अब चुनाव जित्ने पालो मेरो हो, म उत्साहित छुँः नेतृ भगवती चौधरी


लक्की चौधरी

सुनसरी, कात्तिक १२ गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचनमा होमिनु भएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचन २०७० मा झिनो मतले विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी चौधरीले यसपाली आफ्नो जित सुनिश्चित् रहेको दावी गर्नुभयो ।

“यसअघिको संविधानसभा निर्वाचनमा मेरो पक्षको मत नियतबस वदर गराएर मलाई हराइएको थियो, यसपाली त्यस्तो हुन नदिनप्रति सबै सचेत हुनुपर्छ” भन्दै उहाँले मतदाताको माया र सहयोगले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । हमार पहुरा डट कमसँग संक्षिप्त कुरा गर्नुहुँदै महिला नेतृ चौधरीले आफू निर्वाचित भएमा सुनसरीमा ‘एक घर एक रोजगार’को ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यहाँको समृद्धिका लागि विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा रहेको बताउँदै नेतृ चौधरीले गच्छदार पैसाको चलखेल गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । सुनसरीको विकास, आर्थिक सवलीकरण, एक घर एक रोजगारको व्यवस्था, प्राविधिक शिक्षालयको स्थपना तथा महिलाको सशक्तिकरण गर्ने लक्ष्य आफ्नो रहेको बताउँदै उहाँले यसपाली आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गर्नुभयो । चुनावी अभियानकाक्रममा उहाँले अहिले घरदैलो अभियान गरिरहनुभएको छ ।

पार्टी संगठन, आफ्नो नेतृत्वको फरवार्ड बैंक संगठन, महिला समूह, पेशागत संगठन तथा अन्य कमिटीलाई परिचालन गरेर नेतृ चौधरी अहिले मतदाता रिझाउने अभियान थाल्नुभएको छ । प्रमुख प्रतिस्पर्धा गच्छदारसँगै भएपनि गच्छदारले यस क्षेत्रको विकासभन्दा आफ्नो सत्ता स्वार्थमा बढी ध्यान दिनेहुनाले यपाली मतदाताले आफूलाई विजयी बनाउने विश्वास उहाँको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा तीनसय मतको अन्तरले गच्छदारसँग पराजित हुनुभएकी एमाले नेतृ चौधरीले यसपालीको वाम गठबन्धन र स्थानीयको माया र सहयोगले आफू भारी मत अन्तरले निर्वाचन जित्ने दावी गर्नुभयो । “यसअघि मैले चुनाव हारेको होइन, मलाई हराइएको हो”, उहाँले भन्नुभयो, “जालझेलले निर्वाचन जितेर यहाँको विकास सम्भव छैन, म यहाँका जनताको मत र सहयोगले आफ्नो जित सुनिश्चित् गर्छु ।” मतदाताको आफूप्रतिको प्रतिक्रिया र माया देखेर आफू उत्साहित रहेको उहाँले बताउनुभयो ।

यता, विजयकुमार गच्छदार पनि कांग्रेससँगको एकीकरणले उत्साहित भएको बताउनुभएको छ । आफ्नो विजयलाई कसैले रोक्न नसक्ने भन्दै गच्छदारले पनि मतदातालाई प्रभावित पार्न चुनावी रणनीति अगाडि बढाउनुभएको छ । तर सरकारमा बारम्बार मन्त्री भएर पनि स्थानीय विकासमा गच्छदारले चासो नदिएको स्थानीयको आरोप छ । व्यक्तिगत स्वार्थका लागि पार्टी एकीकरण गरेको आरोप सोही दलका असन्तुष्ट नेताहरुले लगाएका छन् ।

तपाईको प्रतिक्रिया