थारुले राजमार्गकेन्द्रीत आन्दोलन गर्ने


6

हमार पहुरा
कात्तिक ३० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंसिर ५ देखि राजमार्ग तथा सीमानाका केन्द्रीत दवावको कार्यक्रम थाल्ने भएको छ ।
संघर्ष समितिले पत्रकार सम्मेलन गरेर मंसिर ५ गतेबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ ।

आन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् ।

घोषित अन्य आन्दोलनका कार्यक्रममा मंसिर ७ र ११ गते थारु पहिचान र अधिकारविरोधी संविधानका धारा जलाउने, संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मेची काली जागरण र विरोधसभा चलाउने तयारी भएको समितिका प्रवक्ता अमनलाल मोदीले बताए ।

पत्रकार सम्मेलनमा संघर्ष समितिले थारुको मुद्दा केवल थारु समुदायसँग मेल खाने हुनाले मधेसीको मुद्दासँग नजोड्न आग्रह गरेको छ ।

आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै मोदीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिरहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेश गरी तीन प्रदेश हुनुपर्ने बताए । राज्यले आफूहरुको जायज माग नसुनेमा मुद्दा मिल्ने पक्षहरुसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने चेतावनी समितिको छ ।

संघर्ष समितिका अध्यक्ष धनिराम चौधरीले मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरुको विमति नरहेको बताए । थारु कल्याणकारिणीसभाले यसअघिको केन्द्रीय भेलाबाट ३ प्रदेशमा छलफल गरेको पनि उनले बताए ।

आफूहरुले आन्दोलन गरेको तीन महिना पूरा हुँदा समेत थारुको मागमा राज्य गम्भीर नभएको भन्दै उनले जनतालाई दुःख हुने भए पनि आन्दोलन गर्न बाध्य भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया