
सप्तरी, कात्तिक १५ गते । कांग्रेस नेता विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको पुरै सप्तरी जिल्ला कार्यसमिति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।
जिल्ला अध्यक्ष शैलेसकुमार चौधरीको नेतृत्वमा लोकतान्त्रिक फोरम सप्तरीमा आबद्ध सबै पदाधिकारीसहित कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको सो दलले बताएको छ ।
राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता तथा कार्यकर्तालाई टिका लगाएर स्वागत गर्नुभयो । लोकतान्त्रिक फोरमका सहसचिव सुरेन्द्रप्रसाद गुप्ता, जिल्ला सदस्य रामकृष्ण मुखिया, बबितादेवी सरदार लगायतको समूह फोरम नेपालमा गएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेसंगै नेपाल लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ता अन्यौलमा परेका छन् । गच्छदारसंगै केही नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपनि बाकी असन्तुष्ट अधिकांश नेता कार्यकर्ताहरु कोही फोरम नेपालमा त कोही सोही पार्टी व्यूंताउने प्रयासमा छन् ।




