विजयकुमार गच्छदारलाई चित्तवनबाट एक पत्रकारको खुल्लापत्र


आदरणी नेताज्यू,

सबैभन्दा पहिले अभिवादन छ । सायद तपाईले मलाई चिन्नुहुन्न । भीडमा एक दुईपटक मात्रै भेटिएका मान्छेहरुलाई अक्सर मैले पनि चिन्न सक्दिन । तपाईले पनि चिन्नैपर्छ भन्ने छैन । झण्डै चारवर्ष अघि भैरहवामा आयोजना गरिएको एउटा कार्यक्रममा तपाईसँग मेरो भेट भएको हो । भेटको क्रममा करिब २० मिनेट तपाईसँग कुरा गर्ने मौका मिलेको थियो । त्यो भेटको क्रममा तपाईले मेरो समुदायको निम्ति बोल्नुभएका कयौं कुराले मलाई तपाईप्रति बढी लचक बनाएको थियो । तपाई सहभागी भएको र मेरो क्षमताले भ्याए सम्मका कार्यक्रममा म पुग्ने गरेको छु । भैरहवापछि पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित निपनीको हाल होटल स्टार व्यांक्यूटमा आयोजना गरिएको थारुहरुको गोलमेच सम्मेलनमा पनि केही समय तपाईसँग साक्षत्कार गर्ने मौका मिलेको थियो । त्यतिबेला तपाई उपप्रधानमन्त्री नै हुनुहुन्थ्यो । हेलिकोप्टर चढेर चितवन पुग्दा तपाईलाई स्वागत गर्न फुलमाला लिएर टिकौली चौर पुग्नेहरु मध्ये म पनि अग्रपंक्तिमै थिएँ । हुन त म कुनैपनि पार्टीको नेता होइन, न त तपाईको कार्यकर्ता नै हुँ । तर पनि तपाई सहभागी हुन चितवन आउने जुनसुकै कार्यक्रममा पुग्ने गरेको छु ।

म तपाईलाई मेरो समुदायको असल अभिभावककै रुपमा लिनेगरेको छु । तपाई देशको प्रधानमन्त्री भएको हेर्ने ईच्छा छ । तपाईलाई प्रधानमन्त्री बनाउनका लागि हामीले गर्नुपर्ने र गर्नसक्ने सबै कामहरु गर्न तयार छौं । थारु समुदायको राजनीतिक खम्बा विजय गच्छदार कहिलै कहिँपनि हार्नु हुँदैन । उनले जिते हामी सबैले जित्ने हो भन्ने मेरो मानसिकता थियो । पहिलो संविधानसभाको चुनावमा मैले सकेको तपाईका पार्टीको उम्मेदवारलाई जिताउन तर्फ लागें । चितवनको क्षेत्र नं. २ बाट कृष्ण चौधरी तपाईको पार्टीको उम्मेदवार थिए । तपाईको पार्टीकालागि चितवनका कयौं थारु अगुवाहरु ठूला राजनीतिक दलका माथिल्लो तहमा पुगेर पनि पार्टी नै परित्याग गरेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सदस्य बने । उनीहरुले पनि पार्टीलाई स्थापित गराउन निकै संघर्ष गरे । चुनावकाबेला कतिपयले जग्गा जमिन नै विक्री गरेर पार्टीलाई सहयोग गरेका छन् ।

थारु समुदायको राजनीतिक खम्बा विजय गच्छदार कहिलै कहिँपनि हार्नु हुँदैन । उनले जिते हामी सबैले जित्ने हो भन्ने मेरो मानसिकता थियो ।

टिकापुर घटनापछि तपाई सरकारकमा सहभागी हुनुभयो । मैले सोचें झुटा मुद्दा लागेर पक्राउ परेकाहरु धमाधम छुट्ने छन् । उनीहरु स–सम्मान घर फिर्ता हुनेछन् । उनीहरुको जलेको घरहरु पुर्ननिर्माण हुनेछन् । तर त्यस्तो भएन । टिकापुर घटनाको विषयमा तपाईले कहिले बोल्नुभएको मैले सुनिन । संसदको एउटा कुनामा रुक्मीणि थारुले टिकापुर घटनाको विषयमा आवाज उठाउँदै गर्दा तपाईले होमा हैसें गर्नुपर्ने थियो । रुक्मीणि थारुले झुटो आरोप लागेका थारुहरुको आवाज बोल्दै गर्दा तपाई आँखा चिम्म गरेर बस्नुभएको थियो । मलाई लाग्दै थियो, यो विषय हाम्रा गच्छदार जी, ध्यान दिएर सुनिरहनु भएको छ । तर तपाई निदाउनु भएको रहेछ । निदाएको मान्छेले आडैमा बोलेको रुक्मीणि थारुको आवाज के सुन्थ्यो, बाजागाजा सहित जन्ती जाँदा त निदाएका मान्छेले सुन्दैनन, त्यो त बोली न हो । तैपनि मलाई पूर्ण विश्वास थियो, थारुको मुद्दा र मागको संवोधन केवल विजय गच्छदार नेतृत्वको पार्टीले मात्रै गर्न सक्छ । म पूर्ण आशावादी पनि थिए तपाईप्रति ।

अन्तिम समयमा आएर तपाई भिजेको मुसाजस्तै काँग्रेस पार्टीभित्र छिर्नुभयो । जित्न भनेर काँग्रेस पार्टी परित्याग गरेर बाहिर निस्कीएका बिजय गच्छदार अन्ततः हारेको पुष्टी भयो । तपाई मात्रै होइन, तपाईको सिंगो पार्टी हारेको छ । यत्रा नेता, कार्यकर्ताको बाक्लो साथ पाएर पनि नेता कार्यकर्तासँग सल्लाह सुझाव विना नै पार्टीलाई काँग्रेसमा विलय बनाउनु भनेको एउटा इतिहास हार्नु हो । तपाई मधेसमा मात्रै होइन चितवन लगायत नवलपरासीका जिल्लाहरुमा आउनुस, यहाँका नेता, कार्यकर्ताहरुले अझै तपाईलाई साथ दिन खोजिरहेका छन् । तपाई यति छिट्टै डराउनु भएछ, राजनीति जित्नुमात्रै होइन, हार्नुपनि राजनीति हो । स्थानीय निकायको चुनावमा तपाईको नतिजा न्यून भएकाले तपाई डराउनुभयो । आफ्नो राजनीति यात्रा टुंगीने डर बढ्यो, अन्ततः काँग्रेसमा गएपछि तपाईको राजनीति सुरक्षित होला भन्ने तपाईलाई लाग्दो हो ।

काँग्रेसभित्र तपाई हिजो पनि हुनुहुन्थ्यो । हिजो त्यो पार्टीभित्र सम्भावना देख्नु भएन । त्यही पार्टीमा सम्भावना देखेका कयौं युवाहरुलाई काँग्रेसपार्टी परित्याग गर्न लगाएर आफ्नो पार्टीको झण्डा बोक्न लगाउनुभयो । अहिले त्यो झण्डा बोक्नेहरुसँग विना छलफल सुटुक्कै भाग्नुभयो । यही हो राजनीतिमा इमान्दारीता, यहि हो तपाईको दर्शन कि तपाईहरुले गर्ने राजनीति यही नै हो ।

अब तपाईबाट धेरैले आशा मारेका छन् । यद्यपी मैले पनि । चितवनमा तपाईको पार्टीका विल्ला पाएका युवानेता कार्यकर्ताहरु अलपत्र अवस्थामा छन् । कता जाने, कुन पार्टीमा लाग्ने, हिजो गाउँघरमा दिएको आश्वासन कसरी पुरा गर्ने, आफ्नो विचारलाई मर्न दिने वा अगाडी बढाउने, अगाडी बढाउँ भने कसरी बढाउने यी र यस्ता विषयले रणभुल्ल अवस्थामा छन् । हिजो काँग्रेस पार्टी त्यागेर काँग्रेसकै विरुद्ध उम्मेदवारी दिएर जनतासँग मत मागेका उम्मेदवारहरु फेरि काँग्रेसकै उम्मेदवारका लागि कसरी मत माग्ने ??? कयौं प्रश्नका पोकाहरु बोकेर घरको न घाटको भएका छन् । यसको मुख्य योजनाकार तपाई नै हो ।

तपाईलाई लाग्दो हो म त्यतिबेला विराएको थिए । तपाई एकजनाले मात्रै बाटो विराउनु भएन । स्थापित भइसकेका युवा नेता कार्यकर्ताहरुलाई पनि जवरजस्ती बाटो विराउन बाध्य बनाउनुभएको इतिहास भोलीका पुस्ताले भूल्ने छैनन् ।

अहिलेको बद्लिदो राजनीति र त्यो राजनीतिभित्र हाम्रा थारु अगुवा नेताहरुले खेल्नुपर्ने भूमिका के हो ?? स्थानीय निकायको चुनावमा तपाईको पार्टीले लोप्पा खायो । यो विषयमा बडो इमान्दारीतापूर्वक तपाँईले समिक्षा गर्नुपर्ने थियो । पार्टी र आफ्नो भूमिकाको विषयमा समिक्षा गर्नु त परै जाओस, नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्कै काँग्रेस पार्टीमा आत्मसर्मपण गर्नुभयो, यसले कयौं पुस्तालाई असर पार्नेछ । राजनीतिमा विश्वासिलो पात्र कोही पनि छैन भन्ने प्रमाणीत भयो । आफ्नो पक्षमा मात्रै राजनीति गर्नुहुँदैन, यो तपाईलाई पनि थाहा छ । आज पार्टी कमजोर बन्यो त के भयो, मेहनत गरेको भए अर्को पटक तपाइको पार्टी बलियो पार्टीकोरुपमा स्थापित हुन सक्थ्यो । हुन त जस्तो विउँ रोपे उस्तै विरुवा उम्रिने हो ।

सायद देशमा सबैभन्दा बढी मन्त्री बनेका नेताहरुको नाम लिने हो भने सबैभन्दा अगाडि तपाईको नाम आउने होला । यो बीचमा तपाईलाई मत दिएर जिताउने जनताले के के पाए ? उनीहरुको जीवन कतिको परिवर्तन भयो ? कहिलै सोच्नुभयो ? केवल नेता कार्यकर्तालाई दुईचार हजार रुपैयाँ बाड्दैमा चुनाव जित्ने दिन सकिँदैछ । सायद त्यसैको परिणाम पनि होला यो पटकको स्थानीय निकायको निर्वाचनमा तपाईको पार्टी कमजोर देखियो ।

जेहोस् काँग्रेसमा फर्कीनुभएको छ । राम्रो भो । काँग्रेस पार्टीमा फर्कीएकोमा मलाई कुनै गुनासो छैन । तर फेरि पनि काँग्रेस पार्टीभित्र सानातिना आन्तरिक विवाद सृजना होला । त्यही विषयलाई लिएर काँग्रेस पार्टीले मुुलुकलाई सम्बृद्ध बनाउन सक्दैन, मैले यो पार्टीमा भविष्य देखिन भनेर सुटुक्कै पार्टी छाडेर न भाग्नुहोला । यो पटक काँग्रेसले विश्वास गरेर माला लगाई तपाईलाई ससम्मान स्वागत गरेको छ । अर्को पटक यस्तै भयो भने काँग्रेसले मात्रै होइन, कुनैपनि पार्टीले पत्याउलाजस्तो मलाई लाग्दैन । ढिलै भएपनि ठूलो पार्टीका केन्द्रीय नेता हुनुभएको छ । आगामी कार्यकाल सफल बनोस । धेरै शुभकामना छ ।

सन्तकुमार चौधरी
चितवन

तपाईको प्रतिक्रिया