कैलालीमा दुई पक्षबीचको मनमुताव अझै सुसुप्त अवस्थामा छ


गोविन्द रिजाल

प्रमुख जिल्ला अधिकारी, कैलाली

कैलालीको समग्र सुरक्षा व्यवस्था कस्तो छ अहिले ?

अहिले जिल्लाको सुरक्षा व्यवस्था सन्तोषजनक छ । तिहार र आगामी चुनाव लक्षित सुरक्षा व्यवस्था मिलाएका छौं । खुला सिमानाका कारणले केही सुरक्षा जटिलता रहेपनि त्यसको व्यवस्थापनका लागि नियमित अन्तरसीमा सुरक्षा समितिको बैठक वसिरहेको छ । संवेदनशील, अति संवेदनशील र सामान्य गरी तीन तहमा वर्गिकरण गरेर सुरक्षा रणनीति बनाएर अघि बढेका छौं । त्यस्तै, निर्वाचन पूर्व, निर्वाचन अवधिमा र निर्वाचनपछिको सुरक्षा योजना बनाएर अघि बढ्ने तयारी छ । यसअघि स्थानीय तहको निर्वाचनमा पनि भरपर्दो सुरक्षा व्यवस्था कायम भयो । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, अनुसन्धान प्रहरीबीचको समन्वयबाट संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था मिलाउने गरेका छौं ।

दीपावली पर्वलाई लक्षित गरी सबै सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा अलर्टका लागि भनिएको छ । त्यसकालागि विशेष सुरक्षा व्यवस्था बनाएका छौं । पटाकाजन्य अवस्थालाई न्यूनिकरण गर्न संदिग्ध ठाउँमा छापा मार्ने, नियन्त्रणमा लिने काम गर्नेछौं । भारतबाट काम गरेर फर्किनेलाई सीमा नाकामा केही समस्या परेको गुनासाका आधारमा सीमा पारीका सुरक्षाकर्मीसँग पनि छलफल र समन्वयको काम भइरहेको छ । चाडपर्वका बेलामा मदिरा सेवनको कामलाई न्यूनिकरण गर्ने योजना पनि बनेको छ । राती अवेरसम्म देउसी भैली खेल्न नदिने, होटल राती १० बजेपछि सुचारु हुन नदिनेजस्ता तयारी छ । जुवातास खेलेको संदिग्ध ठाउँमा छापा मार्ने र नियन्त्रणमा लिने काम पनि भइरहेको छ ।

भारतीय बजारबाट पटाका अधिक्तम भित्रिने गर्छन्, त्यसको नियन्त्रणको योजना के छ ?

सीमा नाकामा निगरानी गर्ने काम भइरहेको छ । त्यसकालागि आवश्यक निर्देशन गरिएको पनि छ । संकास्पद ठाउँमा छापा मारी नियन्त्रणमा लिने र कानूनअनुसार कारवाही गर्ने गर्छौं । पटाकाजन्य सामान नल्याउन सर्वसाधारणको नाममा सर्कुलर पनि गरिएको छ । मिडियामा त्यस्तो सन्देश प्रवाह गर्ने गरेका छौं । तिहार आउनुपूर्व त्यसबारेमा सुरक्षाकर्मीलाई सचेत गराइएको छ । विगतको तुलनामा धेरै नियन्त्रण हुने भएपनि खुला सिमाकाकारण केही मात्रामा चोरी निकासी त हुन्छ नै । करिब २३ वटा सीमानाका जिल्लाभरी छ । नियन्त्रणको प्रयास गर्दागर्दै चोरी निकासी हुने गरेका छन् । सूचनाका आधारमा छापा मार्ने र संलग्नलाई समातेर कारवाही गर्छौं ।

नागरिकको भावना बुझ्न यहाँले जिल्लाको दुर्गम ठाउँको अभियान शुरु गर्नुभएको थियो, त्यो जारी छ कि सकियो ? नागरिकको प्रतिक्रिया के पाउनुभयो ?

नागरिकहरुसँग जति नजिकको सम्बन्ध हुन्छ, त्यति काम गर्न सहज हुन्छ । त्यही कारणले जिल्लाको दुर्गम वस्तीमा गएर विगत वर्षदेखि अभियान शुरु गरेको थिएँ । उहाँहरुको माग आवश्यकता सुन्ने र सकेजति पूरा गर्ने अभियान हो । सामान्य खर्चमा त्यो अभियान शुरु गर्दा निकै सकारात्मक प्रतिक्रिया आयो । विकास निर्माण, शान्ति सुरक्षा, दैनन्दिनको समस्याजस्तो मागहरु आउने गर्छ । तर नागरिकको अपेक्षा ठूलठूला छन् । विकास निर्माणको काममा बाटाघाटा, पुलपुलेसा, स्वास्थ्यचौकी निर्माण, विद्यालय भवन निर्माणको माग पनि आयो । तर हामीले प्रशासन कार्यालयको तर्फबाट सबै माग पूरा गर्नसक्ने अवस्थामा हुँदैनौं । पूरा गर्नसक्ने मागजति पूरा गर्दैगएका छौं । यो अभियान सीमा नाकाको वस्तीमा पनि शुरु भएको छ । सुंगरखाल, उदासिपुर, मुनुवा, रतनपुरको हौसलपुर, भजनी, लालबोझी, सोनाहाफाँटा लगायतको ठाउँमा गुनासो सुन्ने अभियान सञ्चालन गरेका थियौं । आगामी दिनमा बाँकी ठाउँको जनताको गुनासो सुन्ने र प्रतिक्रिया लिने काम गर्नेछौं । गर्न सक्ने समस्या समाधानको पहल लिन्छौं ।

तपाईको करिब १६ महिना भयो प्रमुख जिल्ला अधिकारी भएर कैलाली आउनुभएको, मुख्य सुरक्षा चुनौति के पाउनुभयो ?

खुला सिमानाका कारण केही समस्या छ । सीमासँग जोडिएका सुरक्षाका इस्यू उठ्ने गरेका  छन् । मुक्त कमैया, सुकुम्बासीको अतिक्रमणले सुरक्षा चुनौति बेलामौकामा आउँछ । राजनीतिक कारणले गर्दा समुदायमा सुसम्बन्धमा मेल नखाएको कहिलेकाहीं समस्या आउने गर्छ । कैलालीमा सडक दुर्घटनाको सुरक्षा चुनौति पनि छ । स्थानीयस्तरमा जनसंख्या र बसाईसराईको चाप तिव्र भएकाले चोरी निकासीले सुरक्षा चुनौति कहिलेकाहीं आउने गर्छ । यही नै प्रमुख सुरक्षा चुनौति भएपनि सुरक्षा चुनौति परिर्वनशील हुन्छ । कहिले नसोचेको सुरक्षा चुनौति आइदिन्छ । कहिले चुनौतिको विषय सामान्यरुपमा आइदिन्छ । यद्यपि जस्तो सुरक्षा चुनौति भएपनि सुरक्षा रणनीति बनाएर व्यवस्थापनको काम भइरहेको छ ।

दुई वर्ष अघि टीकापुरमा घटेको घटनाले सुरक्षा चुनौति थपिने गरेको त छैन ?

बाहिर प्रकटरुपमा त अहिले देखिएको छैन । मनमा सुसप्तरुपमा हुनसक्ला । तर पहिलेको तुलनामा अहिले धेरै सुधार भइसकेको छ । केही समय अघि टीकापुरमा उद्योग बाणिज्यसंघको निर्वाचनमा थारु समुदायका प्रतिनिधिले भाग लिनु भएन । करिब ३ सय सदस्य थारु समुदायका छन् भन्ने सुनेको थिएँ । टीकापुर घटनाको भोलिपल्ट भाद्र ८ गते थारु व्यवसायीको व्यापार, कलकारखानामा आगजनी हुँदा छातासंगठनले सुनुवाई गरेन भन्ने गुनासा थारु प्रतिनिधिहरुको देखियो । त्यो घटनाले पनि केही न केही तुष अझै मनमा बाँकी छ भन्ने देखिन्छ ।

तपाई प्रमुख जिल्ला अधिकारी भएर यहाँ आउँदा के काम गर्न सके र के सकेन जस्तो लाग्छ ?

म प्राय स्थानीय स्तरका नागरिकसँग अन्तरक्रिया गरेर समस्या समाधान गर्ने प्रयास गर्ने गरेको छुँ । कतिपय समस्या समाधान भए कतिपय गर्न सकेको छैन । दुई तीनवटा कामहरु गरेर जाउँ भन्दा पनि सकेको छैन । मुक्त कमैया परिवारको पुनस्र्थापनाको पहल गर्ने योजना थियो । तर चाहेकोजस्तो गर्न सकिएन, त्यसमा मलाई चिन्ता छ । अर्को सीमानाकाबाट भन्सार छल्ने समस्या न्यूनिकरणको प्रयास मेरो थियो । त्यसलाई पनि पूर्णतः नियन्त्रण गर्न सकिएन । सोचेकोजस्तो नभए पनि थोरै प्रगति त भयो । पहल गर्दागर्दै पनि त्यो काम गर्न सकिनँ ।  म कैलालीमा आए यता सानाटिना घटना पनि घटेन । शान्तिपूर्ण नै छ अहिलेसम्म । यो नै उपलब्धी हो । बारम्बारको पहलपछि टीकापुर घटनाका थुनामा रहेकालाई क्षतिपूर्ति प्रदान गर्ने काम भएको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था सफल रह्यो । सबैको सहयोग र सद्भावले गर्दा सुरक्षा व्यवस्थापनमा सफलता मिलेको मलाई लाग्छ ।

खुला सिमानाले निम्तिने सुरक्षा चुनौतिका विषयमा दुई देशका पदाधिकारीबीच कतिको छलफल हुन्छ ?

नियमितजस्तो बैठक र समन्वय भइरहेको छ । सीमा प्रहरी चौकीका पदाधिकारीको महिनाको दुई तीन पटक बैठक बस्छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीका माथिल्ला स्तरको बैठक भइरहेकै छ । प्रमुख जिल्ला अधिकारी स्तरको बैठक, अन्तर सीमा सुरक्षा समितिको बैठक पनि गएको वर्ष यता तीन चरणको बैठक बसेर सुरक्षा व्यवस्थाका बारेमा छलफल भइसकेको छ । तिहारपछि लगत्तै कैलाली र कञ्चनपुरको संयुक्तरुपमा भारतीय सुरक्षाकर्मीसँग छलफल गर्ने योजना छ । त्यसले सीमा नाकामा हुने सुरक्षा चुनौति न्यूनिकरण गर्नमा सहयोग पुगेको छ ।

टीकापुर घटनामा दोसी आरोपमा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्ने प्रयास केही भइरहेको छ कि ?

अदालतमा विचाराधिन विषय हो यो । कानूनीरुपमै निरुपण गर्नुपर्छ होला । हाम्रो पहलबाट थुनामुक्त हुनसक्ने अवस्था देखिएन । कि राजनीतिक तवरले त्यसलाई सल्टाउनुपर्ने हुनसक्ला । मेरो तर्फबाट हुनसक्ने भए अहिलेसम्म भइसक्थ्यो ।

जाँदाजाँदै कैलालीबासीलाई केही सन्देश छ भने ?

जिल्लामा सुशासन, शान्ति सुरक्षा कायम गर्न सबैको साथ सहयोग प्राप्त आवश्यक हुन्छ । नागरिक, राजनीतिक दल, मिडिया सबैको महत्वपूर्ण भूमिका रहन्छ शान्ति सुरक्षाका लागि । जसरी अहिले साथ सहयोग प्राप्त भएको छ, आगामी दिनमा पनि यसैगरी सहकार्य र समन्वय कायम रहोस् भन्ने मेरो अपेक्षा हो । काम गर्दैजाँदा विभिन्न अप्ठेरा र समस्या आउँछन्, त्यसको सबैसँग समन्वय गरेर सुधार्न सकिन्छ । नागरिकको माया, साथ सहयोग नै मेरो सफलता हो । दीपावलीको सबैमा शुभकामना व्यक्त गर्दछुँ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया