बताउनुभयो । तर सबै गाउँमा त्यसो नभएपनि कुनै थारु गाउँमा सखिया नाच नाच्ने प्रचलन रहेको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया